Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

विदेशी सम्बन्धनमा सञ्चालित विद्यालयहरु खारेजीको माग

बुधबार, ०६ साउन २०७२


काठमाडौं ६ साउन /
विप्लब निकट विद्यार्थी संगठनले विना ईजाजत विदेशी सम्बन्धनमा सञ्चालित विद्यालयहरु खारेजीको माग गरेको छ । शिक्षा विभागलाई सचेत पत्र बुझाउँदै विदेशी नामबाट सञ्चालित शिक्षण संस्थाको नाम परिवर्तन गर्ने बारे यस अघि नै भएको सहमती कार्यान्वयन गर्न माग गरेको छ । विना ईजाजत, मापदण्ड विपरीत हेपाहा प्रवृत्तिबाट सञ्चालित विदेशी विद्यालयहरु खारेज गर्नुपर्ने उसको माग छ । 

आन्दोलनकै शुरुवातका रुपमा विहान मोर्डन ईण्डियन स्कूलको बसमा आगजनी गरेको क्रान्तिकारीका प्रचार संयोजक सन्तोष कोइरालाले बताए । 'विदेशी सम्बन्धन लिने अनी भारतकै पाठ्यक्रम पढाउने गर्दै आएको उक्त विद्यालय लाई हामिले धेरै पटक सचेत गराएका हौं', उनले भने, 'नियमन गर्ने निकायले समेत कुनै वास्ता नगरेपछि हामीले विभाग मार्फत सरकारको ध्यानाकर्षण गरेका हौं ।' 

उक्त विद्यालय सेन्ट्रल बोर्ड अफ सेकेन्डरी एजुकेशन सीबीएसइ  भारतबाट स्वीकृत लिई सञ्चालन गरिएको हो । नेपालमा यस्ता १३ वटा विद्यालय छन् । यी सबैले नेपालको राष्ट्रियता र स्वाधिनतामा असर पर्ने खालका पाठ्यक्रम पढाउँदै आएको शिक्षा मन्त्रालयले गरेको अध्ययनले पत्ता लगाए पनि कुनै कारवाही हुन सकेको छैन ।

विना ईजाजत सञ्चालित विदेशी विद्यालयहरु खारेज गर्नु पर्ने सहित क्रान्तिकारीले विभिन्न ६ सूत्रीय माग सहित आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ । 

क्रान्तिकारीले उक्त सचेत पत्र विभाग सहित उच्च माध्यामिक शिक्षा परिषद्, प्याब्सन, हिसान लगायतका संस्थाहरुलाई समेत बुझाएको छ । 

उक्त पत्रमा नीजि विद्यायहरुले बढाएको शुल्क फिर्ता गर्ने सम्बन्धमा गत बैशाख ६ गते भएको सहमती कार्यान्वयन गर्नु पर्ने, उच्च माविका १० प्रतिशत छात्रबृत्तिको ब्यवस्था गर्ने बारे भएको सहमती लागू गर्नु पर्ने, भूकम्पका बेला पठन पाठन नभएको अवधिको शुल्क छुट भए नभएको अनुगमन गरी सहमती अवज्ञा गर्नेलाई कारवाहि गर्नु पर्ने, कक्षा ११ र १२ मा विभिन्न शिर्षकमा बढी शुल्क लिने विद्यालयलाई कारवाहि गर्नु पर्ने, प्राविधिक शिक्षाको पठन पाठनलाई यसै बर्ष देखि ब्यवस्थित र सर्वसुलभ ढंगले लागू गर्नु पर्ने उल्लेख छ ।

आफ्ना माग पुरा गराउन क्रान्तिकारीले बुधबार देखि ४ दिने संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको छ । जस अनुसार बुधबार सम्बन्धित निकायमा सचेतपत्र बुझाउने, बिहीबार विदेशी नाम भएका शिक्षण संस्थाहरुलाई चेतावनीपत्र बुझाउने, ९ गते धर्ना र घेराउ तथा १० गते देखि शैक्षिक माफिया, दलाल र भ्रष्टाचारीहरुको सूची तयार गर्ने अध्यक्ष शरद रसाईलीले जनाएका छन् । 

प्रतिक्रिया