काठमाडौं - १६ बर्षकी मुक्ति, पढ्ने उत्कट चाहना, तर अघिल्तिर गह्रौं ढुङ्गा रुपी अभाव, स्थिती र यथार्थ !
मुक्तिको अघिल्तिर असरल्ल ती ढुङ्गा क्रमशः पिठ्युँमा बोकेको डोकोमा भारी बनेर बस्छन् र मुक्तिलाई थिच्छन् ।
विद्यालय जान ठिक्क परेकी मुक्तिलाई घरको काम सघाउन आमाले गर्ने कर पहिलो ढुङ्गा बनेर डोकोमा उक्लिन्छ । दुई घण्टा पैदल तय गरेपछि पुगिने विद्यालय यानेकी भौगोलिक विकटता अर्को ढुङ्गा !
बल्ल तल्ल विद्यालय पुग्यो तर बन्द र हड्तालले पढाई हुन नसक्ने राजनीतिक हस्तक्षेपको मारमा रहेका विद्यालयहरुको यथार्थता अर्को ढुङ्गा !
पढाई नभए पछि अर्को दुई घण्टा तय गरेर फर्कदैं गर्दा विहे गर्ने उमेर भैसक्दा पनि छोरी मान्छे भएर पढ्नु पर्छ भन्दै गाउँलेले गरेको विभेद अर्को ढुङ्गा !
अंग्रेजी भाषा नजानेको भन्दै शहरबाट विदा मनाउन मामाघर आएको फुपुको छोरोले गरेको हेपाहा ब्यवहार भाषाको भारी बनेर डोकोमा भरिएको अर्को ढुङ्गा !
घरको गर्जो टार्न साउदी गएको दाईले टेलिफोन गरेर पैसा पठाउन नसक्ने बताएपछि घरमा आईपरेको आर्थिक संकटमा भरथेगका लागि शहर जान आमा वाबुले गरेको कर अर्को ढुङ्गा !
उल्लेखित घटनाक्रम कुनै ब्यक्तिगत जीवनी नभएर आम ग्रामिण बालबालिकाको यथार्थ भोगाइमा आधारित नाटक मुक्तिको दृष्य हो । मञ्चमा एक ग्रामिण घर छ, आँगनमा मुक्ति डोको बोकर उभिएकी छ । मुक्तिको अघिल्तिर असरल्ल छरिएका ती ढुङ्गालाई ग्रामिण छात्राको जिन्दगीका चुनौतीको प्रतीक बनाईएको छ । मुक्तिको पिठ्युँमा बोकिएको डोको चाँही जीवनका चुनौती बोक्ने साधनको प्रतीक ।
बुद्ध भगवान मावि मनिखेल ललितपुरका विद्यार्थीले आईतबार प्रज्ञा भवनमा प्रदर्शन गरेको उक्त नाटकमा त्यतिखेर नयाँ मोड आउँछ जतिखेर मुक्तिको चाहनाको संसार एकछिन अघि भोगेको यथार्थ भन्दा ठिक उल्टो हुन्छ । एक छिन अघि प्रतिकूल बनेका पात्र र घटना मुक्तिको चाहना जस्तै ठिक विपरित बन्न थाल्छन् ।
हरेक पात्र उल्टो घुम्दै मुक्तिलाई परिक्रमा गर्न थाल्छन् ।
'छोरी स्कुल जान ढिलो भै सक्यो छिटो जाउ भरे स्कुलबाट फर्केपछि सबै मिलेर घरको काम गरौंला' आमाको यो सम्बादले दर्शक दिर्घामा उत्साह सञ्चार हुन्छ ।
मुक्तिले डोकोमा रहेको एउटा ढुङ्गा निकाल्छिन् । भौगोलिक विकटता हल गर्न स्थानीय नेताले बाटो निर्माणको पहल गर्ने तयारी गरेको खबर सुनाएसँगै अर्को ढुङ्गा पनि उसै गरी निकाल्छिन् । अब देखि विद्यालय कहिल्यै बन्द नहुने शिक्षकको कुरा, १६ बर्षमै विहे गर्ने कुरा गर्नु गल्ति भएको गाउँलेको आत्मबोध, भाषा मात्रै ठूलो कुरा हैन, सिकाइ र सीप महत्वपूर्ण पक्ष हो भन्ने ज्ञान पाएर दिदीलाई आदर गर्न नसकेको भन्दै क्षमा माग्ने भाई, छोरीको पढाईबारे शिक्षकहरुसँग नीयमति भेटघाट गर्ने बाबुको ब्यवहार र घर पर्केर उद्यम गर्ने दाईको तयारी सँगै मुक्तिलाई पढ्न नरोक्ने आमाको जानकारी डोकोमा रहेका हरेक ढुङ्गा भुईमा उतार्न सघाउने घटनाक्रम हुन्छन् अर्थात् मुक्तिको चाहनाको संसार मूर्त भएको कल्पनासँगै नाटकको अन्त्य हुन्छ ।
नाटकको दृष्यमा चाहनाको संसार पुरा भएको कल्पना गरिए पनि ग्रामिण जीवनमा हरेक बालबालिकाको यो भोगाइ चाँडै कम होला भन्न सकिन्न । किन भने कक्षा १ मा भर्ना हुने विद्यार्थीको संख्या कक्षा १० मा पुग्दा डरलाग्दो गरी घटिरहेको छ । यसको मुख्य कारण गुणस्तरीय शिक्षकको अभाव भएको निष्कर्ष सहित टिच फर नेपालले देशका तीन जिल्ला धनुषा, सिन्धुपाल्चोक र ललितपुरका सामुदायिक विद्यालयमा आफ्ना फेलोहरु पठाएर विज्ञान गणित र अँग्रेजी विषयको पठन पाठनमा सघाईरहेको छ ।
दुई बर्ष अघि गाउँ छिरेका तेश्रो ब्याचका आफ्ना ५५ फेलोको विदाई र अव गाउँ छिर्ने तयारीमा रहेका पाँचौ ब्याचका ४७ फेलोलाई स्वागत गर्न आयोजित उक्त कार्यक्रममा पनि एक दिन हरेक विद्यार्थीले गुणस्तरीय शिक्षा प्राप्त गर्छन् भन्ने अपेक्षा गरियो । कार्यक्रममा सम्बोधन गर्दै शिक्षा मन्त्री धनिराम पौडेलले उक्त अपेक्षा भोलिको देशकै नारा बन्ने बताए ।
'अझै पनि पढ्नु पर्ने उमेर समुहका सबै बालबालिकालाई विद्यालय ल्याउन सकिएको छैन, जो विद्यालय आईसकेका छन् तिनलाई टिकाउन सकिएको छैन, जो टिकेका छन् तिनलाई दक्ष योग्य सीप दिन सकिएको छैन, सीप भएकालाई विकाउन सकिएको छैन' मन्त्री पौडेलले भने, 'शिक्षालाई श्रम र उत्पादनसँग जोडेर हुँदा खाने र हुने खानेको विचको विभेद हैन एकिकृत रुपमा अघि बढाउन नीतिगत संरचना र विधिगत रुपमा प्रयत्न गरिएको छ ।'
कार्यक्रममा गैह्र आवासीय नेपालीका अगुवा डा. उपेन्द्र महतोले आफ्ना संघर्ष र सफलताका कथा सुनाएर टिच फर नेपालका नयाँ फेलोलाई थप उर्जा प्रदान गरेका थिए । टिच फर नेपालका प्रमुख कार्यकारी शिशिर खनालले विगत दुई बर्षमा देशले भोगेको भूकम्प र नाकाबन्दीका कारण जनजीवन कष्टकर हुँदा पनि आफना फेलोहरु गाउँमै बसेर कार्यक्षेत्रमा खटिएकोमा प्रसंशा गर्दै सामाजिक न्याय र सार्वजनिक शिक्षाको गुणस्तर बृद्धिमा आफू र आफ्ना फेलोहरु सँधै कृयाशिल हुने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा विद्यार्थीले तयार गरेका विभिन्न सामग्रीको प्रदर्शन गर्नुका साथै विद्यार्थीलेका विभिन्न प्रस्तुती र फेलोहरुका अनुभव समेत प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया