काठमाडौं– नयाँ शैक्षिक सत्र सुरु हुन हप्तादिनमात्र बाँकी रहँदा राजधानीका तीन जिल्ला मध्ये ललितपुर र भक्तपुरका निजी विद्यालयहरुको अझै शुल्क निर्धारण हुन सकेको छैन ।
अभिभावकको सहमति लिई शैक्षिक सत्रको तीन महिनाअघि सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा शुल्क विवरण बुझाएर स्वीकृत गराई लागू गरिसुक्नु पर्ने प्रावधान छ । तर, ललितपुर तथा भक्तपुरका सबै निजी विद्यालयहरुले शैक्षिक सत्र २०७४ मा अभिभावकबाट लिइने शुल्क विवरण नबुझाउँदा शुल्क निर्धारण हुन सकेको छैन । यसले निजी विद्यालयले जसरी भए पनि अभिभावकसँग लुट्ने मनसायमा रहेको प्रष्ट भएको छ ।
‘जिल्लाका सबै निजी विद्यालयहरुले शुल्क प्रस्ताव पेश गरेका छैनन्, उनीहरु आफूहरुले पहिले जत्तिकै मात्र शुल्क लिने, शुल्क वृद्धि नगर्ने मनसायका कारण शुल्क प्रस्ताव नगरेका हुन् ।’ भक्तपुरका जिशिअ अर्जुनबहादुर रायमाझीले भने । उनको भनाइसँग सहमत जनाउँदै ललितपुरका विद्यालय निरीक्षक ऋषिराम शर्माले पनि अभिभावकसँग मनपरी शुल्क लिने दाउका साथ शुल्क विवरण नबुझाएको बताए ।
शिक्षाका अधिकारीहरुले त्यसो भने पनि अभिभावकहरु भने शिक्षा कार्यालयका कर्मचारी, अधिकारीको स्वार्थको कारण विद्यालयहरुले शुल्क विवरण नबुझाएको बताउँछन् । ‘निजी विद्यालयका सञ्चालक र शिक्षाका कर्मचारीहरु मिलेका छन्, ती दुबैको स्वार्थको कारण शुल्क निर्धारण नभएको हो ।’ अभिभावक संघ नेपालका केन्द्रीय सदस्य मणिरत्न बज्राचार्यले भने । उनले अभिभावक संघले पटकपटक सो बारेमा जिशिकामा घच्घच्याउँदा पनि विभिन्न बहाना बनाएर निजी विद्यालयलाई मनपरी शुल्क लिन लगाउने वातावरण बनाउनतिर लागेको आरोप लगाउँछन् ।
‘माघमै गर्नुपर्ने शुल्क प्रस्ताव आए/नआएको कुरा जिशिकालाई थाहा नहुने होइन, तर उनीहरु नै विद्यालयको बचावट गर्दै विभिन्न कारणले नबुझाएको होलान् भन्ने जवाफ दिन्छन् ।’ उनको भनाइ छ ।
यतिमात्र नभएर निजी विद्यालयहरुले गत वर्ष निर्धारण भएको शुल्कमा पढाउने र नयाँ शैक्षिक सत्रमा शुल्क नबढाउने भन्दै जिशिकामा विवरण नबुझाउने तर अभिभावकसँग भने बढाएर शुल्क लिने पनि गरेका छन् ।
निजी विद्यालयले अभिभावकहरुबाट मनपरी शुल्क लिने प्रवृत्ति रहँदा पनि त्यसको अनुगमन गर्ने निकायको रुपमा रहेको शिक्षा कार्यालयले कानमा तेल हालेर बस्दा अभिभावकहरु वर्षभरी नै ठगिने गरेका छन् । सो सन्दर्भमा जिल्ला शिक्षा कार्यालयका अधिकारीहरु भने धेरै निजी विद्यालयको अनुगमनका लागि जनशक्ति पनि पर्याप्त नभएको बताउँछन् । सरकारी विद्यालयको अनुगमन गर्ने कि निजीको ? हामीसँग पर्याप्त दरबन्दी छैन, फेरि अभिभावकबाट शुल्कको विषयमा गुनासो पनि निक्कै कम आउने गरेको छ ।’ भक्तपुरका विद्यालय निरीक्षक बिमलप्रसाद निरौलाले भने ।
निजी विद्यालयका संगठन प्याब्सनका अध्यक्ष बिजय सम्बाहाम्फे, एनप्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले विद्यालयको शुल्क निर्धारणमा अभिभावककै सहमतिबाट गरिएको बताउँदै अभिभावक संघका पदाधिकारीले भनेजस्तै गरी चर्को शुल्क लिने नगरेको दावी गर्छन् । उनीहरुले संस्थागत विद्यालय सञ्चालन तथा व्यवस्थापन निर्देशिका र शुल्क निर्धारणसम्बन्धी निर्देशिकाको अधिनमा रही शुल्क लिने गरेको जनाएका छन् ।
प्रतिक्रिया