Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
खबर/फिचर

पढन र पढाउन छोडी चैतै घाममा शिक्षकको नारा : ‘असक्षम शिक्षामन्त्री मुर्दावाद!’

शुक्रबार, २५ चैत्र २०७३

काठमाडौं– स्थायी होस् या अस्थायी, शिक्षक भएपछि उसको पहिलो काम के हो ? निश्चय पनि विद्यार्थीलाई पढाउनु नै हो । तर आफूहरु अस्थायी भएको भएको भन्दै शिक्षकले भने पढाउन छोडेर आन्दोलन गरेका छन् ।
चैतको तालु पोल्ने घाम, त्यसमाथि पनि मध्यान्हको परवाह नगरी अस्थायी शिक्षक संयुक्त केन्द्रीय समितिको ब्यानर बोक्दै शिक्षकले आज राजधानीमा प्रदर्शन गरेका छन् । प्रदर्शनीमा सहभागी भएका शिक्षकले आपूmहरुमाथि राज्यले अन्याय र विभेद गरेको भन्दै राजधानीमा प्रदर्शन गरेका हुन् । विभिन्न जिल्लाबाट सहभागी हुन आएका अस्थायी शिक्षकले काठमाडौंकोे शान्तिबाटिका पुतली सडक, भद्रकाली र रत्नपार्कमा जुलुस गरे ।
शिक्षा ऐन आठौं संसोधनले गोल्डेन ह्याण्डसेक वा परीक्षामध्ये एक रोज्ने विकल्पअनुसार शिक्षक सेवा आयोगले विज्ञापन गरे पनि अस्थायी शिक्षक भने परीक्षाको तयारी गर्नुको साटो विभिन्न मागका साथ आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले जुलुसको क्रममा आफूहरुमाथि भएको विभेदको मात्र विरोध नगरी शिक्षामन्त्री धनीराम पौडेल, नेपाल शिक्षक महासंघसम्मको विरोध गर्दै २०६६ सालमा सर्वोच्च अदालतले दिएको परामादेश लागू गर्न पनि माग गरेका थिए ।
जुलुसमा सहभागी भएका उनीहरुले ‘नालायक शिक्षामन्त्री मुर्दावाद, राजिनामा दे, शिक्षक महासंघ मुर्दावाद!लगायतका नारा लगाउँदै सहर परिक्रमा गरेका थिए ।
अस्थायी शिक्षकका समस्या सम्बोधन गर्नुपर्ने मागसहितका प्लेकार्डसहित सहभागी भएका शिक्षक घाम छेक्न कहिले आफ्नो हत्केला निधारमा लग्थे त कहिले प्लेकार्डले घाम छेक्थे । कोही शिक्षक भने छाता ओढेर जुलुसमा सहभागी भएका थिए ।  
सो आन्दोलनको नेतृत्व संयुक्त अस्थायी शिक्षक संयुक्त संघर्ष समितिले गरे पनि त्यसको पछिपछि भने पुनरुत्थान पार्टीको पनि ब्यानर थियो । जुलुसको नेतृत्व गर्दै गरेका संयुक्त अस्थायी शिक्षक संयुक्त संघर्ष समितिका अध्यक्ष हेमनाथ चौलागाइँले अस्थायी शिक्षकमाथि राज्यले गरेको विभेदको विरुद्धमा आन्दोलन गर्न बाध्य भएको बताए । उनले शिक्षा ऐनले आन्तरिक प्रतिस्पर्धामा ४९ प्रतिशत दिने भने पनि व्यवहारमा २० प्रतिशत पनि नदिएको जनाकारी दिँदै विभेदपूर्ण विज्ञापन गर्ने शिक्षक सेवा आयोगको पनि विरोध गरेको बताए ।
जुलुसलाई विभिन्न अस्थायी शिक्षक तथा शिक्षक महासंघका प्रतिनीधिले पनि सम्बोधन गर्ने कार्यक्रम रहे पनि सम्बोधन भने नभएको अध्यक्ष चौंलागाईँको भनाइ छ । चौंलागाइँले थप कार्यक्रम छलफलको आधारमा घोषणा गरिने बताए ।

प्रतिक्रिया