Edukhabar
सोमबार, १० मंसिर २०८१
विचार / विमर्श

जाऊ नानीहरु, स्कुल जाऊ

शनिबार, ०९ जेठ २०७२

प्रभा खड्का पेशाले शिक्षिका हुन् । शिक्षाशास्त्र संकाय अन्तर्गत अंग्रेजी विषयमा स्नातकोत्तर उनी डेढ दशकदेखि कविता लेख्दै आएकी छन् । राजधानीको महाराजगन्जस्थित शिवपुरी स्कुलमा अध्यापनरत प्रभाले भूकम्प पछि बालबालिकालाई सम्बोधन गरेर लेखेको कविता ‘जाऊ नानीहरु, स्कुल जाऊ’ यहाँ प्रस्तुत छ ।

पक्कै डर लाग्न सक्छ –
तर, भत्केका घरहरु हेरेर
घाइते मान्छेहरु देखेर
कत्ति पनि नआत्तिनू/नडराउनू
प्यारा नानीहरु–
तिमीले जस्तै, मैले जस्तै 
प्रकृतिले पनि खेल खेल्छ कैलेकाहिँ !

जाऊ नानीहरु, स्कुल जाऊ

हिजो जसरी बनाइएको जस्ताको तस्तै
तिम्रो बिग्रिएको मुमिन घर
हो त्यसै गरी बनाइने छ भत्किएका वस्ती
तिम्रो हाम्रो घर र त्यो अग्लो धरहरा
नानीहरु, फर्किनेछन् तिम्रा बस्तिहरु
फर्किनेछन् रमाइला ती पुराना दिन
खाटा बस्नेछ घाऊ ।

जाऊ नानीहरु, स्कुल जाऊ

जसरी आफै उठ्छ मान्छे लडेको ठाउँबाट
जसरी हास्छ मान्छे रोएका आसुहरु बिर्सिएर
नानीहरु, हो हामी सुपर म्यानजस्तै आँटिला र साहसी छौँ
केही समय पक्कै लाग्छ
ढलेका मन्दिरहरु बनाउन
केही समय पक्कै लाग्छ
ढलेका पर्खालहरु उठाउन ।

जाऊ नानीहरु, स्कुल जाऊ !

हिजै जस्तो आज पनि मन्द मन्द मुस्काइरहेछन् फुलहरु
हिजो जस्तै आकार फेरिरहेछ बादल
तिमी पनि
इन्द्रेणिको रङ्ग भर चित्र भरि
चरीहरुको चिरबिर
गुन्गुनाउनु गीतभरि
खुला चौरमै सही, पालमुनी नै सही
आमाको काखमा लोरी सुन्दै निदाउनू आजको रात
बाबाको हात समातेर स्कुल जानू भोलि फेरि ।

जाऊ नानीहरु, स्कुल जाऊ

- भूकम्प पछि स्थगित हरेक शनिवार प्रकाशन हुँदै आएको शिक्षा सम्बन्धि कविता प्रकाशनको क्रम एक जना शिक्षिकाले भूकम्प पछि बालबालिकालाई सम्बोधन गरेर लेखेको कविता ‘जाऊ नानीहरु, स्कुल जाऊ’ बाट शुरु गरेका छौं - सं

प्रतिक्रिया