काठमाडौं २४ चैत/शिक्षा कार्यालय काठमाडौंले अधिकतम ३ हजार ६ सय रुपैयाँ मात्र लिन पाउने गरी विद्यालय शुल्क सीमा तोकेको छ । साथै विद्यालयले लिने शुल्कको शीर्षकसमेत खुलाउनुपर्ने छ । भर्ना, मासिक, वार्षिक र वर्षभरि गरिने अन्य विविध कार्यक्रममा लाग्ने शुल्क मात्रै लिन पाइनेछ ।
त्यसका लागि विद्यालय वर्गीकरणसमेत गरेको जिल्ला शिक्षा अधिकारी जयाप्रसाद आचार्यले बताए । शुल्क अनुगमन समितिले ३ महिनाअघि काठमाडौंका आधारभूत र माध्यमिक तहका विद्यालयलाई ४ श्रेणीमा वर्गीकरण गरी शुल्क सीमा निर्धारणको सिफारिस गरेको थियो । आचार्यका अनुसार कक्षा १ देखि ५ सम्मका ‘घ’ वर्गले १ हजार १ सय ८१, ‘ग’ ले १ हजार ५ सय ७५, ‘ख’ ले १ हजार ९ सय ६९ र ‘क’ ले बढीमा २ हजार ३ सय ६३ रुपैयाँ लिन पाउने छन् । आधारभूत तहकै कक्षा ६ देखि ८ कक्षाको ‘घ’ वर्गले १ हजार ३ सय ५०, ‘ग’ ले १ हजार ८ सय, ‘ख’ ले २ हजार २ सय ५० र ‘क’ ले बढीमा २ हजार ७ सय रुपैयाँसम्म लिन पाउने छन् । माध्यमिक तह ९ र १० कक्षासम्म सुचारु विद्यालय ‘घ’ वर्गले १ हजार ८ सय ३८, ‘ग’ ले २ हजार ४ सय ५०, ‘ख’ ले ३ हजार ६३ र ‘क’ ले बढीमा ३ हजार ६ सय ७५ रुपैयाँसम्म लिन पाउने छन् । यो शुल्क लिने विद्यालयले शिक्षकको तलब सरकारले तोकेसरह बैंकमार्फत भुक्तानी गर्नुपर्छ । ‘शैक्षिक सत्र ०७४ का लागि तोकेको अधिकतम शुल्क सीमाको सूचना विद्यालय निरीक्षकमार्फत सबै विद्यालयमा जानकारी दिइसकेका छौं,’ आचार्यले भने, ‘सीमाभित्र रही शुल्क प्रस्ताव गर्न निर्देशन दिएका छौं । स्वीकृत शुल्कभन्दा बढी शुल्क लिएको पाए कारबाही हुनेछ ।’ काठमाडौंका संस्थागत विद्यालयले विद्यार्थी भर्ना गर्दा नोटिस बोर्ड, ब्रोसर र अन्य सूचना सामग्रीमा शिक्षा कार्यालयले तोकेको शुल्क अनिवार्य सार्वजनिक गर्नुपर्ने पनि कार्यालयले जनाएको छ । विद्यालय परिसर वा विद्यालयले निश्चित स्थान तोकी पोसाक, स्टेसनरी तथा पुस्तक बिक्रीवितरण नगराउन कार्यालयको निर्देशन छ ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया