काठमाडौं २४ चैत/नयाँ शैक्षिक सत्र सुरु हुन लाग्दा विद्यालय जाने बानी गराउन अभिभावक आफ्ना नानीबाबु डोर्याउँदै मन्टेसोरी (प्रि–स्कुल) को खोजीमा छन् । सीमित खेलौना र कागजका टुक्राले सजाइएका कोठा देखाएर मासिक ५ हजार शुल्क लिने सामान्य स्कुलदेखि विदेशी कोर्स चलाउने भन्दै मासिक २० हजारसम्म लिने स्कुल चहार्न अभिभावक व्यस्त देखिन्छन् ।
यस्ता प्रि–स्कुलको परामर्श कोठामा छिर्नेबित्तिकै बच्चालाई दैनिक तीन पटक खुवाइने खानाको मेनु देखाइन्छ । यस्तै मन्टेसोरीमध्ये एक हो– ललितपुर खुमलटार हाइटस्थित प्रिमियर प्रि–स्कुल । यो स्कुलमा प्ले ग्रुप (पीजी) मा साढे दुई वर्षको बच्चा भर्ना गर्दा सुरुमै १ लाख ३५ हजार १ सय १० रुपैयाँ तिर्नुपर्छ । भर्ना शुल्क ३५ हजार, सेक्युरिटी डिपोजिट २० हजार, वार्षिक स्टेसनरी १६ हजार ५ सय, वार्षिक शुल्क १५ हजार ८ सय १०, मासिक शुल्क १८ हजार ४ सय, खाना–खाजा ५ हजार ५ सय जोडेर भर्ना गर्दा एकमुस्ट शुल्क लिइन्छ । अर्को महिनाको मासिक, खाना–खाजाको २३ हजार ९ सय पनि भर्नाकै क्रममा तिर्नुपर्छ ।
विद्यालयकी निर्देशक पवित्रा लिम्बूले अन्तर्राष्ट्रिय कोर्स पढाउन आवश्यक सामग्री महँगो पर्ने हुँदा बढी शुल्क लिन बाध्य भएको बताइन् । यो विद्यालयले सरकारी निकायको अनुमतिबिनै आईबी कक्षा चलाइरहेको छ । विद्यालयले आईबी कार्यक्रम भन्दै प्रचार गरेपछि शिक्षा कार्यालयले यो कार्यक्रम ‘कानुनसम्मत’ भए/नभएको शिक्षा मन्त्रालयसँग जानकारी मागेको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै जोडिएको रेन्बो किड्स एकाडेमीमा आइतबार मध्याहन पुग्दा एक महिलाले साताभरि खुवाइने मेनु देखाइन् । त्यसमा बिहान सवा ९ बजे खाजा, साढे ११ बजे खाना र साढे २ बजे खाजा खुवाउने लेखिएको थियो । ती महिलाले कागजको अर्को ‘चिर्कटो’ निकालिन् । त्यो थियो, भर्ना र मासिक शुल्कको विवरण । प्ले ग्रुपमा भर्ना गर्न ४७ हजार ६ सय ५० शुल्क लाग्ने विवरण त्यसमा थियो । मासिक शुल्क ९ हजार, डिपोजिट ४ हजार, वार्षिक शुल्क ९ हजार ५ सय, विद्यालय रजिस्ट्रेसन १५ हजार ५ सय । यो विद्यालय टर्किस नागरिकको लगानीमा सञ्चालित हो ।
भक्तपुरको ठिमी नयाँबस्तीको सेमरक किड्स वन्डरल्यान्डले पनि भर्ना शुल्क २३ हजार ५ सय रुपैयाँ तोकेको छ । भर्ना शुल्क ५ हजार, वार्षिक शुल्क र स्टेसनरी ११ हजार ५ सय र सेक्युरिटी डिपोजिट शुल्क ५ हजार बुझाउनुपर्ने हुन्छ भने मासिक शुल्क ६ हजार ।
मन्टेसोरी/किन्डरवल्र्डका नाममा गल्लीगल्लीमा खुलेका यस्ता विद्यालयले आफूखुसी शुल्क लिएर अभिभावक ठगिरहेका छन् । शिक्षा मन्त्रालयले कक्षा १ देखि १० सम्मको मात्रै शुल्क निर्धारण गर्छ । शिक्षा ऐन आठौं संशोधनले प्रारम्भिक बालशिक्षालाई पनि विद्यालय संरचनामा राखेको छ । तर यस्तो व्यवस्थाले कक्षा १ भन्दा अघिको एउटा मात्र कक्षालाई समेट्ने भन्दै शिक्षा मन्त्रालय अनुगमनबाट पन्छिने गरेको छ ।
स्थानीय निकाय (गाउँपालिका, नगरपालिका, उपमहानगर र महानगरपालिका) का वडा कार्यालयमा दर्ता हुने प्रक्रियासमेत नपुर्याई टोलटोलमा खुलेका यस्ता विद्यालयले अभिभावकसँग आफूखुसी शुल्क उठाउँदा पनि कुनै निकायले कारबाहीको दायरामा ल्याउन सकेका छैनन् । स्थानीय स्वायत्त शासन ऐनको दफा २८ ले पूर्वप्राथमिक विद्यालय खोल्न अनुमति दिने अधिकार गाविसलाई दिएको छ । गाविसले आफ्नो स्रोतबाट पूर्वप्राथमिक विद्यालय स्थापना गर्ने, स्थापना गर्न अनुमति दिने तथा व्यवस्था गर्ने ऐनमा व्यवस्था छ । यही ऐनको दफा ९६ मा नगरपालिकाको काम, कर्तव्य, अधिकारमा पूर्वप्राथमिक विद्यालय खोल्न अनुमति दिने उल्लेख छ । यही अधिकारलाई टेकेर स्थानीय निकायले पूर्वप्राथमिक विद्यालयलाई अनुमति दिँदै आएका छन् ।
मन्टेसोरीका नाममा खुलेका यस्ता विद्यालयले एक जना विद्यार्थीबापत मासिक कम्तीमा ५ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म असुल्ने गरेका छन् । पूर्वप्राथमिक तह सञ्चालन अनुमति दिने तर व्यवस्थापन गर्न नसक्ने स्थानीय निकायलाई पछिल्लो संविधानले माध्यमिक तहसम्मै अनुमति दिने अधिकार दिएको छ ।
काठमाडौं महानगरमा ५ हजार रुपैयाँ दर्ता शुल्क लिएर पूर्वाधार नभएका ठाउँमा पनि विद्यालय सञ्चालन गर्न अनुमति दिने गरिएको छ । महानगरले कति विद्यालयलाई अनुमति दियो भन्ने तथ्यांक पनि राखेको छैन । ‘वडा कार्यालयबाट टहरामा पनि यस्ता स्कुल खोल्न अनुमति दिइएको छ । कतिलाई अनुमति दिइयो, यकिन छैन,’ महानगरका सामाजिक विकास महाशाखा प्रमुख युवराज खनालले भने, ‘यस वर्षदेखि छुट्टै निर्देशिका बनाएर अनुमति दिने तयारीमा छौं ।’ यसअघि ५ हजार लिएर जथाभावी अनुमति दिने गरिएकामा अब एक हजार मात्र लिएर मापदण्ड पूरा गर्नेलाई अनुमति दिइने उनले बताए । शुल्कको विषयमा सोच्न बाँकी रहेको उनले बताए । यसपालि बनाइएको निर्देशिकामा शुल्क समेट्न नसकिएको उनले स्विकारे ।
अभिभावक संघकी वरिष्ठ उपाध्यक्ष सरिता अर्यालले मन्टेसोरीका नाममा खुलेको विद्यालयले अभिभावक ‘लुटिरहेको’ बताइन् । ‘वडाका एक जनालाई रिझाएर विद्यालय चलाइरहेका छन् । जति शुल्क लिए पनि कसैले अनुगमन गर्दैन,’ उनले सुनाइन्, ‘कस्तो पढाइरहेका छन्, पूर्वाधार के छ, शिक्षा कार्यालयले अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्छ ।’ यस्ता ‘डे केयर’ मा राखिएका बच्चालाई निद्रा लाग्ने औषधि दिएर राख्ने गरेको तथ्य पनि बाहिर आइरहेकाले तत्काल अनुगमन गरेर कानुनी दायरामा ल्याउनुपर्ने उनले बताइन् ।
शिक्षा मन्त्रालय र मातहत कार्यालय पूर्वप्राथमिक तहको अनुमति स्थानीय विकास मन्त्रालयले दिने भएकाले व्यवस्थापन पनि उसैले गर्नुपर्ने भन्दै पन्छिने गरेका छन् । ‘स्थानीयबाट अनुमति लिएको हुन्छ । व्यवस्थापन र सञ्चालन पनि उनीहरूले नै गर्नुपर्ने हुन्छ,’ शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले भने, ‘अनुमति दिँदै शुल्कको सीमा निर्धारण गरिदिनुपर्ने हुन्छ ।’
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले यस्ता स्कुल अनुगमन गर्न मन्त्रालयसँग छुट्टै संयन्त्र नभएको बताए ।
मन्टेसोरीका नाममा एउटै संस्थाले विभिन्न ठाउँमा शाखासमेत खोलिरहेका छन् । चर्को शुल्क लिने प्रिमियरकै भगिनी संस्थाका रूपमा झम्सिखेल, मध्यबानेश्वर, महाराजगन्ज, भक्तपुर र सोल्टीमोडमा समेत प्रि–स्कुल खोलिएका छन् । मध्यबानेश्वरमा प्ले गु्रपमा भर्ना गर्न ३६ हजार तिर्नुपर्ने हुन्छ । त्यसमा भर्ना शुल्क २० हजार ५ सय, वार्षिक स्टेसनरी ८ हजार ५ सय, ट्युसन शुल्क ७ हजार र खाना, खाजा ३ हजार २ सय रुपैयाँ तोकिएको छ । मासिक शुल्कमा अतिरिक्त क्रियाकलापसमेत समावेश गरेको स्कुलले जनाएको छ । साढे दुई वर्षको बच्चाको मासिक शुल्कमा डान्स, म्युजिक, जुम्बा, तेक्वान्दो, फिजिकल ड्रिल, योग र मेडिटेसन शुल्कसमेत गरेर ७ हजार तिर्नुपर्ने हुन्छ ।
काँडाघारीको अक्षरा स्कुलको युरो किड पनि त्यतिकै महँगो छ । भर्ना शुल्क १६ हजार, वार्षिक शुल्क ७ हजार ५ सय, युरो किड र थिम किडका नाममा १० हजार, मासिक शुल्क ८ हजार ३ सय तोकिएको छ ।
त्यस्तै, टंगालको युरो किड्समा प्ले ग्रुपमा भर्ना शुल्क ५० हजार हाराहारी तिर्नुपर्छ । यातायात शुल्क न्यूनतम २ हजार ४ सय छ । मासिक शुल्क ८ हजार २ निर्धारण गरिएको छ । पीजी र नर्सरीका बच्चालाई जिमसमेत खेलाउने विद्यालयको ‘फी स्ट्रक्टर’ स्लिपमा उल्लेख छ । ‘बच्चा राम्रोसँग हिँड्न त सक्दैन,’ विद्यालय बुझन गएका एक अभिभावकले भने, ‘साढे दुई वर्षको बच्चालाई जिम गराउँछु भनेर महँगो शुल्क तोकिएको रहेछ ।’ विद्यालय बुझन जाने अभिभावकलाई शुल्क र खानाको स्लिप दिएर पठाउने गरेको छ यो स्कुलले । टंगालमा मुख्य कार्यालय रहेको युरो किड्सले बाँसबारी र तीनकुनेमा पनि शाखा खोलेको छ । सेमरकले पनि सातदोबाटो, कोटेश्वर, ठिमीलगायत स्थानमा शाखा खोलेको छ ।
मकर श्रेष्ठले कान्तिपुरमा लेखेको खबर ।
प्रतिक्रिया