Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

२१ हजार मतदाता शिक्षा कार्यकर्तालाई प्रशिक्षण सुरु

बुधबार, २३ चैत्र २०७३

काठमाडौं २३ चैत/२०७४ वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा घर घरमा गएर मतदातालाई सिकाउने २१ हजार मतदाता शिक्षा कार्यकर्ताका लागि देशका ७५ जिल्लामा प्रशिक्षण दिने कार्य सुरु भएको छ ।  २१ हजार निर्वाचन शिक्षा कार्यकर्ता तथा स्वयम्सेवकले एक करोड ४० लाख ५४ हजार ४८२ जना मतदातालाई मतदाता शिक्षा सिकाउनुपर्ने जिम्मेवारी छ ।  एक जना मतदाता शिक्षा कार्यकर्ताले हरेक दिन २२ जना मतदाताका दरले एक महिनामा ६७० जना मतदातालाई मतदाता शिक्षा प्रदान गर्नुपर्ने छ ।  

निर्वाचन आयोगले चैत २६ गतेसम्म ७५ जिल्लाकै मतदाता शिक्षा कार्यकर्तालाई तालिम प्रदान गरेर कार्यक्षेत्रमा खटाउने तयारी गरेको छ ।  क्षेत्रीय निर्वाचन कार्यालय काठमाडौँले मङ्गलबारदेखि ७५० जना मतदाता शिक्षा कार्यकर्ता तथा स्वयम्सेवकका लागि मतदाता शिक्षा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।
कार्यक्रमको शुभारम्भ गर्नुहुँदै आयोगका सचिव गोपीनाथ मैनालीले एक जना मतदाताले एउटै मतपत्रबाट सात जना उम्मेदवारलाई मतदान गर्न सिकाउनुपर्ने र उम्मेदवार पनि धेरै र मतपत्र पनि ठूलो हुने भएकाले बढी मेहनत गर्न आग्रह गर्नुभयो ।  
आयोगका सहसचिव नवराज ढकालले संविधान र कानुनले स्थानीय तहमा ४० प्रतिशत महिला निर्वाचित हुने सुनिश्चित गरेको र गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्ष, नगरपालिकाको प्रमुख÷उपप्रमुखमध्ये दलहरूले उम्मेदवारी दर्ता गराउँदा ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने व्यवस्था छ भन्नुभयो ।  पहिलो चरणको प्रशिक्षण कार्यक्रममा २५० जना सहभागी छन् ।  सहभागीमध्ये झन्डै ९५ प्रतिशत महिला रहेको जानकारी क्षेत्रीय निर्वाचन अधिकारी चन्द्रप्रसाद गौतमले दिनुभयो ।  तीन चरणमा गरिने प्रशिक्षणमा ७५० जनालाई प्रशिक्षण दिइने छ ।  
गोरखापत्रमा प्रकाशित खबर ।

प्रतिक्रिया