Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

फुर्सदको सदुपयोग गर्न ब्रिजकोर्स

मंगलबार, २२ चैत्र २०७३

काठमाडौं २२ चैतI/यसै वर्ष सेकेन्डरी स्कुल इक्जामिनेसन (एसईई)को परीक्षा दिएर फुर्सदमा रहेकी मनिका प्रजापति परीक्षाको नतिजा नआउँदासम्म कसरी समय बिताउने भनेर अलमलमा थिइन् । उनका केही साथीभाइ लुम्बिनी घुम्न जाने योजनामा छन् । केही साथी काठमाडौंमै बसेर कम्प्युटर सिक्ने तयारी गरिरहेका छन् ।

कक्षा ११ मा विज्ञान पढ्ने योजना बनाएका उनले पनि साथीभाइको योजनाबारे थाहा पाइसकेपछि केही नसोची बस्न सकिनन् । परामर्श गर्दै जाँदा फुर्सदको समय सदुपयोग गर्न बजारमा सबैले भन्दै आएको ब्रिज कोर्समा नै भर्ना गर्ने निचोडमा उनी पुगिन् । उनी ब्रिज कोर्समा पनि विज्ञान विषय नै पढ्ने तयारीमा छिन् ।

एसईईकै परीक्षा दिएर बसेका रञ्जु प्रधान पनि सुरुमा त परीक्षा दिएपछिको समयमा के गर्ने भन्नेमा निकै अलमलमा थिइन् । साथीभाइसँग उपत्यकाबाहिर घुम्न जाने, काठमाडौंमै बसेर गीतसंगीतको तालिम लिने, घरमै बसेर देशी, विदेशी लेखकको पुस्तक पढ्ने वा पत्रकारिता, उद्घोषणा कलालगायत अन्य रचनात्मक क्रियाकलाप गर्ने भन्नेमा उनी योजना बनाउँदै थिइन् । सबै योजनालाई पाखा लगाउँदै प्रधान फुर्सदमा उद्घोषण कलासम्बन्धी कक्षा लिन परामर्शमा डुल्न थालेकी छन् । उनीसँगै परीक्षा दिएका केही साथी कम्प्युटर र अंग्रेजी भाषा सिक्ने तयारीमा छन् ।

एसईई परीक्षा सकिएपछि फुर्सदका रूपमा उपलब्ध हुने तीन महिनाको समयलाई कसरी सदुुुुपयोग गर्ने भन्नेमा केही वर्ष अघिसम्म निकै पिरलोमा पर्ने विद्यार्थीलाई अहिले सहरका गल्लीगल्लीमा खुलेका ब्रिज कोर्स प्रदायक संस्थाहरूले निकै सहयोग गरिरहेका छन्, फुर्सदको समयलाई उत्पादन कार्यमा सदुपयोग गर्न । एसईई परीक्षा सकिएको एक सातामात्र भएको छ । तर, हजारौं विद्यार्थी अहिले ब्रिज कोर्स प्रदायक संस्थाहरूमा परामर्शका लागि लामबद्ध भएको देखिन्छ ।

बागबजार, पुतलीसडक, बानेश्वर, सोह्रखुट्टेलगायत क्षेत्रका घरहरू ब्रिज कोर्सको प्रचारमा झुुन्ड्याइएका होर्डिङ बोर्डले रंगिएका छन् । एघारमा भर्ना हुुने विषयमा प्रारम्भिक अध्यापन गराउने, त्यस्ता विषयमा भर्ना हुनका लागि प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गर्नेदेखि लिएर कम्प्युटर तालिम, विभिन्न भाषाका कक्षा सञ्चालन, गीतसंगीतको तालिम दिने तथा विद्यार्थीलाई विभिन्न रमणीय स्थानमा घुमाउन लैजानेसम्मका गतिविधिहरू गरिरहेका छन् ।

पुतलीसडकस्थित रिलायबल एकडेमीका प्रबन्ध निर्देशक मातृका भट्टराई विद्यार्थीको चाहनाअनुसार आफ्नो संस्थाले दर्जनभन्दा धेरै विषयमा पढाइ सञ्चालन गरिरहेको बताउँंछन् । विगत दुई दशकभन्दा लामो समयदेखि यस क्षेत्रमा संलग्न उनी विद्यार्थीका लागि ब्रिज कोर्स अत्यन्तै महत्वपूर्ण पाटो भएको बताउँछन् । ‘ब्रिज कोर्सका रूपमा विद्यार्थीले यही विषय पढ्नुपर्छ भन्ने छैन तर तीन महिनाको समयलाई अधिकतम उपयोग गर्ने एकमात्र उपाय भनेको ब्रिज कोर्समात्रै हो’, भट्टराई भन्छन् ।

ब्रिज कोर्सका रूपमा अहिले अधिकांश विद्यार्थीको रोजाइ ११ कक्षामा पढाइ हुुने विषयको पढाइमा भर्ना हुनेमा देखिन्छ । ब्रिज कोर्स प्रदायक संस्थाहरूले पनि विद्यार्थीको रुचिअनुुसारकै विषयहरूको पढाइ सञ्चालन गरिरहेका छन् ।

‘ब्रिज कोर्सको मोडल परिवर्तन गरौं’

शिक्षाविद्हरू भने ब्रिज कोर्स सञ्चालनको हालको प्रणाली परम्परागत भएको र कुनै पनि संस्थाले फरक तरिकाका विषयहरू प्रस्तुत गर्न नसकेकोमा गुनासो गर्छन् । हाल प्रचलनमा रहेको ब्रिज कोर्सलाई अझ फरक तरिकाबाट प्रस्तुत गर्न सकिएमा विद्यार्थीहरू बढी लाभान्वित हुने उनीहरूको भनाइ छ ।

शिक्षाविद् तथा काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा. बालचन्द्र लुइँटेल परम्परागत धारका ब्रिज कोर्सभन्दा पनि विद्यार्थीलाई कसरी पूर्ण जीवन बिताउने भन्ने विषयको कोर्सको पढाइ अहिले आवश्यक रहेको बताउँछन् । उनका अनुसार विद्यार्थीले ११ मा पढाइ हुुने विषयको कोर्स पढेर मात्र नपढेर एसईईको परीक्षादेखि नतिजा नआउँदासम्मको समयलाई खेर फाल्न हुँदैन ।

‘सामान्यतया एउटा विद्यार्थीले एसईईको परीक्षा दिँदासम्म न्यूनतम १० वर्ष विद्यालय शिक्षामा समय खर्चेको हुन्छ । अझ निजी विद्यालयका विद्यार्थीले त पूर्वप्राथमिक तहको समेत गरेर हिसाब गर्ने होे भने १० कक्षासम्ममा तेह्र वर्ष समय बिताएका हुन्छन्’, लुइँटेल भन्छन्, ‘यस हिसाबले भन्ने हो भने उनीहरूले १३ वर्षसम्म पढेर नजानेको कुरा तीन महिनाको समयमा पढेर हासिल गर्न सक्छन् भन्ने कुरा गलत हो । त्यसैले तेह्र वर्षसम्म पढेर दिक्क भएका विद्यार्थीले फुर्सदको दुर्इई तीन महिनामा फोटोग्राफी, पेन्टिङ, संगीत, नृत्य, उद्घोषण तथा व्यक्तिगत विकास गराउन मद्दत पुर्‍याउने विषयको तालिम लिनु उपयुक्त हुन्छ ।’

नेपाली बजारमा विद्यार्थीलाई फरक क्षमताको विकास गर्न मद्दत पुरयाउने ब्रिज कोर्स प्रदायक संस्थाको अभाव रहेको लुइँटेलको अनुभव छ । भन्छन्, ‘अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आर्ट क्राफ्टको राम्रो स्कोप छ । प्रिन्टिङ, फोटोग्राफीको पनि राम्रो भविष्य छ तर यस्ता विषयमा तालिम दिने संस्थाको अभाव छ ।’

नेपाली बजारमा अहिले खुलेका अधिकांश संस्थाले विद्यार्थीको एकेडेमिक माइन्डलाई एक्स्टेन्ड गर्न सहयोग पुर्‍याउने कोर्सहरूमात्र अफर गरिरहेका छन् । कतिपय विद्यार्थी आफ्नो रुचिअनुसारको कोर्स पढ्न नपाएकोमा दु:खी पनि छन् । फुुर्सदको समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेखकको पुुस्तक पढ्ने र सोहीअनुसार आफ्नो लेखन क्षमता बढाउने योजना बनाए पनि उपयुुक्त संस्था नभेटेर भौतारिइरहेका रामहरि भण्डारी भन्छन्, ‘बागबजार र पुतलीसडक क्षेत्रका अधिकांश घर ब्रिज कोर्स प्रदायक संस्थाको विज्ञापनले ढाकेको छ । तर, मैले रुचि अनुसारको तालिम लिन पाइनँ ।’

विशेषगरी मेडिकल शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालन गर्दै आएको पुुतलीसडकस्थित रिलायबल एकेडेमीका भट्टराई धेरैजसो विद्यार्थीको रुचि पनि प्रवेश परीक्षा तयारी कक्षामा नै भएका कारण आकर्षण पनि यतै बढेको बताउँंछन् ।

कस्तो संस्थामा ब्रिज कोर्स ?

एसईई सकिएपछि बागबजार, पुतलीसडक र बानेश्वर क्षेत्रका घरहरू ब्रिज कोर्स प्रदायक संस्थाको होर्डिङ बोर्डले रंगिएका हुन्छन् । तर, तीमध्ये कुन संस्थामा भर्ना हुुने भन्नेमा विद्यार्थी समस्यामा पर्ने गरेका छन् । विशेषगगरी एसईई परीक्षा सकिएपछि मात्र खुल्ने र तीन महिनापछि बन्द हुुने समस्याका कारण यस्ता संस्थाको विश्वसनीयतामा पनि विद्यार्थीलाई समस्या पर्ने गरेको छ ।

ब्रिज कोर्स अध्ययन गराइरहेका संस्थाको इतिहास, त्यहाँ पढाउने शिक्षक, व्यवस्थापन तथा भौतिक संरचना र त्यहाँ अध्ययन गरेका विद्यार्थीको नतिजालाई हेरेरमात्र भर्ना हुनु उपयुक्त हुने ब्रिज कोर्स सञ्चालकहरू नै बताउँछन् । त्यसबाहेक सम्बन्धित संस्थाको शुल्क संरचना र त्यसले दिने सेवाका बारेमा पनि अध्ययन गर्नु उपयुक्त हुने उनीहरूको भनाइ छ ।

उपत्यकालगायत मुलुकका कुन सहरमा कति ब्रिज कोर्स प्रदायक संस्था सञ्चालनमा छन् भन्नेमा यकिन तथ्यांक कुुनै निकायसँग छैन । सामान्य ट्युसन पढाउने इन्स्टिच्युटदेखि नेपाल सरकार कम्पनी कार्यालय र शिक्षा मन्त्रालयमा समेत दर्ता भएका संस्थाहरूले यस्ता विषयको पढाइ सञ्चालन गरिरहेका छन् । तर, यीमध्ये अधिकांश संस्थालाई स्थायित्वको समस्या छ । भरपर्दो र विश्वासिलो संस्थामा भर्ना हुुन चाहने विद्यार्थीले सम्बन्धित संस्थाको इतिहास, विगतको नतिजा, व्यवस्थापन समूह र शिक्षकको योग्यताको विषयमा अध्ययन गर्नुुपर्ने हुन्छ ।

अन्नपूर्ण पोष्टमा सूर्यप्रसाद पाण्डेले लेखेको खबर ।

प्रतिक्रिया