काठमाडौं २२ चैत/त्रिभुवन विश्वविद्यालयअन्तर्गत विज्ञान तथा प्रविधि विभागको संयोजन एवं जनसङ्ख्या तथा वातावरण मन्त्रालयको सहयोगमा आयोजित वातावरण र दिगो विकास विषयक हिमालयन ज्ञान सत्सङ्ग ः तेस्रो स्तातक सम्मेलन सुरु भएको छ ।
दुई दिनसम्म चल्ने सो सम्मेलनमा वातावरण, स्रोतको संरक्षण र व्यवस्थापन, आर्थिक विकास, प्राकृतिक विज्ञान, विपद् व्यवस्थापन र शहरीकरणजस्ता विषयमा प्रस्तुत ५२ वटा कार्यपत्रमाथि छलफल हुनेछ ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभाग, कीर्तिपुर, सामाजिक र वातावरणीय परिवर्तन अध्ययन संस्था (आइसेट–नेपाल) र रिर्सोसेज हिमालयको सह–आयोजनामा भएको उक्त सत्सङ्गमा करिब ४०० युवा अनुसन्धानकर्ताको सहभागिता रहेको छ ।
सम्मेलनको उद्घाटन गर्दै काठमाडौँ विश्वविद्यालयका पूर्व उपकूलपति डा सुरेशराज शर्माले विभिन्न विधागत विषयहरूमा युवा अनुसन्धानकर्ताहरूका लागि ज्ञान आदानप्रदान गर्न यस किसिमको सत्सङ्ग उपयोगी हुने बताउनुभयो ।
सो अवसरमा त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि विभागका डीन प्रा रामप्रसाद खतिवडा, प्रा सुदर्शनराज तिवारी, आइसेट–नेपालका सदस्य–सचिव डा दीनमणि पोखरेलले अव्यवस्थित शहरीकरका कारण वातावरणीय समस्या बढेकाले यसको समाधानमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
गोरखापत्रमा प्रकाशित खबर ।
प्रतिक्रिया