Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

पब्लिकेसनसँग पुस्तकमा प्याब्सनको ‘बार्गेनिङ’

सोमबार, २१ चैत्र २०७३

काठमाडौं २१ चैत/पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरेका पाठ्यपुस्तक विद्यालयहरूले रोजेर लगाउन पाउने व्यवस्था भए पनि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)ले गैरकानुनी ढंगले पब्लिकेसनसँग ‘बार्गेनिङ’ गरेको पाइएको छ । नयाँ शैक्षिक सत्र सुरु हुन लाग्दा पुस्तकमा चलखेल सुरु भएको हो । प्याब्सनले संगठित रूपमै विभिन्न पब्लिकेसनसँग रकम माग गरेको छ । झापा प्याब्सनले निजी विद्यालयमा पुस्तक लगाइदिने आश्वासनमा ४२ वटा पब्लिकेसनसँग रकम माग गरेको खुलासा भएको छ । रकम नदिने प्रकाशन संस्थाको पुस्तक लागू नगर्ने निर्णय गर्ने भन्दै रकम माग गरेको छ । झापा प्याब्सन अध्यक्ष कोषकुमार प्याकुरेलले यो वर्ष पब्लिकेसनबाट १५ लाख संकलन भएको बताए ।

पब्लिकेसनका अनुसार झापाको एक्सेल डेभलपमेन्ट बैँक बिर्तामोड शाखाको प्याब्सनको खाता नम्बर १०४७३ मा अनुदानका रूपमा लाखौँ रकम माग गरिएको हो । झापा प्याब्सनले निजी पब्लिकेसनसँग केही दिनअघि तीन–तीन लाख रुपैयाँ मागेको थियो । पुस्तक बेचेर तीन लाख आम्दानी गर्न कठिन हुने भन्दै धेरै पब्लिकेसनले रकम दिन अस्वीकार गरेपछि डेढ–दुई लाख भए पनि सहयोग गर्न आग्रह गरेको सञ्चालकहरूको गुनासो छ । बुधबारसम्ममा डेढ दर्जन पब्लिकेसनले आफ्ना पुस्तक लागू गर्न प्याब्सनको बैंक खातामा रकम जम्मा गरिदिएको स्रोतको भनाइ छ ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत भएका थप पाठ्यसामग्री विद्यालयले प्रयोग गर्न कसैले रोक लगाउन नमिल्ने बताए । ‘पुस्तक विद्यालयले छान्ने हो, प्याब्सन, एनप्याब्सनले भन्ने होइन,’ उनले भने । खुला बजारमा कसैले पनि पुस्तक किन्न वा नकिन्न दबाब दिन नमिल्ने उनको भनाइ छ ।

सभाहल निर्माण गर्न मागेको हो : प्याकुरेल

झापा प्याब्सनका अध्यक्ष कोषकुमार प्याकुरेलले सभाहल निर्माणका लागि पब्लिकेसनहरूलाई सहयोग गर्न आग्रह गरेको बताए । ‘यो हाम्रो निरन्तरता हो, रकम तोकेर अनिवार्य गरेका छैनौँ,’ अध्यक्ष प्याकुरेलले भने, ‘अहिले कसैले ५० हजार, कसैले एक लाख दिएका छन् । प्रायः जिल्लामा यो अभ्यास छ ।’ उनले बुधबारसम्ममा १२–१५ लाख रुपैयाँ उठिसकेको बताए ।

‘प्याब्सनको फोहोर सफा गर्छौँ’

प्याब्सन केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फेले पब्लिकेसनसँग पैसा माग्न नमिल्ने बताए । ‘यस्तो फट्याइँपूर्ण काम गर्न मिल्दैन,’ सम्बाहाम्फेले भने, ‘प्याब्सनमा पनि फोहोरमैला छ, म सफा गर्छु ।’ उनले कसैलाई पनि दबाब दिएर काम गराउन नहुने बताए ।
नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेको खबर ।

प्रतिक्रिया