Edukhabar
शुक्रबार, १४ मंसिर २०८१
विचार / विमर्श

भूकम्पको प्रभाव र बालबालिकाहरु

विहीबार, १४ जेठ २०७२

- गेहनाथ गौतम / नेपाल, भूकम्पीय जोखमयुक्त क्षेत्र भित्र रहेको हुनाले नियमित प्रक्रियाकै अंगजस्तो बनेको हुन्छ हाम्रा लागि— भूकम्पन । तर २०७२ बैसाख १२ गतेको कम्पनले हाम्रो नियमितता र सोचमा धेरै ठूलो परिवर्तन ल्याएको छ । यसपछिका १३ र २९ गतेका कम्पनहरु पराकम्पन नै भए पनि शक्तिशाली अनुभूत भएका छन् । यी र सँगसँगै लगातार क्रममा भएका कम्पनहरुले हाम्रो दैनिकी मात्र विथोलेको छैन अपितु आठ हजार भन्दा बढीको जीवनहरण गरेको छ । यससँगै परिवारिक खुसीहरण गरेको छ ।  लाखौँको गाँस, बास र कपासको न्युनतम प्रवन्ध माथि धावा बोलेको छ । व्यक्ति, परिवार, समाज र मुलुक कै निदहराम गर्दै यसले अन्तराष्ट्रिय सहयोगी मनलाई नेपालतर्फ केन्द्रित गरेको छ ।

यस विनासकारी प्राकृतिक विपत्तिबाट मुलुकको अर्थतन्त्र चौपट हुनुका कतिपय पुरातात्विक संस्कृति र सम्पदा सदाका लागि समाप्त हुने सम्भावना बढेको छ । यी सबैभन्दा गम्भिर सवाल बालबालिकाको मनमस्तिष्कमा जरा गाडेर रहन सक्ने भय, त्रास र मानसिक विचलन अनि उचित शिक्षा दिक्षाको प्रवन्धको विषय बन्न पुगेको छ । यसकारण भूकम्प पछिको पुनर्निर्माण र पुनस्र्थापनाको प्राथमिकताक्रममा बालबालिका र शिक्षालाई अग्रस्थानमा राखिनु आवश्यक छ ।

हाल सम्मको शिक्षा विभागमा सङ्कलित तथ्याङ्कका आधारमा हेर्दा सिन्धुपाल्चोक, धादिङ, गोरखा, दोलखा, काभ्रेपलान्चोक, भक्तपुर, काठमाडौ, ललितपुर, रामेछाप, नुवाकोट, रसुवा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा गरी १४ जिल्ला बढी प्रभावित बनेका छन् । यी बाहेक अन्य प्रभावित २७ जिल्लाहरुमा लम्जुङ्, स्याङ्जा, तनहुँ, कास्की, रुपन्देही, बाग्लुङ, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, सोलुखुम्बु, खोटाङ, उदयपुर, सप्तरी, सिराहा, प्युठान, डोटी, कन्चनपुर, बाजुरा, मुस्ताङ र पर्वत रहेका छन् ।

हिजोसम्म सँगसँगै रहने आफ्ना साथीहरु र गुरुहरु गुमाएका विद्यार्थीहरु तथा सहकर्मी र छात्रछात्रा गुमाएका शिक्षकहरुका साथै घाइते भएका वा पारिवारीक शोकमा रहेका व्यक्तिहरुको मनस्थितिलाई नियमित पठनपाठनको दायरामा ल्याउनु अहिलेको गम्भिर चुनौती रहेको छ । विद्यालय समुदायको सानिध्यमा रही सञ्चालन हुने समुदाय कै सम्पत्ति हो । यस अर्थमा घरवारविहिन समुदायबाट विद्यालयले प्राप्त गर्ने साथ सहयोग पनि तत्काल अपेक्षित मात्रामा हुन कठिन छ । घामपानीबाट बच्ने विकल्प नबनेसम्मकतिपय विद्यालयहरुसमुदायको आस्रयस्थलनै बनेका छन् ।

अहिले दीर्घकालीन असर पर्ने गम्भिर कुरा त हाम्रो मनस्थिति वसन्तपर दरवार क्षेत्रको निम्न तस्विर झैँ भग्न बन्न पुगेको छ । हिजोको स्वाभाविक दिनचर्या, उन्नति र प्रगतिको आकांक्षामा ठेस लायेको छ । आफ्नो अति सुरक्षित आस्रयस्थल मानिने घर, नियमित कार्य सम्पादन गरिने कार्यालयहरु पनि आफ्नै लागि डरलाग्दा बनेका छन् । यससँगै संकटका समयका आफन्त, छिमेकी, सहकर्मी र शुभेच्छुकको महत्व, भूमिका र साथ सहयोग बारे सोच्ने शैलीमा परिवर्तन ल्याएको छ ।

बढी प्रभावित जिल्लाहरुमा सरकारले जेठ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । विद्यालयहरुको भौतिक दुरावस्थाले धेरै विद्यालयहरुमा तत्काल पठनपाठन सुचारु गर्ने परिवेश नै छैन ।  यस्तो अवस्थामा बालबालिकाहरुको दैनिकी खजबजिएको छ । नियमित पठनपाठनको व्यवस्था नभएसम्मका लागि बालबालिकाहरुलाई व्यस्त राख्ने उपायहरु अवलम्वब गर्न अति आवश्यक छ । त्यसैले यस विपदको घडिमा पवित्र आत्मा लिईसकेको योगदान गर्न स्वतस्पूर्mत आवश्यक छ । मूलतः बालबालिकाको संरक्षण, सुरक्षा र सिकाइका क्षेत्रमा निम्न पक्षहरुबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिन्छ ।

१.अभिभावकः  हाम्रो खुसी सदैव बालबालिकाको खुसीसँग अन्तरनिर्भर छ । यतिवेला त्यसै पनि आत्तिएका  बालबालिकाहरु हामी आफैँ आत्तिने र हतास बन्ने हो भने अझ तनावमा पर्नेछन् भन्ने हेक्का राख्ने । आफू रहेको स्थान सुरक्षित छ, साना ठूला भुकम्पनहरु स्वाभाविक छन् भन्ने सन्देश दिने । नकारात्मक असरका मात्र कुराहरु कम गर्ने । उनीहरुलाई हामी चाडै ब्यवस्थित बन्ने छौँ भन्ने आश्वासन र ढाडस दिन नभुल्ने । उनीहरुलाई सकेसम्म आफनो साथमा राख्ने र व्यस्त बनाउने उपायहरु अपनाउने । अवान्छित गतिविधिको शिकार बन्नबाट जोगाउने । घरव्यवहारलाई नियमित बनाउदै ल्याउने । अरुप्रति बढी आश्रित बनेको अनुभूति पटक्कै नगर्ने र हुन नदिने । अनुकुल सुरक्षित तवरले स्थानमा घुमाउन लैजाने । आफ्नो मनोबल गिर्दा बच्चाको झन् गिर्छ भन्ने तथ्यको ख्याल गर्ने ।

२.शिक्षक : शिक्षक समाजको तल्लो तहसम्म फैलिएको सचेत र अगुवा पेशाकर्मी समुदाय हो । यो वर्गले बालबालिका मात्र हैन अभिभावकलाइ पनि मार्गदर्शन गर्न सक्दछ । बालबालिकाहरु इति वेला रिसाउने, डराउने, आत्तिने र झर्किने गर्न सक्छन् । यसबेला बोल्न चाहनेलाई कुरा गर्न दिने । अब भूकम्प आए के गर्ने भन्ने बारेमा छलफल गराउने । अरु प्रकारका प्राकृतिक विपत्ति बारे छलफल चलाउने । विगतमा विश्वमा भएका यस्ता दुर्घटना र त्यसको व्यवस्थापनका सकारात्मक कथाहरु सुनाउने । आत्तिदा हुनसक्ने बेफाइदा र नआत्तिदा हुने फाइदाबारे छलफल गर्ने । भूकम्प र यस्तै प्राकृतिक विपत्ति के हो भन्नेबारे छलफल गर्ने । शिक्षकका पेशागत संस्थाहरुले आफ्ना सदस्यहरुलाई आव्हान गरेर नै परिचालन गर्न सक्दछन् । 

३.स्थानीय सामुदायिक क्लबहरुः  सबैलाई सुरक्षित रहेको सुनिश्तिता बढाउन प्रयत्न गर्ने । युवा तथा बालबालिकाहरुमा हुनसक्ने मानसिक थकान, डर त्रास र मानसिक आघातलाई कम गर्न सहयोगी कार्यक्रमहर सञ्चालन गर्ने । यस अन्तर्गत सामुहिक उठबस र सामुहिक छलफल गर्ने, मनोरञ्जनात्मक कार्यहरु तथा स्थानीय खेलकुद आयोजना गर्ने । अवान्छित गतिविधिको शिकार बन्न सचेत राख्ने । प्रतिभा प्रस्फुटन गर्ने सिर्जनात्मक कार्यहरु जस्तै चित्रकला, हस्तकला, कागजका काम, गीत संगीत, कवित कथा जस्ताा सहित्यिक कार्यक्रमहरु सञ्चालन गर्ने । नजिकका मन्दिर, पाटीपौवा, गुम्बा वा धार्मिक स्थल र नदीनालाको संरक्षण गर्ने तथा सुरक्षित रुपमा यस्ता स्थानहरुको भ्रमण गर्ने जस्ता कार्यक्रमहरु आयोजना गर्ने ।

४.अग्रज विद्यार्थी : सिकाइमा समवयीको प्रभाव निकै बलियो हुन्छ । अहिलेको युवापुस्ता सक्रिय पनि छ र आफैँ आफ्नो आकार लिन सक्ने अमिवा जस्तो पनि छ । यो विशेषतालाई आफूभन्दा कम उमेरका भाइबहिनीहरुका हितमा उपयोग गर्न सकिन्छ । उनीहरुलाई सही जानकारी दिने, उमेरअनुसार सरसल्लाह दिने तथा रुचीपूर्ण विषयहरु जस्तै खेल मनोरन्जन वा सिर्जनात्मक कार्यमा व्यस्त राख्नसकिन्छ । यस्तो विपदका समयमा दुव्र्यसनी बन्ने तथा कमजोरहरु प्रति अमानवीय व्यवहार हुने खतरा बढी हुन्छ । अग्रज विद्यार्थी र युवाहरुले यसप्रति चनाखो भई मार्गदर्शन गर्न सक्दछन् ।

५.गैरसरकारी संस्थाहरुः गैरसरकारी संस्थाहरु सदैव सरकारका विकास साझेदारहरु हुन् । हिजो जसरी सामाजिक कार्यमा सरकारको सहयोगीका रुपमा र नीति कार्यन्वयन र नीति तर्जुमाको क्षेत्र पहिचान गर्न भूमिका खेलिएको थियो आज त्यो भन्दा बढी जिम्मेवारी वहन गर्न सकिन्छ । यस्तैे भएको देखिएकोपनि छ । सरकारी संयन्त्र पुग्नु भन्दा पहिले विपद व्यवस्थापनमा आफ्नो पहँुच पुरयाउने र पिडित बालबालिकाहरुलाई मानसिक तथा आवश्यक परामर्श दिन कार्यलाई प्राथमिकतामा राख्ने । यसका लागि गर्न स्वयंसेवक परिचालन गर्न सकिन्छ ।

६.शैक्षिक संस्था तथा विद्यालयहरुः शैक्षिक संस्थाहरु आफैँमा समाजका बत्ती हुन् । उज्यालो छर्न र मार्गदर्शन गर्न विद्यालय जस्तो सहज र साझा थलोले भूमिका खेल्न सक्दछन् । आफ्ना वा आसपासका बालबालिकालाई सम्भवभएसम्म विद्यालय हाता वा अनुकुल स्थानमा भेला गर्ने, विपद व्यवस्थापन र मानसिक स्वास्थ्यबारे परामर्श गर्ने गराउने कार्य अहिलेको अहम् दायित्व हो । यसका साथै आफ्ना अभिभावकलाई सहयोग गर्न र समझदारी विकास गर्न बालबालिकालाई मानसिक रुपमा तयार गर्न तथा घरायसी अवस्थाबारे जानकारी लिनदिन पनि यो अवसरलाई उपयोग गर्न सकिन्छ । त्यसैले विद्यालय बन्द गरिए पनि अनुकुल स्थानमा भेला गर्ने र विद्यार्थीलाई मनोरन्जनात्मक, सिकाइमूलक र सिर्जनात्मक क्रियाकलापमा सहभागी गराउन शिक्षक, विद्यालय र शैक्षिक संस्थाहरुको अहिलेको कर्तव्य हो ।
 
७.सञ्चार जगतः राज्यको चौथो अंगका रुपमा स्वीकार गरिने सञ्चार क्षेत्रले हालको विपत्तिमा खेलेको भूमिका सह्राहनीय छ । यतिवेला छापा, विद्युतीय र श्रव्यदृश्य सञ्चारगृह र आम सञ्चारकर्मीबाट विपदमा परेका व्यक्ति तथा बालबालिकाहरु बारे सूचना र जानकारी सार्वजनिक गर्नेदेखि स्वयम् उद्वार गर्ने कार्य गर्न सक्दछन् । अझ महत्वपूर्ण भूमिका त जोखिम न्युनीकरण गर्न चेतनामूलक, मार्गदर्शक, बालउपयोगी र मनोरन्जनात्मक कार्यक्रम तथा आलेखहरु प्रकाशन र प्रशारण गरी स्थितिलाई सहज र सामान्य अवस्थातर्फ फर्काउन योगदान गर्न सकिन्छ । बारम्वार हृदयविदारक दृश्य र सामग्रीको प्रशारण, प्रकाशनलाई कम गर्दै सकारात्मक सन्देश प्रवाह हुन सक्नु नै अबको आवश्यकता देखिएको छ ।

गौतम पाठ्यक्रम विकास केन्द्रका उपनिर्देशक हुन्

[email protected]

प्रतिक्रिया