Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

एसइई परीक्षामा १५ हजारभन्दा बढी विद्यार्थी अनुपस्थित

आइतबार, २० चैत्र २०७३

काठमाडौं २० चैत/ यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा देशभरिबाट नियमित र एक्जाम्टेड गरी १५ हजार ६ सय तीनजना परीक्षार्थी अनुपस्थित भएका छन् ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमिततर्फ सात हजार पाँच सय ३५ र एक्जाम्टेडतर्फ आठ हजार ६८ जना अनुपस्थित भएका हुन् । धेरै संख्यामा परीक्षार्थी अनुपस्थित हुनुको मुख्य कारण बीचैमा पढाइ छाड्नु रहेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताए । कक्षा १० को एसइई परीक्षा ३ देखि ११ चैतसम्म सञ्चालन भएको थियो ।

दुई केन्द्राध्यक्षसहित ३८ निरीक्षक कारबाहीमा
खटाइएको केन्द्रमा नियमित निरीक्षण नगरेको भन्दै दुईजना केन्द्राध्यक्ष कारबाहीमा परेका छन् । जसमा दुईजना सहायक केन्द्राध्यक्ष र ३८ जना निरीक्षक छन् । तीन सय पाँचजना परीक्षार्थीले नियम उल्लंघन गरेपछि परीक्षाबाट निस्कासित भएका छन् । ‘यसपटक केन्द्राध्यक्ष वा अन्य निरीक्षक नियमित ड्युटीमा नआएकाले मात्र कारबाही गरिएको कुरा आएको छ । उनीहरूको व्यक्तिगत समस्याका कारण नियमित नभएको हामीले थाहा पाएका छौँ,’ परीक्षा नियन्त्रक रेग्मीले भने । उनका अनुसार विद्यार्थीलाई चिट चोराउने वा चोर्न सहयोग गर्नेजस्ता गम्भीर कारबाहीमा कोही पनि परेका छैनन् ।

एसइई परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक र कार्यालय सहायक गरी ६७ हजार पाँच सय ९१ कर्मचारी खटाइएको थियो । परीक्षामा दुई लाख ५९ हजार ७ सय ३२ छात्र र दुई लाख ७८ हजार चार सय ५० छात्रा गरी पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी भएका थिए । देशभर कुल एक हजार नौ सय २३ केन्द्रमा परीक्षा भएको थियो ।

मध्यमाञ्चलमा धेरै अनुपस्थित
एसइई परीक्षामा सबैभन्दा धेरै मध्यमाञ्चलमा परीक्षार्थी अनुपस्थित भएका छन् । पूर्वाञ्चलमा अनुपस्थित भएका विद्यार्थीहरू नियमिततर्फ एक हजार नौ सय ५७ र एक्जाम्टेडतर्फ नौ सय ५४ जना रहेका छन् । मध्यमाञ्चलमा नियमिततर्फ दुई हजार तीन सय ४६ जना अनुपस्थित छन् । एक्जाम्टेडतर्फ पाँच हजार आठ सय दुईजना अनुपस्थित छन् । त्यसैगरी, मध्यपश्चिमाञ्चलमा नियमिततर्फ एक हजार आठ सय ४१ र एक्जाम्टेडतर्फ चार सय ५० जना विद्यार्थीले परीक्षा दिएनन् ।

सुदूरपश्चिममा नियमिततर्फ अनुपस्थित रहने विद्यार्थीको संख्या आठ सय ४१ र एक्जाम्टेडतर्फ दुई सय ५४ जना रहेको छ । पश्चिमाञ्चलमा शतप्रतिशत विद्यार्थी परीक्षामा सामेल भएको पाइएको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिए ।
नुनुता राईले नयाँ पत्रिकामा लेखेको खबर ।

प्रतिक्रिया