Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

अस्थायी शिक्षकको व्यवस्थापन गर्न विज्ञापन

आइतबार, २० चैत्र २०७३

काठमाडौं २० चैत/ शिक्षक सेवा आयोगले शनिबार १६ हजार स्थायी शिक्षक पदपूर्तिका लागि विज्ञापन गरेको छ । निर्वाचन आयोगले नतिजा प्रकाशनबाहेक अन्य सबै प्रक्रिया पूरा गर्न अनुमति दिएपछि अस्थायी शिक्षकको व्यवस्थापन गर्न आयोगले विज्ञापन गरेको हो । यसबाट २०४९ अघिदेखि अस्थायी रूपमा कार्यरत शिक्षकको व्यवस्थापन हुने भएको छ ।

शिक्षा विभागका अनुसार ०४९ अघिदेखि ०७२ असोज २ सम्म नियुक्तिपत्र लिएर २६ हजार १ सय ५१ जना अस्थायी शिक्षक कार्यरत छन् । आयोगले शनिबार १६ हजार ३ सय २६ पदका लागि मात्रै विज्ञापन गरेको छ । प्राविमा ८, निमाविमा १० र माविमा १२ जिल्ला र ०६१ देखि ०७२ सम्म रिक्त रहेको दरबन्दीको ५१ प्रतिशत खुलातर्फको विज्ञापन गर्न बाँकी रहेको आयोगका सहसचिव लक्ष्मीराम पौडेलले बताए ।
२६ हजार अस्थायीमध्ये ५० प्रतिशतले अवकाश लिन सक्ने अनुमान शिक्षा मन्त्रालयले गरेको छ । अवकाश लिने १३ हजार शिक्षकका लागि ६ अर्ब रुपैयाँ आवश्यक पर्ने भन्दै शिक्षाले अर्थ मन्त्रालयलाई जानकारी गराइसकेको छ ।
०६१ देखि ०७२ सम्मका ५१ प्रतिशत खुलातर्फको प्रावि, निमावि र मावि सबै गरी ७ हजार ५ सय हाराहारीको दरबन्दीमा प्रतिस्पर्धा गर्न मिल्छ । ‘खुलाको प्रावितर्फको विज्ञापन चाँडै गर्छौं,’ आयोगका सहसचिव लक्ष्मीराम पौडेलले भने ।
शिक्षा ऐन आठौं संशोधन असार १५ मा प्रमाणीकरण भएको एक वर्षभित्र अस्थायी शिक्षक व्यवस्थापन गर्न विज्ञापन गर्नुपर्ने व्यवस्था छ । अस्थायी शिक्षक भन्नाले कुनै तहको स्वीकृत दरबन्दीमा स्थायी नियुक्ति नलिएको शिक्षक हो ।
ऐनमा अस्थायी शिक्षकलाई तीन समूहमा विभाजन गरिएको छ । ०४९ पुस २० भन्दाअघि अस्थायी नियुक्ति पाएका, ०४९ पुस २१ देखि ०६१ साउन २१ सम्म नियुक्ति पाएका, ०६१ साउन २२ देखि ०७२ असोज २ सम्म नियुक्ति पाएका अस्थायी शिक्षकले खुला प्रतिस्पर्धामा सहभागी हुन पाउँछन् । तीनै समूहमा परेका अस्थायी शिक्षकहरू ०७३ असार १५ सम्म नियमित कार्यरत रहनुपर्ने हुन्छ । तीन समूहमध्ये ०६१ साउन २२ देखि ०७२ असोज २ सम्म रिक्त रहेको शिक्षक पदको ४९ प्रतिशत अहिले कार्यरत अस्थायी र ५१ प्रतिशतले खुला रूपमा प्रतिस्पर्धा गराइने ऐनमा व्यवस्था गरेको छ ।
पौडेलका अनुसार प्राविमा १३ हजार ६४ पदका लागि विज्ञापन गरिएको छ । त्यसमध्ये ०४९ भन्दाअघि रिक्त ९ सय ३४, ०४९ देखि ६१ सम्मका ८ हजार ४ सय ८५ र ०६१ देखि ७२ सम्मका ३ हजार ६ सय ४५ रिक्त पदका लागि विज्ञापन गरिएको हो । निमाविमा २ हजार ५ सय ५९ पदका लागि विज्ञापन गरिएको छ । त्यसमा ०४९ भन्दाअघिको ६ सय ३३, ०४९ देखि ६१ सम्मको १ हजार ७ सय र ०६१ देखि ७२ सम्म २ सय २६ पदका लागि विज्ञापन गरिएको छ । पौडेलका अनुसार माविमा ७ सय ३ पदका लागि विज्ञापन गरिएको छ । त्यसमा ०४९ अघिको १ सय २०, ०४९ देखि ०६१ सम्मको २ सय १३ र ०६१ देखि ०७२ सम्मको ३ सय ७० पद छन् ।
०४९ अघि जति जना कार्यरत छन्, त्यति नै जनाको दरबन्दीको व्यवस्था गरेर विज्ञापन गरिएको छ । उनीहरूले परीक्षामा न्यूनतम ४० अंक ल्याउनुपर्छ ।
ऐनमा अस्थायी शिक्षकलाई दुई विकल्पको व्यवस्था गरिएको छ । गोल्डेन हयान्डसेक (आकर्षक सुविधासहित बिदाइ) अथवा परीक्षा रोज्नुपर्ने हुन्छ । परीक्षा रोज्नेले गोल्डेन हयान्डसेक लिन पाउँदैनन् । विज्ञापनमा उम्मेदवार हुन दरखास्त दिने अन्तिम मितिसम्मको अवधिलाई गणना गरी अधिकतम सेवा अवधि बीस वर्ष मानिएको छ । पाँच वर्षदेखि दस वर्षसम्म सेवा गरेको शिक्षकलाई काम गरेको प्रत्येक वर्षको आधा महिनाको तलब बराबरको रकम, दस वर्षभन्दा बढी पन्ध्र वर्षसम्म सेवा गरेको शिक्षकलाई प्रत्येक वर्षको एक महिनाको तलब, पन्ध्र वर्षभन्दा बढी सेवा गरेको शिक्षकलाई प्रत्येक वर्षको डेढ महिनाको तलब बराबरको रकमसहित बिदाइ गर्ने ऐनमा व्यवस्था गरिएको छ ।
परीक्षा रोज्ने अस्थायी शिक्षकले छनोट हुन नसकेमा नतिजा प्रकाशित भएको मितिबाट स्वत: अवकाश भएको मानिने व्यवस्था छ । सुविधा लिएर अवकाश लिन चाहने शिक्षकले विज्ञापनको दरखास्त दिने ०७४ वैशाख २४ अगाडि नै सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा निवेदन दिनुपर्नेछ ।

कान्तिपुरमा मकर श्रेष्ठले लेखेको खबर ।

प्रतिक्रिया