Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
खबर/फिचर

विद्यालयलाई भ्यान, तिन बर्ष सम्म कर्मचारी सहित तेल र मर्मत सम्भारको खर्च पनि दिने

शुक्रबार, १८ चैत्र २०७३

भक्तपुर - अपांगताका कारण विद्यालय जान नसकेर पठन पाठन अवरुद्ध भएका बालबालिकालाई लक्षित गरी विद्यालयलाई भ्यान उपलब्ध गराईएको छ । भक्तपुर नगरपालिका १५ इन्द्रायणीस्थित समुदायमा आधारित पुर्नस्थापना संस्था (सीबीआर) भक्तपुरमा सञ्चालित उक्त विद्यालयलाई २५ लाख २० हजार रूपैयाँको स्कुल भ्यान हस्तान्तरण गरिएको हो । उक्त भ्यानबाट स्कुलसम्म आउन नसकेका बहुअपांगता भएका बालबालिकालाई निःशुल्क सेवा दिने सीबीआरले जनाएको छ । भ्यान नभएर विद्यालय जान नपाएका २१ जना बहुअपांगता भएका बालबालिकालाई अबदेखि विद्यालय जान सहज हुने भएको छ ।  

मद्दत नेपाल फाउण्डेशन हल्याण्डको सहयोगमा उपलब्ध गराईएको उक्त भ्यानसँगै तीन वर्षसम्मको लागि भ्यानका चालक, सहयोगी, तेल र मर्मतसम्भारमा लाग्ने  सम्पूर्ण खर्च व्यहोर्ने फाउण्डेसनका अध्यक्ष हेम्मी क्लेभिसले बताए । घर आँगनसम्म गाडी नपुग्दा सीबीआरस्थित स्कुलमा आउन नसकेका बहुअपांगता भएका बालबालिकाको सुविधाको लागि उक्त सहयोग गरिएको सुनाए । गाडी सुविधा नहुँदा धेरै अपांगता भएका बालबालिका उनीहरूको लागि खोलिएको स्कुलसम्म पुग्न नपाएको जानकारी आएपछि आफूहरूले हल्याण्डमा गाडीको लागि रकम संकलन गरेको उनले जानकारी दिए ।

एक कार्यक्रमका बिच उनले सीबीआरका उपाध्यक्ष सुरेश प्रधानलाई भ्यानको साँचो हस्तान्तरण गरे । कार्यक्रममा फाउण्डेसनकै पाउली जेरिक्सनले भूकम्पपछि नेपाल आउँदा बहुअपांगता भएका बालबालिका र उनका आमाहरूको जीवन झन् कष्टकर बनेको आफूले देखेको सुनाइन् । ‘बहुअपांगता भएका छोराछोरीलाई घरमै पाल्दै आएका आमाहरूले भोग्नुपर्ने समस्या र पीडिा भयावह छ, यसलाई व्यक्त गर्ने शब्दै छैन’, उनले भनिन्, ‘यस्ता आमाहरूको पीडा र समस्या बुझेर नै स्कुल भ्यान सहयोग गरेका हौं ।’ मद्दत नेपाल फाउण्डेसनले यसअघि करिब ३५ लाख रूपैयाँ लागतमा बहुअपांगता भएका बालबालिकाको लागि सीबीआर भक्तपुर परिसरमै स्कुल निर्माण गरिदिएको थियो ।

भक्तपुरका पर्यटन व्यवसायी चूडामणि कायस्थले मद्दत नेपाल फाउण्डेसनलाई सीबीआरको सम्पर्कमा ल्याएका हुन् । उनकै पहलमा दुई वर्षअघि सीबीआरमा बहुअपांगता भएकाहरूको लागि विद्यालय भवन बनेको छ । सीबीआरका उपाध्यक्ष सुरेश प्रधानले गाडी व्यवस्थाको लागि यस अघि सरकारी तथा गैरसरकारी धेरै निकायमा सहयोगको हात फैलाइए पनि सहयोग नपाएको गुनासो गरे ।

प्रतिक्रिया