गोरखा - जिल्लामा ‘एक विद्यालय–एक पुस्तकालय अभियान’ का साथ पूनर्निर्माणको काम अघि बढेको छ । भूकम्पले अत्यधिक क्षति पुगेको गोरखा जिल्लाका सबै विद्यालयको पूनर्निर्माणको कामसँगै अत्याधुनिक पुस्तकालय पनि बन्ने भएको हो ।
‘पुस्तकालय विद्यालयको अभिन्न अंग हो, विना पुस्तकालय विद्यालयले पूर्णता पाउन सक्तैन, त्यसैले हामीले प्रत्येक विद्यालयको पूनर्निर्माणसँगै पुस्तकालय बनाउने अभियानै थालेका छौं ।’ जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले भने । जिल्लाका सबै माध्यमिक र निम्न माध्यमिक विद्यालयको पुननिर्माणसँगै पुस्तकालय पनि बन्ने उनले बताए ।
पूनर्निर्माणसँगै बन्ने विद्यालयमा पुस्तकालयबाहेक माध्यमिक तहको विद्यालयमा विज्ञान÷गणित र अंग्रेजी विषय र सूचना प्रविधिको प्रयोगशाला, अडियोभिजुअल कक्षा पनि हुने सुवेदीले जानकारी दिए । उनका अनुसार जिल्लाका सरकारी र गैरसरकारी संस्थाहरुको लगानीमा १ सय ११ माध्यमिक र ६५ निम्न माध्यमिक विद्यालयको पुनर्निर्माणको काम तीब्र गतिमा अघि बढेको छ । ‘सबै विद्यालयको पुनर्निर्माण यही आर्थिक वर्षभित्रैबाट हुनेछ ।’ सुवेदीले भने ।
उनका अनुसार २०७२ बैशाखको भूकम्पले जिल्लाका सबै विद्यालयका भवनहरु भत्किएका थिए । जिल्लाभरका ४ सय ४९ सामुदायिक विद्यालयको १ हजार १ सय ८५ कक्षाकोठामा आंशिक ३ हजार ५२ कक्षाकोठा पूर्ण रुपमा क्षतिग्रस्त भएका थिए । प्राथमिक, निम्न माध्यमिक र माध्यमिक गरि हालसम्म ६० विद्यालयको भवन बनिसकेका छन् । ती सबैजसो विद्यालयको भवन गैरसरकारी संस्थाहरुको लगानीमा भएको हो ।
सरकारी लगानीबाट भने ९९ विद्यालयका भवनहरु बन्न लागेका सुवेदीको भनाइ छ । शिक्षा विभागको अनुदानमा यो आर्थिक प्रतिकक्षा कोठा १२ देखि १५ लाख रुपैयाँ खर्च गर्ने गरि ९९ विद्यालयका ९९ वटा भवन बन्न लागेका हुन् । जसअनुसार २ कोठे भवन २८ वटा, ३ कोठे १७ वटा, ४ कोठे १४, ६ कोठे १६ र २४ वटा ८ कोठे भवन बन्ने भएका हुन् ।
प्रतिक्रिया