Edukhabar
आइतबार, ०७ पुस २०८१
खबर/फिचर

शिक्षकको राजिनामा बढ्दो, स्थानीय चुनावमा उम्मेद्वार हुने मोह

विहीबार, १७ चैत्र २०७३

काठमाडौं - स्थानीय तहको चुनावको सरगर्मी बढेको छ । आउँदो वैशाख ३१ गते हुने चुनावको विषयले अहिले जिल्ला–जिल्लाका सबै नगर, गाउँपालिकाका टोलटोल र बस्तीबस्तीमा स्थान पाउन थालेको छ ।

चियापसल, किराना पसल, तरकारी पसलमा होस् या मेलापात, सार्वजनिक सवारी साधनमा यात्रा गर्दा होस् या दुईचार जना भेट भएको अवस्था होस्,  प्रायः चुनावकै विषयमा चर्चा / परिचर्चा भएको देख्न/सुन्न सकिन्छ । लामो समयदेखि हुन नसकेको चुनावप्रति स्थायी शिक्षकको पनि आर्कषण बढेको छ ।

शिक्षकले राजनीति गरेको कारण सार्वजनिक शिक्षा बिग्रियो भन्ने आरोप सेलाउन नपाउँदै अबको डेढ महिनामा हुने चुनावमा शिक्षकले सामान्य समर्थकका रुपमा मात्र नभएर उम्मेदवारसम्म बन्ने आकांक्षा गरेको विभिन्न जिल्लाका जिशिअहरुले जानकारी दिएका छन् ।

जाजरकोटका जिशिअ ललितविक्रम सिंहले पार्टीमा आवद्ध भएका शिक्षकहरुलाई पार्टी वा शिक्षण पेशामध्ये एक रोज्न निर्देशनै दिएको बताउँदै चुनाव घोषणापछि मात्र आधा दर्जन शिक्षकको राजिनामा स्वीकृत भइसकेको जनाउँदै अझ राजिनामा आउने क्रम जारी रहेको बताए ।

‘शिक्षकमा पनि उम्मेदवार बन्ने मोह बढेको छ, यसहिसाबले राजिनामा आउने क्रम जारी नै छ’ उनले भने, ‘शिक्षकले इच्छा गरेको छ तर मतदाताले भने स्वीकार नगरेको अवस्था पनि छ, स्कुलसमेत बिगार्ने शिक्षकलाई के भोट दिनु र भन्न थालेका छन् ।’

मतदाताहरुबाट त्यस किसिमको आरोप आए पनि अन्य जिल्लामा पनि गाउँपालिका, नगरपालिकामा क्रमशः अध्यक्ष, मेयर लगायतमा आकांक्षी बनेर भटाभट राजिनामा दिन थालेको जिशिअहरु बताउँछन् । पाल्पाका सहायक जिल्ला शिक्षा अधिकारी महेन्द्र सुवेदीले हालसम्ममा २ जनाको राजिनामा आएको र अझ ६÷७ जनाको आउन सक्ने सम्भावना रहेको बताए भने नुवाकोटका जिशिअ चन्द्रबहादुर खड्काले पनि दुई दर्जन शिक्षकबाट राजिनामा आउने सम्भावना रहेको बताए ।

उनले नुवाकोटका शिक्षक भने आफू आवद्ध पार्टीले टिकट दिए राजिनामा गर्ने, अन्यथा राजिनामा नदिने मनसायमा रहेको आफूले बुझेको बताए । गोरखाका जिशिअ दीपेन्द्र सुवेदीले पनि शिक्षकबाट राजिनामाको सम्भावना देखेका छन् । उनले गोरखाका प्रतिष्ठित शिक्षकलाई पार्टीले विभिन्न पदमा प्रस्ताव गरेको आफूसँग जानकारी भएको बताउँदै गोरखाबाट करिब दर्जन शिक्षकको राजिनामा आउन सक्ने अनुमान गरे ।

यता कालिकोटका जिल्ला शिक्षा अधिकारी विष्णु तिवारीले भने तीन जनाको राजिनामा भैसकेको बताउँदै विभिन्न दलले आफू निकट शिक्षकबाट आएका राजिनामा स्वीकृत गर्न दबाब समेत आएको बताए । ‘शिक्षकबाट राजिनामा आइरहेको छ, तर राजिनामाको प्रक्रिया भने पूरा गरेको छैन, त्यसो भए पनि दलहरुले भने राजिनामा स्वीकृत गरिदिनुपर्यो भनेर फोन गर्न थालेका छन् ।’ उनले भने ।

उनले शिक्षकबाट राजिनामा आएपनि जिशिअसामु आएर सही नगरेको कारण राजिनामा स्वीकृत नगरेको जनाए ।

प्रतिक्रिया