Edukhabar
विहीबार, ०३ असोज २०८१
विचार / विमर्श

विनाशकारी भूकम्पले निम्त्याएको महाविपत्ति तथा आपत्कालीन शिक्षाको आवश्यकता

आइतबार, २४ जेठ २०७२

१.१. सन्र्दभ

२०७२ साल वैशाख १२ गते गोरखाको वारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्प र त्यसपछि गएका विभिन्न पराकम्पनहरूले आज देशका ४४ भन्दा बढी जिल्लाहरूलाई प्रभावित गरेको छ । यस विनाशकारी भूकम्पले आठ हजार भन्दा बढी मानिसहरूको ज्यान लिइ सकेको छ भने लाखौं व्यक्तिहरूलाई घरवारविहीन बनाएको छ । यसै गरी हजारौँ विद्यालयहरूको  विद्यालय भबन तथा अन्य भौतिक संरचनाहरूलाई तहसनहस पारेको छ, शिक्षक तथा विद्यार्थीहरूको ज्यान लिएको छ । यसरी यस भूकम्पले जीउ धनको हानी गर्नुका साथै व्यक्तिमा डर, त्रास तथा मनोवैज्ञानिक तनावसमेत सिर्जना गरेको छ ।

भूकम्पले समाजका हरेक क्षेत्रमा ठुलो र दीर्घकालीन असरसमेत पारेको छ । शिक्षक तथा शिक्षा क्षेत्रमा काम गर्ने हरेक व्यक्तिका लागि यसले निम्नानुसारका क्षेत्रमा पु¥याएको क्षतिको लेखाजोखा गरी त्यसले पार्ने असरका बारेमा सचेत हुन आवश्यक हुन्छ ।

१.१.१ बाल बालिकाहरूमा पारेको असर

भूकम्पले बाल बालिकाहरूको मानसिक अवस्थालाई कमजोर बनाइ दिएको हुन्छ । उनीहरू अन्य अवस्थामा भन्दा  सामान्य हुन्छन् । उनीहरूमा डर, त्रास बढ्न जान्छ । खास गरेर बाल बालिकाहरु एक्लै हुँदा उनीहरू सानो कुराले पनि झस्किने, घरभित्र पस्न डराउने, एक्लै बस्न डराउने जस्ता समस्याहरू हुन्छन् । कैयन बाल बालिकाहरूले त आफ्नो बावुआमा वा परिवारका अन्य सदस्यलाई गुमाएको अवस्था हुन सक्छ । कैयन आफन्तहरू घाइते भएका हुन सक्छन् । यस्ता घटनाहरूले उनीहरूमा अन्यौल हुने र अति नै प्रभाव परेमा मानसिक तनाव सिर्जना भएको हुन सक्छ । यस अवस्थालाई पहिचान गरी शिक्षकले उपयुक्त किसिमले उनीहरूप्रति व्यवहार गर्नु आवश्यक हुन्छ ।

विपत्को समयमा पोसिलो खाना, उचित रेखदेख, स्वच्छ पानी र समयमा खाना प्राप्त नहुदा बालिकाहरूको वृद्धि र विकासको उपयुक्त अवसरबाट बञ्चित गरिदिन्छ । बाल बालिकाको घर परिवारमा पारेको नराम्रो असरले गर्दा उनीहरूको गास, बास, लत्ताकपडा, स्वास्थ्य, शिक्षा तथा सुरक्षा जस्ता आधारभूत आवश्यकताहरूमा समेत नराम्रो असर पारेको छ ।

१.१.२. शैक्षिक प्रणालीमा पारेको असर

भूकम्पले शैक्षिक प्रणालीमा पनि ठुलो क्षति पु¥याएको छ । कैयन शिक्षक, विद्यार्थीहरूको ज्यान लिएको छ भने कैयन बाल बालिकाहरूलाई परिवार विहीन बनाएको छ । विद्यालय भवनहरू, शौचालय, खानेपानी भत्किएको हुन सक्छ, विद्यालको खेल मैदानमा भूक्षय भएको हुन सक्छ । विद्यालय भवन भत्किदा फर्निचर, पुस्तकहरू तथा अन्य शैक्षिक सामग्रीहरू पुरिएर नष्ट भएको हुन सक्छ । यस्तो क्षतिले विद्यालयलाई तत्काल विद्यालय सञ्चालनमा ल्याउन समस्या पर्नुका साथै लामो समयसम्म असर पु¥याउँछ । साथै बिद्यालय भवन नै समुदायले प्रयोग गरी राखेको हुनसक्छ । विद्यालयमा भएका पछिसम्म आवश्यक पर्ने विभिन्न रेकर्डहरू नोक्सान हुन सक्छन् ।

विद्यालय सञ्चालनमा सहयोग गर्ने जिल्ला शिक्षा कार्यालय, शैक्षिक तालिम केन्द्र जस्ता विभिन्न सरकारी निकाय तथा अन्य गैर सरकारी/सामुदायिक सङ्घ संस्थामा भएको क्षतिले शैक्षिक प्रणालीमा असर पारेको छ ।

१.१.३. समुदायमा पारेको असर

भूकम्पले समुदायमा पनि निकै ठुलो क्षति गरेको हुन्छ । मठमन्दिर, बाटोघाटो, सडक, पुल जस्ता सामुदायिक सम्पत्तिहरूको तहसनहस गर्नुका साथै मानवीय क्षति समेत पु¥याएको हुन्छ । अर्कोतर्फ घर, गोठ भत्किने, अन्न, लुगाफाटाहरू पुरिने जस्ता कारणले गर्दा समुदायका विभिन्न परिवारहरू घरवारविहीन हुने स्थिति आउँछ । अर्कोतर्फ खानेपानी, विद्युत, टेलिफोन जस्ता सेवाहरूको आपूर्तिमा अवरोध पैदाहुन्छ । खानेपानीको राम्रो प्रबन्ध नहुने, फोहरमैलाको उचित व्यवस्थापन नहुने, भग्नावशेषमा पुरिएका मानिसको लास तथा अन्य जनावरहरूले वातावरण दुषित हुने जस्ता कारणले झाडापखाला, हैजा, टाइफाइड जस्ता सरुवा रोगहरूको महामारी फैलने सम्भावना अधिक हुन्छ । यसरि भूकम्पले दैनिक जीवन निर्वाहमा समेत कठिनाइ पैदा गरेको हुन्छ । यस्तो अवस्थामा सामुदायिक एकता र सहयोग, पिडित परिवारहरूका लागि राहत र पुनःनिर्माणमा सहयोग आवश्यक पर्दछ । तसर्थ यस्तो परिस्थितिमा अरुको टिप्पणि र आलोचना गर्ने, सरकारको मात्र मुख ताक्ने भन्दा पनि सबैले
आआफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नु मानवीय धर्म र हामी सबैको कर्तव्य हुन आउँछ ।

१.१.४ सीमान्तकृत (विपन्न, कमजोर तथा जोखिमयुक्त अवस्थामा रहेका) वर्गमा पारेको असर

भूकम्प जस्तो प्राकृतिक विपत्तिले सबैलाई क्षति पु¥याउने भएता पनि टुहुरा तथा अपाङ्ग बाल बालिका, अशक्त, वृद्ध, सुत्केरी महिला, अति विपन्न जस्ता समाजका सीमान्तकृत वर्गका मानिसहरू अझ जोखिमयुक्त अवस्थामा रहेका हुन्छन् । सामान्य अवस्थामा समेत अरुको सहयोग र साहरा आवश्यक पर्ने यस्ता व्यक्तिहरूलाई प्राकृतिक विपत्को अवस्थामा अझबढी सहयोग र सहाराको आवश्यकता हुन्छ ।

यस किसिमको महाविपत्तिको अवस्थामा मानिसहरू गास, बास र औषधोपचारको कुरालाई प्रमुख महत्त्व दिने हुनाले विद्यालय खोली सञ्चालन गर्ने कुरा कम महत्त्वमा पर्न सक्ने हुन्छ । तर गास, बास, औषधोपचार जस्तै शिक्षा पनि आधारभूत आवश्यकता भएको र विपत्को अवस्थामासमेत विद्यालय सञ्चालन गर्नु अत्यावश्यक हुन्छ । तसर्थ शिक्षकहरूले विद्यालयसँग नजिकबाट सरोकार राख्ने सरोकारवालाहरू विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, अभिभावक तथा माथिल्लो कक्षामा अध्ययन गर्ने विद्यार्थीहरूसँग बसी छलफल गरी यस्तो अवस्थामा विद्यालय खोल्नुपर्ने औचित्य पुष्टि गर्दै यथासक्दो छिटो विद्यालय सञ्चालनमा ल्याउन विशेष पहल गर्नु जरुरी हुन्छ ।

विद्यालय सञ्चालन गर्नु पूर्व भूकम्पले विद्यालयको भवन तथा अन्य संरचनामा के कस्तो क्षति गरेको छ ? यस्तो संरचनामा कक्षा सञ्चालन गर्न सुरक्षाको दृष्टिले उपयुक्त छ छैन ? अवस्थाको विश्लेषण गरेर आवश्यक देखिएमा प्राविधिकहरूबाट समेत अवलोकन गराइ क्षतिको लेखाजोखा गरी अभिलेख राख्नु पर्छ । यस्तो अभिलेख माथिल्लो निकायहरूमा सूचित गर्न, भूकम्प पछिको पुर्ननिर्माणको आवश्यकता पहिचान गरी योजना निर्माण गर्न र सहयोग जुटाउनका लागि उपयोगी हुन्छ ।

यसरी अवस्थाको विश्लेषण र क्षतिको लेखाजोखा गरी सकेपछि विद्यमान विद्यालय भवनमा कक्षा सञ्चालन गर्ने अवस्था भए नभएको यकिन गरी सुरक्षाको प्रत्याभूति हुने गरी आवश्यक निर्णय लिनुपर्दछ । विद्यमान भवनमा कक्षा सञ्चालन गर्न सक्ने स्थिति नदेखिएमा सुरक्षित स्थलको छनौट गरी अस्थायी टहरा वा पालको व्यवस्था गरी कक्षा सञ्चालन गर्नु पर्छ । यसरी अस्थायी रूपमा कक्षा सञ्चालन गर्न सुरक्षित स्थलको छनौट गर्दा निम्नानुसारका कुराहरूलाइ ध्यान दिनुपर्ने हुन्छ :

- भत्किएको भवन वा अन्य संरचनादेखि केही टाढा हुनुपर्छ ताकि भग्नावशेषहरूले बाल बालिकालाई कुनै क्षति नपु¥याओस् । यदि यस्तो स्थान उपलव्ध हुने अवस्था नदेखिएमा भग्नावशेषहरूलाई हटाएर सुरक्षाको प्रत्याभुति गरी ठाउँको व्यवस्था गर्नुपर्छ,

- भूकम्पले जमिन हल्लिएर कमजोर हुने भएकोले बाढी पहिरो जाने सम्भावनाहरू ज्यादा हुन्छ तसर्थ यस्ता प्राकृतिक दुर्घटना हुने सम्भावना कम देखिएको ठाउँ हुनुपर्छ,

- बाल बालिकाहरू उक्त स्थानमा सजिलै पुग्न सक्ने र बाटोमा जोखिम न्यून भएको स्थान हुनुपर्छ,

- बाल बालिकाहरू खेल्दा चोट लाग्न सक्ने भएकोले सफा चउर भएमा राम्रो हुन्छ,

- बाल बालिकाको सङ्ख्याको अनुपातमा उनीहरूलाई खेल्न र विभिन्न कार्यकलापहरू गराउनका लागि फराकिलो जमिन हुनुपर्छ

माथि उल्लिखित कुरा शिक्षकहरूको लागि ठुलो चुनौतीको विषय पनि हो । यो चुनौतीलाई कुशलतापूर्वक सामना गरी विद्यालयहरू सञ्चालन गरी स्थितिलाई सामान्यीकरण गर्दै जानु शिक्षकको दायित्वसमेत हो । आपत्कालमा विद्यालय सञ्चालन गर्दा अनुसूची ३ मा उल्लिखित आपत्कालीन शिक्षाको लागि गुणस्तरीयताको न्यूनतम् मापदण्ड समेत विचार पु¥याउनु आवश्यक हुन्छ ।

१.२. विनाशकारी भूकम्पले निम्त्याएको यस विपत्को घडीमा विद्यालय खोल्नु किन आवश्यक छ ?

ड्ड भूकम्पको कारणले बाल बालिकाहरूमा ल्याएको त्रास र डरलाई हटाई यसबाट मानसिकरूपमा पर्न सक्ने दीर्घकालीन असरबाट मुक्त गर्न विद्यालय सञ्चालन गर्नु आवश्यक हुन्छ । विद्यालयमा मनोरञ्जनात्मक तरिकाले गराइने विभिन्न कार्यकलाप तथा खेलहरूले विद्यार्थीहरूलाई भूकम्पको पीडालाई भुलाई डर र त्रास बाट मुक्त गर्न मद्दत गर्दछ । विद्यालय सञ्चालन भएपछि बाल बालिकाहरू आफ्ना साथीभाईसँग भेटघाट हुन्छ र आफ्ना अनुभव तथा पीडाहरू एकअर्कामा आदानप्रदान गर्ने अवसर प्राप्त गर्दछन् जसले गर्दा उनीहरूको मानसिक बोझ कम हुन्छ ।

ड्डविपत्को अवस्थामा आइ पर्न सक्ने विभिन्न स्वास्थ्य समस्या, महामारी, दुर्घटना जस्ता कुराहरूबाट बच्ने विभिन्न सुरक्षाका उपायहरूका बारेमा सजग गराइ उनीहरूलाई यस्तो जोखिमबाट बचाउनसमेत विद्यालय सञ्चालन गर्न जरुरी हुन्छ । जीवन निर्वाह गर्ने र जीवन बचाउने शिक्षा आपत्कालमा बाल बालिकाहरूको लागि अत्यावश्यक हुन्छ ।

ड्ड आपत्कालीन अवस्थामा मुख्यतः शिक्षक, अभिभावकहरू तथा केही बाल बालिकाहरू अरू सामान्य भन्दा फरक अवस्थामा रहेका हुन्छन् । आफ्नो नियमित कामकाजमा सहभागी हुन सकेका हुँदैनन् । यस्तो अवस्था लामो समयसम्म रहनु कुनै पनि दृष्टिकोणले राम्रो मान्न सकिन्न । तसर्थ आपत्कालीन अवस्थामा विद्यालय सञ्चालन गरेर यस्तो अवस्थालाई सामान्यीकरणतर्फ उन्मुख गराउन अति आवश्यक हुन्छ ।

ड्ड आपत्कालमा समेत शिक्षा पाउने बाल बालिकाहरूको मौलिक हक हो । अन्तर्राष्ट्रिय मानवीय कानुनले समेत आपत्कालमा शिक्षा पाउने बाल बालिकाको अधिकारलाई जोड दिएको छ । तर आपत्कालमा अक्सर बाल बालिकाहरू यस्तो हकबाट बञ्चित हुने गर्दछन् । तसर्थ आपत्कालमा पनि बाल बालिकाको यस मौलिकहकको रक्षा गर्नसमेत विद्यालयलाई यथासक्दो छिटो विद्यालय सञ्चालनमा ल्याउनुपर्छ ।

- आपत्कालमा समेत बाल बालिकाहरूको उमेर र शारीरिक विकास हुने भएकाले उनीहरूको बौद्धिक विकासको अवसरबाट बञ्चित गर्नु न्यायोचित हुँदैन ।

- शिक्षा समुदायको समेत प्राथमिकताको विषय हो । यसले विपत्को समयमा समेत आपसी सहयोग र सामाजिक एकतालाई मजबुत बनाउन सहयोग गर्दछ । अभिभावकहरू आफ्ना बच्चाको पठन पाठनमा अवरोध आओस भनी कदापि चाहँदैनन् । तर पनि विपत्को अवस्थामा आफूबाट टाढा हुँदा उनीहरूलाई केही भैहाल्छ कि भन्ने डरले आफ्ना बालबच्चालाई विद्यालय पठाउन अक्सर हिचकिचाउने गर्दछन् । तसर्थ बाल बालिकाहरूको सुरक्षामा विशेष ध्यान पु¥याइ अभिभावकहरूलाई पनि यस कुरामा ढुक्क गाराइ विद्यालय सञ्चालनमा ल्याउनु आवश्यक हुन्छ ।

- विपत्को अवस्थामा सृजित असहज परिस्थितिबाट बाल बालिकाहरूलाई मुक्त गर्नसमेत विद्यालय सञ्चालनमा ल्याएर उनीहरूलाई सहयोग गर्नु जरुरी हुन्छ ।

- आपत्कालीन अवस्थामा बाल बालिकाहरूलाई विभिन्न बहानामा परिवारदेखि अलग गरी अन्यत्र लैजाने, बालश्रम तथा अन्य आपराधिक कार्यमा संलग्न गराउने, लागु पदार्थको दुव्र्यसनमा फस्न सक्ने जोखिमसमेत हुने भएकोले यस्तो जोखिमलाई न्युन गर्न विद्यालय सञ्चालन गरी उनीहरूलाई विद्यालयमा भुलाइ राख्नु आवश्यक हुन्छ ।

- विपत्को कारण बाल बालिकाहरूले बिचैमा विद्यालय छाड्ने सम्भावना ज्यादा हुने भएकोले यस्तो सम्भावनालाई न्यून गरी उनीहरूको विद्यालय आउने व्रmमलाई निरन्तरता प्रदान गर्न पनि विद्यालय सञ्चालनमा ल्याउनु जरुरी हुन्छ ।

- विद्यालय नियमित सञ्चालन हुँदा विद्यार्थीहरूले विद्यालय आएर केही न केही सिक्ने अवसर पाउँन र परिवारलाई समेत पुनःस्थापनको र अन्य कार्यमा लाग्न सहज हुने भएकाले पनि विद्यालय यथासक्दो छिटो सञ्चालनमा ल्याउनुपर्छ ।

- विपत्तिपछि समयमै विद्यालय सञ्चालन गरिदा तोकिएको समयमै शैक्षिक सत्र पुरा गर्न सकिन्छ र विद्यार्थीको समय पनि खेर जादैन ।

- विद्यालय सञ्चालन नभएर निरन्तर घर वा आश्रयस्थलमा रहदा बाल बालिकाहरू निस्क्रिय रहेर अल्छी बन्दै जान्छन् । निरन्तर फुर्सद पाउँदा आफ्नो भविश्यका बारेमा सोच बिचार गर्न नसक्ने बाल बालिका कुलत र कुमार्गमा पनि लाग्न सक्ने भएकाले उनीहरूलाई नियमित विद्यालयमा पठाउनु जरूरी छ ।

साभार : शैक्षिक जनशक्ति विकास केन्द्रले प्रकाशित गरेको पुस्तिका शिक्षालयहरुको व्यवस्थापन, शिक्षकहरुका लागि स्वाध्ययन सामग्री बाट । भूकम्प पछिको अवस्थामा विद्यालय सञ्चालन गर्दा शिक्षक, विद्यार्थी तथा अभिभावकले खेल्नु पर्ने भूमिका, अपनाउनु पर्ने काईदा र सिक्नु पर्ने कुराहरु समेटिएको पुस्तिकाका अन्य भागहरु हामी क्रमैसंग प्रकाशन गर्ने छौं – स.

प्रतिक्रिया