Edukhabar
शनिबार, ०८ मंसिर २०८१
खबर/फिचर

मन्त्रालय र विभागसँग शिक्षक सेवा आयोगको असन्तुष्टि, आयोग खोल्न छलफल तिव्र

मंगलबार, १५ चैत्र २०७३

भक्तपुर - शिक्षा मन्त्रालय र विभाग कै कारण आयोग खोल्ने काम धकेलिएर आफ्नो छवि समेत धमिलो भएको भन्दै शिक्षक सेवा आयोगले दुवै निकायसँग असन्तुष्टि जनाएको छ । संशोधित शिक्षा ऐनमा अस्थायी शिक्षकका लागि विशेष ब्यवस्था भएको र त्यसका लागि आयोग खोलेर ब्यवस्थापन गर्नु पर्ने भए पनि ऐन जारी भएको १० महिना सम्म मन्त्रालय र विभागले कुरो नटुङ्ग्याएर अन्यौल बढाएको भन्दै आयोगले असन्तुष्टि जनाएको हो । विभागले अझै पनि विभिन्न १७ जिल्लाको शिक्षक पदसंख्या उपलब्ध नगराएकोमा आयोगका पदाधिकारी असन्तुष्ट छन् ।

मंगलबार शिक्षा मन्त्री धनिराम पौडेल सहित मन्त्रालयका सचिव र सहसचिवहरुसँग आयोगका पदाधिकारीले छलफल गरेका छन् । उक्त छलफलमा पनि लागू भएको ऐन कार्यान्वयन गर्न के कारणले नसकिएको हो स्पष्ट नहुँदा आयोगकै छविमा आँच आएको भन्दै आयोगका पदाधिकारीले मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

'मन्त्री सहित सचिव र सहसचिवहरुसँग छलफल त भयो, आयोग खोल्न आवश्यक तयारीका बारेमा हाम्रा कुरा राख्यौं, मन्त्रीजीले कुरा सुन्नु भयो अनी शिक्षामा सुधार गर्नु पर्छ भन्दै औपचारिक धारणा राख्नु भयो' आयोग श्रोतले भन्यो, 'मन्त्रालय र विभागलाई के कुराले अड्काएको हो हामीले बुझ्नै सकेनौं ।'

ऐनमा अस्थायी शिक्षकका लागि गोल्डेन ह्याण्डसेक रोज्ने की आयोगै लड्ने भन्ने विकल्प उल्लेख छ । गोल्डेन ह्याण्डसेक बुझ्ने शिक्षकले पाउने सुविधा पनि ऐनमै उल्लेख छ । स्वेच्छिक अवकासमा जाने की परीक्षा रोज्ने भन्ने छनौट गर्न अस्थायी शिक्षक स्वतन्त्र छन् । तर विभागले अहिले सम्म  पनि विभिन्न १७ जिल्लाको शिक्षक पदसंख्या उपलब्ध नगराउँदा समस्या भएको आयोगको भनाई छ ।

' हामी आयोग खोल्ने तयारी गरौंला तर मन्त्रालय र विभागले यसै गरी विवरण नदेलान् भनेर मन्त्री कै तहमा छलफल तिब्र बनाईएको हो' आयोगका एक पदाधिकारीले भने ।

विभागले अहिले सम्म पनि प्रावि तहमा १३, निमाविमा १५ र माविमा १७ जिल्लाको विवरण आयोगलाई दिएको छैन । ईलाम, सप्तरी, सिराह, रामेछाप, धनुषा, सर्लाही, भक्तपुर, बारा, पर्सा, मुगु, जाजरकोट, सुर्खेत र डडेल्धुराको प्रावि तहको बिवरण विभागबाट प्राप्त नभएको आयोग श्रोतले जनाएको छ । निमाविमा यी सहित बझाङ् र अछाम गरी १५ जिल्ला र मावि तहमा उल्लेखित दुबै सहित थप पाल्पा र गुल्मिको बिवरण प्राप्त नभएको आगोगले जनाएको छ ।

आयोगले विभिन्न निकायसँग छलफल र परामर्श तिब्र पारेको अध्यक्ष ताना गौतमले बताए ।

'आयोगको त कामै विज्ञापन गर्ने र परीक्षा लिने हो हामी हाम्रो कामका लागि सँधै तयारी हालतमा हुन्छौं तर त्यस भन्दा अघि सम्बन्धित निकायले गर्नु पर्ने तयारी सम्पन्न हुनु पर्यो' गौतमले भने 'हामीले आन्तरिक तयारी तिब्र बनाएका छौं ।'

निर्वाचनको मिति घोषणा भईसकेको सन्दर्भमा आयोग खोल्न हुने नहुने चर्चा परिचर्चा भएपछि आफूहरुले आयोगसँग पनि परामर्श गरेको गौतमले बताए । तत्कालै आयोग खोले पनि अन्तर्वार्ता र छनौटको काम चुनाव पछि मात्रै हुने भनेपछि निर्वाचन आयोगले प्रकृयागत कार्य रोक्नु नपर्ने राय दिएको उनले बताए । 

प्रतिक्रिया