Edukhabar
बुधबार, १९ मंसिर २०८१
विचार / विमर्श

परीक्षा देखि नतिजा हुदै उपल्लो कक्षाको प्रवेशसम्म

आइतबार, १३ चैत्र २०७३

यो साता एसर्ईई परीक्षा समापन हुँदै छ  । शिक्षा मन्त्रालयका सबै संयत्र यही परीक्षामा प्रयोग गरिरहेको छ । सुरक्षाकमर्मी प्रहरी, प्रमुख जिल्ला अधिकारी र अनुसन्धान तर्फका व्यक्तिहरु समेत यो परीक्षामा सक्रिय भै संलग्न छन् । साविककको एसएलसी रुपान्तरित भई एसईई भनिएतापनि विधि र व्यवहारमा फरक छैन । पत्रकार, अभिभावक, राजनीतिकर्मीहरु सबैको ध्याना केन्द्रित गर्न सफल छ यो परीक्षा । एउटा महत्वपूर्ण पक्ष भनेको नतिजा लेटर ग्रेडमा दिने र कक्षा ११ मा भर्ना सहज हुनसक्ने भएकाले गतबर्ष देखि यो परीक्षाको क्रेज घटेको यथार्थ भने स्वीकार्नै पर्छ ।

विषयगत ग्रेडको आधारमा माथिल्लो कक्षाको भर्ना विषय तोकिएकोले राम्रो ग्रेड ल्याउनेले चाहेको विषय पढ्न पाउने र कमजोर ग्रेड हुनेले स्कुलले तोकेको विषय पढ्न पाउने अवस्था बनेको छ । यसरी सहज बनेको कक्षा दशको यो परीक्षामा पनि विगत झैंं अमर्यादित भएको, चोरी भएको, बोरा का बोरा चीट, कापी, किताब संकलन गरिएको, केन्द्राध्यक्ष सहित निरीक्षकहरु कारवाहीमा परेको जस्ता समाचार बाहिर आउनु थप लज्जास्पद र बुझाईमा गम्भीरता नभएको सावित हुन्छ ।

तत्कालिन एसएलसीमा जस्तो परीक्षा केन्द्रमा मेला लाग्ने संस्कार नहट्नुलाई अझैपनि परीक्षाको मर्म र महत्व आत्मसात नगरेकै हो भन्न सकिन्छ । के तराई, के पहाड र के राजधानी ! सबै जिल्ला कलंकित बनेका छन् । विधि र शैली फरक छ तर परीक्षाको सिधै चिरहरण गरिएको छ । पहिलो जिम्मेवार पक्ष त शिक्षक नै हुने भएकोले परिवर्तित सन्दर्भमा परीक्षाको वास्तविकतालाई स्पष्ट बनाउने काम शिक्षकबाटै प्रारम्भ हुनुपर्छ ।

शिक्षा प्रशासन मुकदर्शक बन्ने र अझ लोभलालच देखाएर परीक्षाबाट आयआर्जनको सपना देख्ने विगतको प्रवृतिले केही जिल्लाहरु अझै कलंकित बनेको मिडियाले सिद्ध गरेको छ । परीक्षा अत्यन्त संवेदनशील पक्ष भएकाले यसका सम्झौताको कुनै गुञ्जायस रहनुहुदैन । बढिमा छ महिना जेल र एकलाख सम्म दण्डको चर्चा उठाइए पनि हालसम्म यो तहका दोष कसैले पाएको समाचार छैन । शिक्षक भए निलम्वन वा त्यो परीक्षाबाट बाहिरिएपछि सबै अपराध मिनाहा बन्ने अरुको हकमा कागज गरेर एक पटकलाई छुट हुने तर यस्ता पटकको ख्याल कसैले नगर्ने जस्ता संस्कार जुन दण्डहिनताका नामले लिइन्छ यो परिवर्तन हुनु जरुरी छ ।

परीक्षाको नाम मात्र फेरेर हैन, कतिपय विधि शैली पनि परिमार्जन गर्दै अव्यवहारिक बनेका अप्रभावकारी हुने तरिकालाई परिवर्तन गर्नैपर्छ । प्रश्न निर्माणमै सोच्न जरुरी छ । एकै खाले प्रश्न विगतका बर्षसंग उस्तै मेल खाने गरी झारा टारेको भन्नै पर्छ । परीक्षार्थीबाट रचनात्मक एवम् सृजनात्मक जवाफ लिने र विद्यार्थीको ज्ञानको दायरा परीक्षण गर्ने स्तरको प्रश्न निर्माण गरिनुपर्छ । गएका तिन बर्षको प्रश्न हेरेर मिसमास पारी तयारी जवाफ खोजिनु भनेको परीक्षा प्रतिको गैरजिम्मेवार प्रवृति नै हो ।

परीक्षाको सफ्टवेयर मात्र राम्रो देखाएर मात्र हुँदैन, हार्डवेयरको पाटो विद्यार्थीको भविष्यसंग जोडिएको हुनाले तोकिएको ज्ञान र सीपको परीक्षण विधिका व्यापक फेरबदल आजको आवश्यकता हो । परीक्षा केन्द्रको मर्यादा, होमसेण्टर नदिनु, परीक्षामा चोरीको रत्ति पनि गुञ्जायस नहुनु यसका राम्रा पक्ष हुन् । संगै असल संस्कारको बानी बसाउनुपर्छ । विग्रेका र खराव कुराहरु बदल्नै पर्छ । हिजोकाले विरालो बाँधेर श्राद्ध गरे भन्दैमा आज श्राद्धमा विरालो खोज्न हिंड्ने प्रवृत्ति राम्रो हुँदैन । विगतका राम्रा अभ्यासलाई स्कुल र शिक्षा कार्यालयले निरन्तरता दिने हो । तर, सबैकुरा गत बर्षकै साटेर गर्ने हो भने शैक्षिक प्रशासन मात्र रोबोट जस्तो हुन्छ त्यो मेशिनरी विधिमा परिवर्तन हुनु जरुरी छ । यसबर्ष भएका कमजोरीलाई समिक्षा गरेर बुँदा टिपी अर्को परीक्षामा सुधारको लागि नोट गरेर राख्नुपर्छ । जतिखेर परीक्षा आउँछ त्यतिबेला नै गतबर्षको परीक्षा केद्र, केन्द्राध्यक्ष तोक्ने शैली, सञ्चालन विधि यी सबै कपी पेष्ट गर्ने चलन अझै नहट्नु थप दुर्भाग्य मान्नुपर्छ ।

राम्रो गर्न जति प्रयत्न भएपनि केही न केही कमजोरी हुन्छन् नै । मात्रा फरक हुनसक्छ, ती सुधार गर्नुपर्ने पक्षलाई समय छँदै सुधारका पहल भएमात्र आगामी बर्ष थप उन्नत गर्न सकिन्छ । अन्यथा छेपाराको कथाजस्तो हाम्रो शैली हामीलाई नै कमजोर बनाउँदै अधोगति तर्फ धकेल्ने तथ्यमा शंका छैन । संस्थागत विद्यालयका विद्यार्थीलाई अलग राखेर आर्थिक चलखेल भएका समाचार छिपेका छैनन् । यो आपत्तिजनक र विकृति पक्ष हो । यस्ता कुरामा जिम्मवोर पक्षले दर्शक वा पर्यटकको मात्र भूमिकाबाट माथि उठ्नै पर्छ । परीक्षार्थी व्यवस्थापन र केन्द्रनिर्धारण भित्र विसंगति र विकृतिले जरो गाडेको तथ्य बाहिर आएको छ । यस्ता सवाल यो बेलामा सुन्नेमात्र हैन । त्यस्तो निराकरणको योजना हुनुपर्छ । तब यो आउँदो बर्ष प्रभावकारी बन्न सक्छ ।

अर्को महत्वपूर्ण सवाल भनेको उत्तरपुस्तिका परीक्षणसंग जोडिएको हुन्छ । यो सबैभन्दा संवेदनशील सवाल हो । विषयगत शिक्षकबाट परीक्षण नहुनु, विषयगत प्रश्नमा परीक्षकले जवाफ नै नपढी औसत अंक दिने प्रवृति हुनु, हतारमा गर्नु, पूरा उत्तर पढेर सही मार्किङ गर्ने संस्कार नहुनु, अंक जोड्दा गम्भीर नहुनु, कपी संख्या बढाउने तिर मात्र परीक्षक लाग्नु, यस्ता त्रुटीबाट विद्यार्थीको भविष्य बर्षैपिच्छे खेलवाड भएकै छ । यो गम्भीर अपराधको दण्डको कुरा हुन्छ, नीति विधि एकातिर, व्यवहार विपरीत हुने र गर्ने संस्कारको अन्त्य जरुरी पर्छ । एक साता पन्ध्र दिन ढिलो गरेर नतिजा प्रकाशन गर्दा फरक देखिदैन । कक्षा ११ को अन्तिम सम्म नतिजा प्रकाशन गर्दा विग्रन्न । नतिजा प्रकाशन गर्ने र जेठमै धन्दा सकेर जसलिन प्रतिस्पर्धा गर्ने परीक्षा नियन्त्रण कार्यालयले पनि आफूलाई सच्याउनुपर्छ ।

समयानुकुल सुधार नगर्ने हो भने यो जिर्ण र अवैज्ञानिक रुवरुप टिकिरहन सक्दैन । गतबर्षबाट लेटर ग्रेडमा नतिजा प्रकाशन हुन थालेको छ । यो एउटा प्रगतीशील कदम हो तर यसमा सुधार गर्नुपर्ने सवाल धेरै छन् । कमजोर ग्रेडका विद्यार्थीलाई शिक्षा र मानवीकी विषयमा प्रवेश सहज राख्नु भनेको भोलिका शिक्षक अनि कर्मचारी अझ कमजोर र प्रभावहीन बनाउनु हो । राम्रो र उच्च ग्रेड ल्याउन प्रोत्साहन गर्नैपर्छ । राम्रा र उच्च ग्रेड ल्याउनेलाई आकर्षण सहित शिक्षा, मानवीकी र वाणिज्य विषयहरुमा प्रवेश गराउने योजना हुनुपर्छ ।

उच्च ग्रेड ल्याउने सबै विज्ञान एवम् प्राविधिक विषय पढ्ने र भोलिको डाक्टर इञ्जिनियरको मात्र सपना देख्ने त्यै नभए विदेश जाने रेडिमेड योजनालाई निस्तेज बनाउने कार्यक्रम खै त ? तल्लो ग्रेडका विद्यार्थीलाई प्राविधिक शिक्षा दिनु भनियो तर कक्षा ११ मा प्राविधिक शिक्षा कहाँ सहज छन् त ? उता सरकारी संयन्त्रले माध्यमिक विद्यालयले सक्छ भने प्राविधिक विषय संचालनको अनुमति दिनुपर्छ । हाल त्यस्तो छैन ।

संसदीय क्षेत्रमा एउटा अनुमति दिने भनेर कक्षा ९ बाट लागु गरियो, अर्को कुनै सक्षम भएर पनि आफैंमा खुम्चिएर बसेका धेरै छन् । कुनै प्रोत्साहन मात्र पनि छैन । तसर्थ व्यवसायिकता एवम् प्राविधिक शिक्षा विषय तोकेर खुल्ला गर्नुपर्छ । ताकि क्षमतावान विद्यालयले खाँचो देखिएको विषय संचालन गर्न सहज बनोस् । यस्ता विषयमा आर्थिक चलखेल गर्ने, राजनीति र नाता हेर्ने जस्ता निकृष्ट शैलीको निषेध जरुरी पर्छ ।

परीक्षा देखि नतिजा हुँदै उपल्ला कक्षाको प्रवेशसम्मको अवस्थालाई सुक्ष्म विश्लेषण गर्ने र त्यसको योजनाबद्ध खाका बाहिर ल्याउने काम राष्ट्रिय परीक्षा बोर्डसंग जोडिएको छ । शिक्षा विभागसंगको समन्वयले समयमा आवश्यक कार्यक्रम सार्वजनिक गर्नुपर्ने हुन्छ । हामी विद्यमान शैक्षिक अस्तव्यस्तता, अराजकता, विसंगति एवम् कुप्रथाको जरैदेखि उन्मूलन गरी विद्यार्थीको माग र राष्ट्रको आवश्यकता अनुसारको वैज्ञानिक शिक्षा व्यवस्था कार्यान्वयनको अपेक्षा राख्दछौं ।

प्रतिक्रिया