काठमाडौं १३ चैत/विद्यालयको वार्षिक परीक्षा चलिरहेको थियो । कक्षाकोठामा खचाखच विद्यार्थी थिए । पछाडिको लहरमा बसेका केही कलिला विद्यार्थी उत्तरपुस्तिकामा केही लेख्दै थिए । उनीहरु घरीघरी कक्षाकोठाको ढोबातर्फ हेर्थे । शिक्षिकाले अन्तै ध्यान दिएको मौका छोपेर छेवैमा रहेको किताबबाट उत्तर सार्थे ।
यो बझाङको दक्षिणी भेगको केदारस्यु गाउँपालिकाको रत्न माविमा सोमबार देखिएको दृष्य हो । कक्षाकोठामा १ देखि ९ कक्षा सम्मका विद्यार्थी परीक्षा दिइरहेका थिए ।
चिट सारेको देखेपछि कक्षाकोठामा रहेकी शिक्षिका श्वेता खत्रीले कक्षा १ मा पढ्ने ६ वर्षीया कविता बोहराको किताब थुतिन् । केहीले हत्तपत्त चिट लुकाउन भ्याए ।
कविताले लाजले मुन्टो निहुर्याइन् । यति कलिला नानी पनि चिट सार्छन्? भन्ने प्रश्नमा अफ्ठ्यारो मान्द शिक्षिकाले जवाफ दिइन् , सार्छन् सर, भनकै मान्दैनन् ।
धेरैलाई यो कुरा सुन्द अचम्म लाग्न सक्छ तर परीक्षा चलिरहेका प्रत्येक कोठामा पुग्दा केही विद्यार्थी चिट सारिरहेका भेटिन्थे । नयाँ मान्छे आएको चाल पाएर धेरैले लुकाइसकेका हुन्थे ,
यो विद्यालय एक उदाहरण मात्र हो । बझाङका अधिकांश विद्यालयको यस्तै भएको र यसो हुनुमा शिक्षककै कमजोरी रहेको जिशिकाका विनि सुरेश मिश्रले बताए ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया