काठमाडौं १२ चैत/ नेपाली उपन्यासमा बालमनोविज्ञानको प्रयोग’ शीर्षकमा ०६१ मा विद्यावारिधि (पीएचडी) गरेका राम पौडेल प्राज्ञिक कार्यमा कतै देखिन्नन् । (त्रिवि) नेपाली केन्द्रीय विभागबाट पीएचडी उपाधि लिएका प्राध्यापक नेपाली साहित्यका लेखकलाई चिन्दैनन् । खासमा त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रीय विभाग नेपाली साहित्यको अक्सफोर्ड, क्याम्ब्रिज या हार्वर्ड नै मानिनुपर्ने हो । ४३ वर्षे अवधिमा विभागमार्फत त्रिविको मानविकी तथा समाजशास्त्र संकायले झन्डै १ सय ३० जनालाई पीएचडी उपाधि दिइसकेको छ । तिनले आफ्नो नामअगाडि डाक्टर फुर्को मात्र गाँसेका छैनन्, प्राध्यापकको पगरी पनि थपेका छन् ।
त्रिविको मानविकी संकायले साउन र माघ सत्रमा पीएचडीका निम्ति आवेदन माग गर्छ । तीमध्ये बर्सेनि १० जनाजतिले नेपाली विषयमा पीएचडी उपाधि पाउँछन् । त्यसको खबर छापिदिन डिन कार्यालयको पत्र लिएर पीएचडीधारी नै गोरखापत्र धाउँछन् । र, उसै दिन फेसबुक प्रोफाइलमा नामअघि थप्छन्, डा । अलि चल्तापुर्जा रहेछ भने त केही दिनसम्म बधाई विज्ञापनको लहरै चल्छ ।
पीएचडी प्रयोजनका निम्ति भएका शोध अध्ययन या अनुसन्धान न प्रकाशनमा आउँछन्, न त कसैले शोधखोज नै गर्छन् । कतिसम्म भने केन्द्रीय पुस्तकालयमा नै त्यसको क्याटलग भेट्नै मुस्किल छ ।
ती पीएचडीवाला न स्थापित समालोचकमा दरिन्छन्, न सफल अनुसन्धानकर्तामा । पीएचडी शोधको अंश जर्नलमा छाप्ने मात्र होइन, त्यसलाई किताबको स्वरूप दिने चलन पनि हराइसकेको छ । “पहिले पहिले व्यक्तिगत लगानी गरेर भए पनि छाप्थे,” त्रिवि नेपाली केन्द्रीय विभागका सहप्राध्यापक गोविन्दप्रसाद शर्मा (सुकुम) सुनाउँछन्, “बढुवामा शोध र पुस्तकको दोहोरो नम्बर नजोडिने भएपछि त्यसरी छाप्नै छाडे ।”
विश्वविद्यालय सेवामा पूर्णकालीन रूपमा छिरेका शिक्षकका हकमा दर्शनाचार्य (एमफिल) गर्नु नपर्ने, देशबाहिर जानु नपर्ने, विश्वविद्यालयले अध्ययन बिदा पनि दिने भएकाले नेपाली विषय पीएचडीका निम्ति सुगम छ । तानतुन पारेर तीनवटा लेख नाम मात्रका जर्नलमा छापे पुग्यो । वासुदेव त्रिपाठीदेखि केशव सुवेदीसम्मका प्राध्यापकहरू त्यस्तो तानतुनको दोषमुक्त हुन सकेनन् ।
त्रिविको मानविकी र सामाजिक शास्त्र संकायका सहायक डिन राजकुमार पोखरेलका अनुसार नेपाली, अंग्रेजी, मैथिली, नेपाल भाषा, हिन्दीलगायत २२ विषयमा पीएचडी खुला गरिएको छ । पूर्णकालीन मात्र नभएर करार या अस्थायी सेवा प्रवेश गरिसकेकाको हकमा पनि एमफिल जरुरी छैन । तर, त्रिविमा अविच्छिन्न रूपमा सात वर्ष सेवा पूरा गरेको हुनुपर्छ ।
डाक्टरको बिगबिगी
त्रिविले नेपाली विषयमा पीएचडी कार्यक्रम थालेको चार दशक भइसक्यो । यसमा मानविकी तथा सामाजिक शास्त्र संकायको संयोजन र नेपाली केन्द्रीय विभागको प्रत्यक्ष प्राज्ञिक निगरानी रहन्छ । ०६५ पहिले दुर्लभ पीएचडीको अहिले बिगबिगी नै छ ।
वासुदेव त्रिपाठीले नेपाली साहित्यको पहिलो विद्यावारिधि उपाधि लिए, ०३० मा । ‘लेखनाथ पौड्यालको कवित्वको विश्लेषण तथा मूल्यांकन’ अनुसन्धानको शीर्षकमा । महिलामा भने वानीरा गिरीले ‘कवि गोपालप्रसाद रिमालका कवितामा स्वच्छन्दतावाद’ शीर्षकमा ०४२ मा पीएचडी उपाधि लिइन् ।
सुरुमा नेपाली साहित्यकेन्द्रित पीएचडी पछिल्लो समय नेपाली भाषा तथा लोकसाहित्यसम्म विस्तार भएको छ । त्रिविका उपप्राध्यापक अशोक थापाले ०७० मा गरेको ‘नेपाली विषयमा विद्यावारिधिको विषय क्षेत्र’ नामक अनुसन्धानमा चैत ०६९ सम्म एक सय जनाले मात्र पीएचडी गरेका थिए । त्यसमध्ये कविता, नाटक, आख्यान र निबन्धमा ७५, भाषा–व्याकरणमा १४, लोकसाहित्यमा सात र क्षेत्रगत साहित्यिक योगदानमा चार जना ‘डाक्टर’ भइसकेका छन् । अहिले त्यो संख्या बर्सेनि १० जनाको अनुपातमा बढेको थापाको कथन छ ।
पोहोर मात्र ‘समसामयिक नेपाली नाटकमा विसंगतिबोध’ शीर्षकमा विद्यावारिधि गरेका थापाका अनुसार सबैभन्दा धेरै शोध कवि, कविता र काव्यप्रवृत्तिमाथि २२ जनाले विद्यावारिधि लिएका देखिन्छन् ।
यतिका पीएचडी पुग नपुग डेढ दर्जन व्यक्ति र तिनका कृतिमाथि मात्रै भएका छन् । दिवंगत लेखक लेखनाथ पौड्याल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, विश्वेश्वरप्रसाद कोइराला, पारिजात, विजय मल्ल, गोविन्द गोठाले, भीमनिधि तिवारी, रमेश विकल, डायमनशमशेर, अगमसिंह गिरी, युद्धप्रसाद मिश्र, इन्द्रबहादुर राई, भवानी भिक्षु आदिमाथि व्यक्तिकेन्द्रित अनुसन्धान भएका छन् ।
यस हिसाबमा जीवित अवस्थामै पीएचडी गरिएका मोदनाथ प्रश्रित, अशेष मल्ल र सरुभक्त ‘भाग्यमानी’मा दरिएका छन् । साहित्यमा निकै हल्लाखल्ला मच्चाएका शंकर लामिछानेमाथि भने कसैले पीएचडी उपाधि लिएको देखिँदैन । “साहित्य र समाजलाई के चाहिन्छ भन्दा पनि स्वैच्छिक ढंगले पीएचडी भएका छन्,” थापा भन्छन्, “एकै व्यक्ति या कृतिमाथि पटके पीएचडी गर्ने कि अर्को नयाँ क्षेत्रमा जाने भन्ने सवाल महत्त्वपूर्ण छ ।”
पारिजात भर्सेज कोइराला
तथ्यांक हेर्दा पीएचडी भनेकै सम, देवकोटा, पारिजात र कोइरालाजस्तो भान हुन्छ । नाटकमा अहिलेसम्म १० वटा पीएचडी देखिन्छन् । मोहनहिमांशु थापाकृत ‘बालकृष्ण समको नाट्यशिल्प’ (०४०) पछि सातवटा अनुसन्धान सममाथि नै भए । कवितामा देवकोटाबारे मात्रै पाँचवटा पीएचडी छन् भने उपन्यासमा चारवटा कोइरालाका । कथामा पनि बीपीका पीएचडी थपिएका छन् । बीपीपछिको पीएचडीमा पारिजात आउँछिन् उनका कवितामा दुई र उपन्यासमा दुइटा पीएचडी छन् ।
यसो हुनुको मुख्य कारण हो, प्रजातान्त्रिक र वामपन्थी खेमाबीचको अघोषित द्वन्द्व । वाम खेमाले कोइराला र प्रजातान्त्रिक खेमाले पारिजातको अनुसन्धान गरेको देखिँदैन । यसो गरेको भए के हुन्थ्यो ? यतातिर कसैले सोच्ने फुर्सद पनि पाएको छैन ।
यसमा पनि वामपन्थी शिक्षकले धेरैजसो पीएचडी प्रगतिवाद या माक्र्सवादमा मात्रै गरेका छन् । ऋषिराज बरालले ‘नेपाली उपन्यासका मूलप्रवृत्ति’ (०४८)मा पीएचडी लिएपछि प्रगतिवादीहरू निकै हौसिए । आख्यानका १९ पीएचडीमध्ये संख्यात्मक रूपमा माक्र्सवादी या प्रगतिवादी नै अगाडि देखिन्छन् ।
कथामा जम्मा नौवटा अनुसन्धान भएका छन् । दयाराम श्रेष्ठले ‘नेपाली कथा र यथार्थवाद’ शीर्षकमा पहिलो अनुसन्धान गरेका थिए ०३९ मा । उनको शोधलाई अहिलेसम्मकै आधिकारिक मानिएको छ । “उनले कथामा गरेजस्तो समकालीन अध्ययन कमै छन्,” ‘नेपाली व्याकरणको विकासक्रमको अध्ययन’ (०६७) मा विद्यावारिधि गरेका सहप्राध्यापक शर्मा भन्छन्, “कुनै समयलाई वर्ड क्वाइन (नामकरण) गर्ने तहको अध्ययन अहिलेसम्म भएको छैन ।” उनले त्यस समयका कथालाई समसामयिक नाम दिएका थिए ।
शर्मा पीएचडीको स्तर खस्केको चर्चा भइरहेकाले च्यानल मिलाएर पीएचडी लिने प्रवृत्तिलाई डिन कार्यालयले नै हतोत्साही गर्नुपर्ने ठान्छन् । “हो, आर्म चेयर रिसर्च वा पुस्तकालयीय रिसर्च छ, फिल्ड ओरिएन्टेड रिसर्च छैन,” उनको दाबी छ, “यसो भन्दैमा सबै अनुसन्धानलाई झूर भन्न सकिँदैन । बरू हामीले गरिरहेका कतिपय गम्भीर विषयलाई मिडियाले महत्त्व नदिएका हुन् ।”
व्यक्तिपिच्छे शोधविधि
अहिले नेपाली केन्द्रीय विभागमा करिब १८ जना प्राध्यापक–डाक्टर छन् । तिनका शोधविधि अलग–अलग छन् । सबैजसोका आ–आफ्नै रवाफ छन् । रमाइलो त के भने प्राध्यापकहरू विद्यार्थीलाई आफ्नै विषयमा शोध गराउन पनि लाज मान्दैनन् । बिचरा विद्यार्थी मन नलागीनलागी आफ्नै शिक्षकमाथि शोध गर्न बाध्य छन् ।
“शोध भनेको प्राज्ञिक जिज्ञासा हो, आफ्नै पीएचडी कमसल भएर त होला, प्राध्यापकहरू प्राज्ञिक जिज्ञासा नै उत्पन्न नहुने विषयमा पनि थेसिस लेखाउँछन्,” साहित्यिक अध्येता युवक उप्रेती भन्छन्, “लिली रिमाल, शेखर ढुंगेल या सुषमा बरालका जीवनी, व्यक्तित्व र कृतित्वबारे लेखाउनुको तात्पर्य के हो ?”
विभागका प्राध्यापकबीचको काटोछिनोलाई लिएर ध्रुवचन्द्र गौतमले उही बेला उपन्यास नै लेखेका छन्, कट्टेल सरको चोटपटक । १६ वर्ष विभागीय प्रमुख रहेका वासुदेव त्रिपाठी र वल्लभमणि दाहाललाई पात्रका रूपमा उभ्याएर उनले त्यहाँभित्रको अराजकतालाई छताछुल्ल पारिदिएका थिए ।
चटपटे समालोचना
प्राध्यापक–डाक्टर दुवै पगरी जोड्ने लेखक प्रशस्त भए पनि गतिलो समालोचना छैन । कतिसम्म भने स्तरीय जर्नलले त नेपाली विभागका अनुसन्धान पाउँदैनन् नै, मधुपर्क, गरिमाजस्ता साहित्यिक पत्रिकामा समेत समालोचना पातलिइसकेका छन् । न समाज र भाषाका आधारमा साहित्यको अध्ययन भएको छ, न त इतिहासको पुन:लेखन, न मनोविज्ञानमा आधारित समालोचना ।
समालोचना भूमिका, विमोचन, अखबारमा खुम्चिएको छ । प्राध्यापकीय समालोचनामा दुई चटपटे शब्दावली छन्, उत्तराधुनिक र डायस्पोरा । “यी दुइटा भए मात्र समालोचना भन्न थालिएको छ । जार्गन वर्डमै रुमल्लिएका छन्,” सहप्राध्यापक शर्मा भन्छन्, “सिद्धान्तको जामा दिएर गरिने अध्ययन कामचलाउ भए र साँच्चैको अनुसन्धान एकदमै थोरै भयो ।”
कतिपय प्राध्यापक–डाक्टर समालोचनामा विश्वास नभएर कनिकुथी गीत, गजल या उपन्यास लेखनमा लागेका छन् भने कतिपय कपीपेस्टको बात लाग्ला भनेर त्रिविमा बुझाएको शोधप्रबन्ध पनि भूमिगत पार्न सक्रिय ।
पुराना प्राध्यापकहरूका अनुसार पीएचडी अनुसन्धान किन पनि कमजोर छ भने न त्यसभन्दा माथिको उपाधि त्रिविले दिन्छ, न त प्राध्यापकभन्दा माथिको कुनै पद छ । पीएचडी उपाधि र प्राध्यापक डिग्री कहिल्यै खोसुवामा नपर्ने भएकाले त्यसपछि अनुसन्धानै सकिन्छ ।
“सबैजसो शोध आयातीत र पूर्वीय–पाश्चात्य साहित्यशास्त्रबाटै निर्देशित छन् । मौलिक र विशिष्ट अनुसन्धानपरक समालोचना न्यून छ । परम्परागत विधातत्त्वगत विश्लेषणभन्दा माथि उठ्न सकेका छैनन्,” उपप्राध्यापक गुरुङ सुशान्तको निष्कर्ष छ, “त्रिविले संख्यात्मक मात्र होइन, गुणात्मक अनुसन्धानलाई प्राथमिकता राख्ने बेला भइसक्यो ।”
नेपाल साप्ताहिकमा प्रकाशित खबर ।
प्रतिक्रिया