भक्तपुर– चार वर्षका छोरा, रोहन र पाँच वर्षीय छोरी, रोजिना र श्रीमान शंकरसँगै घर छोडेर रामेछापको माझी गाउँबाट काम खोज्दै भक्तपुरको एक इँटा भट्टामा आएकी सुनमाया सुनुवारलाई आफ्ना चिचिलाको चिन्ता थियो । ‘कामको खोजीमा आयौं, सँगै सानासाना सन्तान पनि, काम गर्दा कहाँ छोड्ने होला भन्ने चिन्ता थियो’ मंसिरमा आएकी उनले उत्साहित हुँदै भनिन्, ‘भट्टामै बच्चा हेर्ने ठाउँ छ भन्ने थाहा पाएपछि त्यही पठाएँ, त्यहाँ त बच्चा हेर्ने मात्र नभएर खुवाउने र पढाउने पनि रहेछ ।’
उनले लालाबालालाई बिहान आठ बजे बच्चा हेर्ने ठाउँ अर्थात् शिशुस्याहार केन्द्रमा पु¥याउने र दिउँसो साढे तीन बजेतिर लिन जाने बताउँदै बच्चाहरु आफूसँग भन्दा शिशुस्याहारमै बसिरहन रुचाउने बताए । उनले भने, पहिला–पहिला ५/ ६ दिन त जानै मान्दैनथे, अहिले त आफै स्कुल जान मन गर्छन् ।’
आमाबाबुसँगै इँटा भट्टामा आएका डेढ वर्षदेखि ८÷९ वर्षसम्मका बालबालिको हेरविचारका लागि भट्टा परिसरमै व्यवसायीहरु मिलेर खोलेको शिशुस्याहारलाई इँटा बनाउन र बोक्ने काममा आएका ‘पत्थरी’ र ‘बोकनियाँ’ हरुले भने भट्टाको स्कुल भनेर नामाकरण गरेका छन् ।
‘हामीले गाउँ र गाउँका स्कुल छोडाएर सन्तानलाई पनि ल्याएका छौं, यहाँ उनीहरु भट्टाको स्कुलमा जान्छन् ।’ इँटा बनाउनका लागि प्युठानबाट आएका मानवीर कामीले भने । सुनमाया र मानवीरका सन्तानमात्र नभएर भट्टाको स्कुलमा इँटा बनाउन, बोक्न आउने अभिभावकका सन्तानहरु आउने गरेको जिजे इँटा उद्योग परिसरका सञ्चालित शिशु स्याहार केन्द्रका सहजकर्ता मन्दिरा खड्काले बताइन् ।
उनले सुरु–सुरुमा बच्चाहरु आउनभन्दा पनि तिनीहरुका आमाबुवाले पनि बच्चा पठाउन हिच्किच्याए पनि स्याहार केन्द्रमा आएका बच्चाहरुमा परिर्वतन देखेपछि केन्द्रमा पठाउन मन नगरेका आमाबाबुले पनि सन्तान पठाउने गरेको बताइन् । ‘तीन र दुई वर्षका छोरालाई शिशुस्याहारमा छाडेका छौं, बच्चाहरु त्यहीँ खेल्छन्, हामी ढुक्कले इँटा पार्छाैं,’ धादिङबाट इँटा बनाउन आएकी वर्ष १९ कि सुनिताले भनिन् । ‘बच्चा सुरक्षित र स्वस्थ भएको छ ।’
शिशुस्याहारमा आएका बालबालिकाहरुलाई खेलाउने, लेखाउने, गीत गाउन लगाउने, पढाउने त गर्ने भै नै हाले, यसबाहेक त्यहाँ आएका तिनीहरुलाई सन्तुलित भोजनको पनि व्यवस्था गरेको छ । त्यो पनि निः शुल्क । शिशुस्याहार केन्द्रमा आएर पढेवापत, खलेवापत अभिभावकलाई कुनै आर्थिक भार पर्दैन। त्यसको सबै भार इँटा व्यवसायीहरुले ब्यहोरेका छन् ।
शिशुस्याहारमा केन्द्रले आइतबार दूध, सोमबार जाउलो, मंगलबार खिर, बुधबार मासु, बिहीबार अण्डा र शुक्रबार फलफूल खाजा खुवाउने गरेका छन् । यसले बालबालिकाले पोषणतत्वयुक्त आहार खान पाएका छन, धुलो, धुवाँ र फोहरबाट बचेका छन् । नानीहरु स्वस्थ पनि बनेका छन् । नियमित दिवा खाजा खुवाउने व्यवस्था मिलाएको छ । केन्द्रमा फरक–फरक स्वाद खाजाको क्यालेन्डर नै बनाइएको छ । शिशुस्याहार केन्द्रबाट एउटा इँटा भट्टाबाट ५० जनाको दरले लाभान्वित भइरहेको व्यवसायीहरुको भनाइ छ ।
भक्तपुरमा भक्तपुरका ६२ वटा भट्टाहरुमा २५ वटा शिशुस्याहार केन्द्र रहेको भक्तपुर इँटा उद्योग व्यवसायी सघका अध्यक्ष नातिभाइ ह्योम्बाले बताए । उनले इँटा उद्योगीहरुले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उद्योग परिसरमा शिशुस्याहार केन्द्र सञ्चालन गरिएको बताउँदै शिशु स्याहार केन्द्र सञ्चालन गर्न प्रतिस्याहार केन्द्र मासिक रुपमा रु. ५० हजार खर्च भैरहेको बताए ।
व्यवसायीहरुले गत वर्षसम्म विभिन्न गैरसरकारी संस्थाहरुले सहयोग गरिरहेको भए पनि यो वर्षबाट भने तिनीहरुबाट नभइकन व्यवसायीहरु नै मिलेर केन्द्र सञ्चालन गरिरहेको बताउँदै शिशुस्याहार केन्द्रका सहजकर्ताको तालिमको लागि भने बालविकास समाजले प्राविधिक सहयोग प्रदान गरिहेको जनाए ।
प्रतिक्रिया