Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

मावि चलाउन फर्जी विद्यार्थी

बुधबार, ०९ चैत्र २०७३

काठमाडौं ९ चैत/टीकाभैरवमा रहेको प्रभाततारा बोर्डिङ स्कुलले विद्यार्थीको फर्जी विवरण देखाएर माध्यमिक तहको ९ कक्षा अध्यापनका लागि निवेदन दिएको छ । विद्यालयले ८ सम्म सञ्चालन अनुमति पाए पनि विद्यार्थी नै नभएकाले कक्षा सञ्चालन भएको छैन । तर, विद्यालयले कक्षा ८ मा २७ विद्यार्थी भएको नक्कली हाजिरी कापी बनाएर जिल्ला शिक्षा कार्यालयमा २०७३ पुस २९ मा पेस गरेको थियो । विद्यालयले कक्षा ८ को परीक्षा सञ्चालन गर्न जिशिकाबाट नाटकीय ढंगबाट प्रश्नपत्र र उत्तरपुस्तिकासमेत लगेको थियो ।

शिक्षा नियमावली २०५९ अनुसार विद्यालयमा तह/कक्षा थप गर्न ८ मा अनिवार्य २२ विद्यार्थी आवश्यक पर्छ । त्यस्तै शिक्षक नियुक्तिपत्र, नजिकैका २ विद्यालयको सहमतिपत्र, सञ्चालकले विद्यालय खोल्न गरेको निर्णय, विद्यालय निरीक्षक र स्रोतव्यक्तिको उपस्थितमा बसेको व्यवस्थापन समिति बैठकको निर्णय आवश्यक पर्छ ।
कक्षा थप गर्न स्थलगत निरीक्षणमा गएका विद्यालय निरीक्षक (विनि) कृष्णप्रसाद घिमिरेले २०७३ माघ २५ मा पेस गरेको प्रतिवदेनमा शिक्षा नियमावलीअनुसार विद्यार्थी संख्या पर्याप्त र बढ्ने सम्भावना रहेको उल्लेख गरेका थिए । मावि शिक्षकमा एनबी महर्जन, समुन महर्जन र सुमिन महर्जन रहेको प्रतिवेदनमा उल्लेख थियो । घिमिरेका अनुसार पुन: चैत ३ गते निरीक्षणमा जाँदा विद्यार्थी मात्र होइन ८ कक्षाको कोठासमेत नभएको भेटियो । ‘त्यसपछि तत्काल अनुमति रोक्न कार्यालयमा निवेदन दिएँ,’ उनले भने, ‘विद्यार्थी नभएको कक्षा ८ मा भर्ना शुल्क १५ सय, मासिक ९५० र परीक्षा शुल्क ४ सय राखिएको थियो ।’
विद्यालयले जिशिकामा पेस गरेको निवेदन फाराममा भरेको विवरण झुटो ठहरे कानुनबमोजिम सजाय हुने उल्लेख छ । प्रभाततारा विद्यालयका प्रिन्सिपल न्हुच्छे महर्जनले कक्षा ८ का विद्यार्थी पाटनका रहेको दाबी गरे । ‘तर जाँच दिन आएनन्,’ उनले भने, ‘नआउनेलाई घरघरमा गएर बोलाउन सकिँदैन ।’ उनले प्रक्रिया पुर्‍याएरै विद्यालय अपग्रेडका लागि निवेदन दिएको दाबी गरे । सहायक जिशिअ गोकर्णध्वज कार्कीले विद्यालयले कार्यालयमा पेस गरेको निवेदनमा भरेको विवरणमा भएका कुरा कानुनी पुष्टिसहित उपस्थित हुन निर्देशन दिइसकिएको बताए । ‘प्रमाण जुटाउन सकेन भने शिक्षा नियमावलीअनुसार कक्षा ८ को अनुमति पनि रद्द गर्न सकिन्छ,’ उनले भने । कक्षा थप गर्न सहमति दिने बुद्ध मावि र टीकाभैरव इंग्लिस सेकेन्डरी स्कुल हुन् । विद्यालय अपग्रेड भए कक्षा ९ मा ३० जनासम्म विद्यार्थी भर्ना लिन पाउनेछन् । यो विद्यालय कुमारीपाटीको निम्स इन्टरनेसनल स्कुलको नाम र ठेगाना परिवर्तन गरी टीकाभैरवमा सञ्चालन भइरहेको छ ।

कान्तिपुरमा प्रशान्त मालीले लेखेको खबर ।

प्रतिक्रिया