काठमाडौं ८ चैत/केन्द्राध्यक्ष र निरीक्षककै मिलोमतोमा माध्यमिक शिक्षा परीक्षा (एसईई) अमर्यादित बनेको छ । परीक्षा निर्देशिका २०७३ अन्तर्गत परीक्षा अनुशासन पालनका लागि केन्द्राध्यक्षका लागि जारी गरिएको १९ बुँदे निर्देशनविपरीत अमर्यादित क्रियाकलाप गरेको भन्दै परीक्षा अनुगमन समितिले तीन केन्द्राध्यक्षलाई सचेत र ५ निरीक्षकलाई परीक्षा केन्द्रबाटै निष्कासन गरेको छ ।
शिक्षा कार्यालयका अनुसार परीक्षार्थीलाई गेसपेपर र परीक्षा केन्द्र बाहिरबाट तयार पारिएको फ्ल्याप उत्तरपुस्तिकामा सार्ने वातावरण सिर्जना गरेर परीक्षा अमर्यादित बनाएको भन्दै तीन केन्द्राध्यक्षलाई सचेत र ५ निरीक्षकलाई निष्कासन गरिएको हो ।
जिल्ला शिक्षा अधिकारी अरविन्दलाल कर्णका अनुसार चन्द्रउदयपुर मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष परमेश्वर यादव, चन्द्रलालपुर केन्द्रका राजलाल यादव र सोनमती गाढा मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष अरविन्दकुमार दासलाई सचेत गराइएको छ ।
परीक्षा अमर्यादित बनाउनमा संलग्न सोनमती गाढा परीक्षा केन्द्रका निरीक्षक देवप्रसाद यादव, शिवप्रसाद साह, रामएकवाल यादव, विनीता र गौरीपुर परीक्षा केन्द्रका तनवीर अन्सारीलाई निष्कासन गरेको छ ।
प्रतिक्रिया