काठमाडौं ८ चैत/उत्तराखण्ड राज्यको राजधानी देहरादुनको गढीक्यान्ट र खलंगामा नेपाली भाषीको बाहुल्य छ । त्यहाँ ९० प्रतिशतभन्दा बढी मानिस नेपाली भाषा बोल्छन् । उनीहरू सबैका पुर्खा नेपाली हुन् । उनीहरू देहरादुनमै जन्मिए र त्यहीँ हुर्किए ।
आफ्ना पुर्खा नेपाली भएकाले त्यहाँ बसोबास गर्ने समुदाय एक अर्कासँग नेपालीमै कुराकानी गर्छन् तर उनीहरूका छोराछोरी घरमा बुबाआमाले नेपाली भाषामा कुरा गरेर केही बोल्न जाने पनि भाषाको ज्ञान भने उनीहरूलाई छैन । स्कुलमा अंग्रेजी र हिन्दी भाषामै पढाइ हुन्छ ।‘हाम्रा केटाकेटीले त्यति राम्रोसँग नेपाली बोल्न सक्दैनन्’, गढीक्यान्ट बस्ने रवि राणाले भने, ‘आफ्ना नानीबाबुलाई नेपाली भाषा सिकाउन खलंगाको एक विद्यालयमा नेपाली भाषा पढाउने व्यवस्था गरेका छौं ।’ त्यहाँ नेपाली भाषा पढाउन विद्यालय नै खोलेको उनले बताए । उक्त विद्यालयमा नेपाली भाषा पढाउने एकजना शिक्षक राखिएको छ ।
एक विषय अनिवार्य रूपमा नेपाली पढाउने गरी व्यवस्था मिलाइएको स्थानीय केबी गुरुङले बताए । ‘हाम्रा पुर्खाको सम्मानका लागि पनि भाषा र संस्कृतिको जगर्ने गर्नु आवश्यक छ’, उनले भने, ‘नयाँ पुस्ताले नेपाली भाषा नबिर्सिउन् भनेर सबै मिलेर नेपाली भाषामा एउटासम्म विषय पढाउने गरेका छौं ।’
उक्त विद्यालयमा अहिले ४० जना बालबालिकाले नेपाली भाषा पढिरहेका छन् । ३ वर्षअघिसम्म त्यहाँ नेपाली भाषामा पढाइ हुँदैन थियो । नेपाली भाषा जोगाई राख्न र नयाँ पुस्तामा त्यसको ज्ञान दिन विद्यालयमा नेपाली भाषामा पढ्ने व्यवस्था गरिएको खलंगाका स्थानीय विशाल थापाले बताए ।बालबालिका पनि नेपाली सिक्दै जाँदा रमाउने गरेको उनीहरू बताउँछन् । सुरुमा कमै मात्र स्कुले नानीहरूले नेपाली पढे पनि अहिले भने बढ्दै जान थालेको उनीहरूले सुनाए । गत साता देहरादुनमा आयोजित इन्डो–नेपाल व्यापार तथा पर्यटन मेलामा नयाँ पुस्ताले नेपाली भाषामै कार्यक्रम चलाए भने नेपाली गीत संगीतमै रमाए ।
‘हाम्रा सन्तान पनि नेपाली भाषा बोल्न मन पराउन थालेका छन्’, स्थानीय दिव्यतारा तुलाधारले भनिन्, ‘हाम्रा पुर्खाको भाषा र संस्कृति जोगाई राख्नु हाम्रो दायित्व हो, त्यसैले केटाकेटीले भाषा सिकून् भनेर नेपाली सिकाउने गरिएको हो ।’देहरादुनमा सामाजिक कार्यमा संलग्न पूजानन्दिना विष्टले आफ्ना पुर्खा नेपाली भएकाले पनि आफूहरूलाई नेपाली भाषा मन पर्ने बताइन् । प्रष्ट नेपाली भाषा बोल्न अझै असहज हुने गरे पनि आफूले सिकिरहेको बताइन् । ‘भाषा, संस्कृति र नेपाली पोसाक हाम्रा पुर्खाको पहिचान हो’, उनले भनिन्, ‘त्यही भएर यहाँ पनि बालबालिकालाई नेपाली भाषा सिकाउन नेपाली पढाउने गरिएको छ
अन्नपूर्ण पोष्टमा बीपी अनमोलले लेखेको खबर ।
प्रतिक्रिया