काठमाडौं ५ फागुन/ साविकको भुम्लिचोक गाविस–८ का धन वहादुर चेपाङ शुक्रबार बिहान सदाको जस्तै तुइन चढेर विद्यालय जाने तरखर गर्दै थिए । धनवहादुर भुम्लिचोक तर्फबाट लठ्ठा धकेल्दै जव तुइन चढेर दुइ मिटर पर पुगेका मात्र थिए उनको आखाँले देखिहाल्यो एउटा लठ्ठाको तिन पया चुडिँएको । उनको होसहवास उड्यो । ‘विद्यालय जान ढिलो भइसकेको थियो, अव जे पर्छ/पर्छ भनेर गएँ,’ उनले भने ।
शुक्रबार दिउँसो सोहि ठाउँकी सन्जु चेपाङ विद्यालय ड्रेसमै हिक्लुङको तुइन नियाल्दै थिइन् । विहान जोखिम मोलेर तुइनको साहाराले विद्यालय गएकी सन्जुलाई तुइनबाट घर फर्कन त्यति सहज थिएन । ‘पढाइ छुट्छ भन्ने डरले विहान पनि जान हुँदैन भन्दा भन्दै जवरजस्ती आएको,’ सन्जुले भनिन् । चेपाङ समुदायको वाहुल्यता रहेको भुम्लिचोक आसपास नजिकै विद्यालय नहुँदा वालवालिकाहरु जोखिमका साथ तुइन चढेर धादिङ जोगिमाराको शंखादेवि उच्च माध्यमिक विद्यालयमा अध्ययनका लागी जान्छन् ।
गोरखाको गण्डकी गाउँ पालिका साविकको भुम्लिचोक–८ र धादिङको वेनिघाट गाउँपालिका– १० जोड्ने तुइनको लठ्ठा जिर्ण भएपछि शुक्रबार स्थानीयहरुलाई आउजाउमा निकै समस्या पर्याे । जोखिम मोलेर तुइनको साहाराले विद्यालय गएकाहरु केहि ट्युवको सहाराले त्रिशुली नदि तर्दै थियो त केहि घुमाउरो बाटो डेड घण्टा हिँडेर घर फर्कदै थिए ।
राजमार्ग सम्म पुग्न पुल नहुँदा स्थानीयहरु जोखिम मोलेर तुइनको सहाराले आउजाउ गर्ने गरेका छन् । एमाले अध्यक्ष केपि शर्मा ओली प्रधानमन्त्री हुँदा तुइन विस्थापित गर्ने घोषणा गरेका थिए । तर, गोरखामा भने अझै तुइन विस्थापित हुन सकेको छैन ।
नयाँ पत्रिकामा प्रकाशित खबर ।
प्रतिक्रिया