- लोकेन्द्र घटाल / एसएलसीको नतीजा आएपछि फेरी धेरै प्रश्न उब्जेका छन सधैंझै । प्राय यस्ता समाचार र टिप्पणीहरू एसएलसीको नतीजा आएपछि आउँछन, विस्तारै कम हुदै केही महिनापछि हराएर जान्छन । यो सिलसिला प्रायजसो यहीबेला प्रत्येक बर्ष दोहोरिन्छ । सरकारको यतिधेरै लगानी हुदापनि किन सामादायिक विद्यालयको नतीजा खस्कदो छ, भलै यसबर्ष पोहोरभन्दा केही बढेको छ तर प्रर्याप्त होईन ।
विगत धेरै बर्षदेखि किन सुध्रन सकेन नतीजा, किन कक्षा एक (प्राथमिक तह) मा भर्ना भएका सबै विद्यार्थी एसएलसीसम्म पुग्दैनन, किन सामुदायिक र निजी विद्यालयको नतीजामा भिन्नता छ, किन फेल हुने विद्यार्थीहरूलाई केही नजान्ने, असफलको पगरी भिराईन्छ, किन फेल हुने मध्ये केही विद्यार्थीहरू जीवनदेखि निराश भई आत्महत्या गर्छन, कतै यसमा हाम्रो शिक्षा, परिक्षा प्रणाली, सरकारको नीति र व्यवहार, शिक्षक, अभिभावक, समाजका बुद्धिजीवि शिक्षित बर्ग र यसको यति प्रतिशत, उसको उति, फलानो नेपाल टप, फलानो दोस्रो भन्ने मिडिया पनि यसका कारक त हैनन वा विद्यार्थीमात्रै ? यस्ता यावत प्रश्नहरू उब्जिएका छन । यसबारे ठूलठूला बहस र छलफल हुन्छन ।
फेरी अर्को बर्ष उही अवस्था दोहोरिन्छ । यसैसन्दर्भमा राजकुमार हिरानीको लेखन तथा लगानी र अमिर खानको प्रमुख भूमिका रहेको हिन्दी फिल्म 'थ्री ईडियट्स' ले उजागर गरेका कुराहरू मानसपटलमा आउँछन । जस्तै- किन सबैले अंक र प्रतिशतको मात्रै कुरा गर्छन, किन सृजनशीलता र व्यवहारमा परिवर्तनको कुरा गरिदैन, फेल हुने र दबाब झेल्न नसक्ने विद्यार्थीले गर्ने आत्महत्या आत्महत्या हो वा हत्या, सफलताको पछि दौडने कि नयाँपन र सृजनात्मकता र उत्कृष्टताको, स्कूलबाट रट्ने सुगा (उनले त फ्याक्ट्रीबाट गधा उत्पादन भईरहेका छन भनेका छन) म्यानुफ्याक्चर/उत्पादन भईरहेका छन वा असल मानिस, अभिभावकको दबावमा बिषय पढ्ने कि आफ्ना रूचि र क्षमताअनुसार, प्रणालीमा समस्या हो या मानिस र मानसिकतामा ? आदि ।
मेरो बुझाईमा नेपालको सन्दर्भमा सामुदायिक विद्यालयका विद्यार्थीहरू एसएलसी लगायत अन्य कक्षाहरूमा धेरै फेल हुनुका कारणहरू निम्न छन-
१. दुई प्रकारको शिक्षा (सरकारी र बोर्डिङ) हुँदापनि एउटै प्रकारको प्रश्नपत्र हुनु
२. बिद्यार्थीहरूको आधारभूत ज्ञान (बेस) कमजोर हुदापनि निरन्तर कक्षा चढाईदै जानु (निरन्तर मूल्याङ्कनको अर्थ कमजोर र फेल भएका विद्यार्थीहरूलाई पुन पढाएर सिकाएपछि एकदुई महिनाभित्र अर्को कक्षामा राख्नु हो तर मार्कसिटमा नम्बर थपेर पास गर्ने प्रणाली नै निरन्तर मूल्याङ्कन प्रणाली हो भन्ने ठान्दै शिक्षकहरूले सोहीअनुसार गर्नु)
३. शिक्षकहरूमा दायित्वबोध, विद्यार्थीहरूमा अनुशासन र मेहनत तथा अभिभावकमा जनचेतनाको कमी हुनु
४. विदेशी दाताहरूले ल्याएका योजना र नीतिनियम तथा कार्यक्रमहरू नेपालको बस्तुस्थिति नबुझिकनै हुबहु लागू गर्न खोज्नु । तर त्यसको लागि आवश्यक पर्ने स्रोतसाधनको जोहो कसरी गर्ने र लागू कसरी गर्ने भन्नेबारे दीर्घकालीन योजमा नहुनु
५. सामुदायिक विद्यालयमा सोह्रथरी शिक्षक हुनु
६. नियमित निरीक्षण र सुपरिवेक्षण नहुनु
७. शिक्षक, व्यवस्थान र कर्मचारीतन्त्रमा राजनाति बढी हुनु र राजनीतिक अस्थिरता
८. राम्रो गर्ने शिक्षक र विद्यालयलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्डको व्यवस्था नहुनु
९. अभिभावक, शिक्षक, विद्यार्थीले पनि सिकाई र सृजनात्मकताभन्दा प्रतिशत र अंकमा बढी जोड दिने प्रवृति
१०. आर्थिक समस्या, गरिबी र भौगोलिक विकटताका कारण नियमित घरको काम गरी विद्यार्थीहरूले पढाईलाई पार्टटाईमको रूपमा लिनु ।
यति हुँदापनि किन हुन सकिरहेको छैन त सुधार ? यसबारे गम्भीर बहस र छलफल हुनु जरूरी छ । हुन त छलफल र बहस धेरै भएका छन । तर मुख्य कुरा कार्यान्वयनको हो । त्यसका लागि दीर्घकालीन सोच भएको नेतृत्व र स्थिर सरकार चाहिन्छ । साथसाथै मानिसहरूको मानसिकतामा पनि परुवर्तन हुनु जरूरी छ । यसतर्फ सबैले समयमै सोचेर आधारभूत तहदेखि नै लागू गरेमा सुधार हुने देखिन्छ ।
प्रतिक्रिया