Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

४ हजार अनुपस्थित

शुक्रबार, ०४ चैत्र २०७३

काठमाडौं ४ चैत/माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिनको अंग्रेजी विषय परीक्षामा पूर्वबाट करिब चार हजार परीक्षार्थी अनुपस्थित भए । कुल परीक्षार्थी मध्ये छात्रा १ हजार ८ सय ९९ र छात्रतर्फ १ हजार २ सय ९० परीक्षार्थी अनुपस्थित रहेको क्षेत्रीय शिक्षा निर्देशनालयले जनाएको छ ।

नियमिततर्फ ५ सय ८९ छात्रा र ४ सय ५९ छात्र गरी १ हजार १ सय ९९ अनुपस्थित रहे । एक्जाम्टेडतर्फ ३ सय २१ छात्रा र २ सय १६ छात्र अनुपस्थित रहे । यसैगरी ग्रेड वृद्धितर्फ ४ सय ६१ छात्र र ७ सय १८ छात्रा अनुपस्थित रहेको निर्देशनालयले जनाएको छ । पूर्वका १६ जिल्लामा गत वर्षभन्दा २५ हजार कम परीक्षार्थी सामेल भएका छन् । एसईई परीक्षामा नियमिततर्फ ९४ हजार ८ सय २२ र एक्जाम्टेडतर्फ ७ हजार ४१ परीक्षार्थी सामेल भनिए पनि उल्लेख्य परीक्षार्थी अनुपस्थित रहेका छन् । अघिल्लो वर्ष १ लाख ४१ हजार ६ सय ४७ परीक्षार्थी सामेल थिए । धनकुटामा जोरपाटी गाउँपालिका–२ का महेश पिठाकोटेले कारागारबाटै परीक्षा दिए ।

किरियापुत्री सामेल
तेह्रथुममा ३५ विद्यार्थी अनुपस्थित भए । नियमित १ हजार ७ सय ७६ जना, एक्जाम्टेडमा १ सय ८ जना, आंशिक ग्रेड वृद्धितर्फ ७ सय १७ जना गरी २ हजार ६ सय २९ परीक्षार्थी परीक्षामा सहभागी हुनपर्नेमा ३५ विद्यार्थी अनुपस्थित भएको शिक्षा कार्यालयले जनायो । त्यस्तै आमाको किरिया गर्न बसेका सुरेन्द्र खडकाले जनज्योति मावि सिम्ले परीक्षा केन्द्र र जिल्ला कारागारबाट जीवन विकले परीक्षा दिए ।

नक्कली पक्राउ
सिन्धुलीमा दाजुको नामबाट परीक्षा दिन खोज्नेलाई पक्राउ गरिएको छ । बखफर परीक्षा केन्द्रबाट मावि कर्मीडाँडाका छात्र प्रवीण घलानको नाममा भाइ सुरेश घलान नक्कली परीक्षार्थी भई सहभागी हुँदा उनलाई पक्राउ गरिएको हो । परीक्षार्थी दाजु प्रवीण केही महिनाअघि विदेश गएका थिए । कारागार शाखामा प्रभात मावि माथिल्लो रानीवासका बाली विज्ञानतर्फका दुई छात्रले परीक्षा दिएको जिशिअ केदार गिरीले जनाए ।

बाबुछोरा सँगै
ताप्लेजुङमा बाबुछोराले सँगै परीक्षा दिएका छन् । फुङलिङ नगरपालिका–६ का ५३ वर्षीय भीम बहादुर गुरुङ र १७ वर्षीय प्रदीप गुरुङले परीक्षा दिएका हुन् । उनीहरू मेवाराजा आधारभूत विद्यालय केन्द्रमा छन् । भीम भानुजन मावि र प्रदीप कञ्चन एकेडेमीमा अध्यनरत विद्यार्थी हुन् । पहिलो दिनको परीक्षामा १ सय ९७ जना विद्यार्थी अनुपस्थित भए ।

ब्रेल लिपिमा लेख्न पाएनन्
धरानस्थित पूर्वाञ्चल ज्ञानचक्ष्ुा विद्यालयका सबै दृष्टीविहीन विद्यार्थीले ब्रेल लिपिमा लेख्न पाएनन् । कक्षा १० सम्म उनीहरूले ब्रेल लिपिमा लेख्ने, पढ्ने गरे पनि परीक्षा नियन्त्रण कार्यालयले दृष्टिविहीनका लागि भनेर अलग्गै व्यवस्था नगरेपछि सहयोगीको भरमा देवनागरी लिपिमा परीक्षा दिन बाध्य भएका छन् ।
यस वर्ष सुनसरीका पाँच दृष्टिविहीन छात्राले एसईईमा सहभागी भएका छन् । दृष्टिविहीन विद्यार्थीले कक्षा १० सम्म अध्ययन गर्दा जुनसुकै विषयको परीक्षा दिँदा ब्रेल लिपिमा लेख्ने गरेका छन् । एसईईमा ब्रेल लिपिमा लेख्न नपाइने परीक्षा नियन्त्रण कार्यालयले राखेको प्रावधानका कारण उनीहरूले असहज महसुस गरेको बताए ।
धरानस्थित ल्याबरोटरी केन्द्रबाट परीक्षा दिइसकेपछि पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयकी एलिना लिम्बू र शान्तामाया लिम्बूले ब्रेल लिपिमा लेख्न नपाएपछि सामुदायिक विद्यालयमा कक्षा आठ पढेका सहयोगी विद्यार्थी राखेर परीक्षा दिएको बताए ।

गाइड र गेसपेपरको थुप्रो
सप्तरीका केही परीक्षा केन्द्रमा नियन्त्रणमा लिइएको गाइड र गेसपेपरको संख्या निकै रह्यो । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको नेतृत्वमा बिहान सदरमुकामका चार परीक्षा केन्द्रमा अनुगमन हुँदा परीक्षा कोठाबाट विद्यार्थीले धमाधम गाइड र गेसपेपर निकाल्न थालेका थिए ।
दुईतर्फी लगाइएको बेन्चको बीचमा गाइड र गेसपेपरको थान्को लाग्न थाल्यो । प्रहरीले सबै गाइड र गेसपेपर बाहिर निकाले र सोही परीक्षा केन्द्रमा जलाए पनि । जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले परीक्षा मर्यादित भइरहेको दाबी गरे । उनले विगतजस्तो बोराका बोरा गाइड र गेसपेपर नभई कम संख्यामा गाइड र गेसपेपर परीक्षार्थीसित फेला परेको बताए ।

खबर गर्नेलाई ५ हजार
महोत्तरीमा प्रजिअ वीरेन्द्रकुमार यादवलले एसईई परीक्षामा चिट चोरेको खबर गर्नेलाई ५ हजार नगद इनाम दिने घोषणा गरेका छन् ।
आफ्नै नेतृत्वमा रहेको अनुगमन टोलीले बखडी लगायतका परीक्षा केन्द्रमा बाहिरबाट लेखिएको चिटका थिनपेपर फेला पारेपछि उनले यस्तो घोषणा गरेका हुन् । परीक्षा समन्वय समितिले माध्यमिक शिक्षकलाई परीक्षा केन्द्रमा जानै रोक लगाएको छ ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया