काठमाडौं २ चैत/ गत वर्ष जाजरकोटमा एसएलसीको दशेरा, खुर्पा र झाप्रा परीक्षा केन्द्रमा झाडापखालाको प्रकोप फैलियो । दर्जनौं विद्यार्थी बिरामी परे । उपचारपछि रोग नियन्त्रणमा आयो । दुई वर्षअघि पनि एसएलसी परीक्षा केन्द्र टालेगाउँबाट फैलिएको स्वाइन फ्लु जिल्लाका दर्जन गाउँ विकास समितिमा फैलियो । २७ जनाको ज्यान गयो । सयौं बिरामी परे ।
एसएलसी परीक्षा केन्द्र (होम सेन्टर) परिवर्तनका कारण एसएलसी परीक्षा केन्द्रमा अभिभावक र विद्यार्थीको भीडभाड एकैपटक बढेपछि त्यसरी विभिन्न रोगको संक्रमण फैलिएको थियो तैपनि होम सेन्टर परिवर्तन नगर्न जिल्लावासीले गरेको आग्रह सरकारले सुनेन । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तयारीमा रहेकी त्रिभुवन उच्च माध्यमिक विद्यालय खलंगाकी छात्रा जानकी चन्द यतिवेला निकै तनावमा छिन् ।
एसएलसी परीक्षा दिन एक दिन टाढाको अर्को विद्यालय जानुपर्ने भएपछि उनी तनावमा परेकी हुन् । परीक्षालाई मर्यादित बनाउने भन्दै सम्बन्धित विद्यालयबाट परीक्षा दिन नपाइने सरकारी निर्णयसँगै फलामे ढोकाका रूपमा लिइने एसईई परीक्षा दिन उनी त्रिभुवन मावि दल्ली जानुपर्नेछ । दल्ली जान एक दिन लाग्छ । उनलाई परीक्षामा के लेख्ने भन्दा पनि त्यहाँ गएर कहाँ बस्ने ? कसरी बस्ने ? कोसँग बस्ने ? खानपिन ? सुत्ने जस्ता कुराको कसरी व्यवस्थापन गर्ने भन्ने मनमा खेलिरहन्छ । उनलाई मात्र होइन, उनको परिवारलाई समेत यो कुराले पिरोलिरहेको छ ।
सोही विद्यालयकी छात्रा रेखा रोकायको समस्या पनि उस्तै छ । पहिलो पटक एसईई परीक्षा दिन थालेकी उनलाई परीक्षा केन्द्र घरभन्दा निकै टाढा भएपछि त्यहाँ कसरी जाने र कहाँ बस्ने भन्ने चिन्ता छ । उनी एक दिन टाढा रहेको परीक्षा केन्द्रमा लगिदिने घरमा अभिभावक कोही नभएको बताउँछिन् । उनीहरूजस्तै सयौं विद्यार्थी यस्तै तनाव र चिन्तामा छन्, होम सेन्टरबाट परीक्षा दिन नपाइने सरकारी निर्णयले ।
विद्यार्थी मात्र होइन, उनका अभिभावकसमेत चिन्तामा छन्, होम सेन्टर हटाउने निर्णयले । १० वर्षसम्म घरबाटै विद्यालय गइरहेका छोराछोरी एसएलसी परीक्षा दिन मात्र अर्को विद्यालय जानुपर्ने भएपछि अभिभावकसमेत चिन्तामा परेका हुन् । भेरी नगरपालिका-४ का अभिभावक विष्णु भँडेल परीक्षालाई मर्यादित बनाउने नाममा परीक्षा केन्द्र परिवर्तन गरेर परीक्षाको मुखैमा विद्यार्थी र अभिभावकलाई तनाव र सास्ती दिने काम मात्र भएको गुनासो गर्छन् । उनीहरू गत वर्षजस्तै संक्रमण फैलिने हो कि भन्ने त्रासमा पनि छन् ।
परीक्षाका वेला विद्यार्थी तनावमा हुनुहुँदैन । ‘तनावरहित वातावरणमा परीक्षा दिन पाउनुपर्छ । तनाव, भय, त्रासबीच दिएको परीक्षाको परिणाम कस्तो होला ? सरकारले १० वर्षसम्म गरेको लगानी ३ घन्टामा मापन गरिन्छ त्यो पनि सबै विद्यार्थीलाई तनावमा पारेर अनि कसरी आउँछ सही परिणाम ? ' अभिभावक लालबहादुर चन्दले भने, ‘परीक्षा मर्यादित र व्यवस्थित हुनुपर्छ यस कुरामा दुईमत छैन तर परीक्षालाई मर्यादित गराउने नाममा विद्यार्थीलाई तनाव र सास्ती दिने गरी होम सेन्टर हटाउने सरकारको जुन निर्णय छ यो व्यावहारिक छैन ।'
अझ जाजरकोटजस्तो दुर्गम जिल्ला जहाँ भौगोलिक विकटता छ, एउटा गाउँबाट अर्को गाउँ जान घन्टौं हिँड्नुपर्ने बाध्यता छ, त्यस्ता ठाउँमा होम सेन्टर हटाउने निर्णयले विद्यार्थी र अभिभावकलाई चिन्ता, तनाव र सास्ती मात्र दिने गरेको नागरिक अगुवा केशवजंग शाह बताउँछन् । अहिले पनि जिल्लाका अधिकांश विद्यालयमा विषयगत शिक्षक छैनन् ।
तल्लो तहका शिक्षकले माथिल्लो तहको जेनतेन पठनपाठन गरिरहेका छन् । धेरै विद्यालयमा अहिलेसम्म आधा कोर्स पनि पूरा भएको छैन । यस्तो अवस्थामा परीक्षा केन्द्र मात्र परिवर्तन गरेर शिक्षामा सुधार ल्याउन सकिन्छ ? प्रतिप्रश्न गर्दै उनले भने, ‘एक जना विद्यार्थीको कम्तीमा १० हजार खर्च हुन्छ, गरिब विद्यार्थीले कसरी उक्त पैसा जुटाउने ? ' कतिपय यस्ता ठाउँ छन् जहाँ पैसा खर्च गरेर पनि खाने, बस्ने होटेल पाइँदैनन् । गाउँलेको घरमा बस्नुपर्छ, आफैं खाना पकाएर खानुपर्ने बाध्यता छ।
‘गाडीबाटै परीक्षा केन्द्रसम्म जान सकिने तराई तथा सहरी क्षेत्रका केही विद्यालयमा होम सेन्टर परिवर्तन गरे पनि खासै फरक पर्दैन तर भौगोलिक रूपमा विकट रहेका जहाँ होम सेन्टर परिवर्तन गर्दा डेरा नै लिएर बस्नुपर्छ त्यस्ता ठाउँका लागि यो निर्णय विल्कुल गलत र अव्यावहारिक छ', शिक्षक संघ जाजरकोटका अध्यक्ष जनकबहादुर सिहले भने, ‘कतिपयका अभिभावकसमेत साथमै जानुपर्ने हुन सक्छ । यसो हुँदा सदरमुकाममा आउनेले त होटेल र कोठा पाउलान् तर गाउँमा एकै पटक सयौंको संख्यामा गएका अभिभावक र विद्यार्थीको बासको समस्या टड्कारो रूपमा देखा पर्छ ।
तसर्थ यो निर्णय तत्काल सरकारले फिर्ता लिनुपर्छ ।' होम सेन्टर कायम गर्दा अभिभावक र शिक्षकको चलखेल हुन्छ र परीक्षा भद्रगोल र अमर्यादिन हुन्छ भनेर यो निर्णय गरिएको हो भने विकल्प अरु पनि हुन सक्ने उनले बताए । अमर्यादित कार्यमा संलग्न शिक्षकलाई निष्कासन गर्ने, ग्रेड रोक्का गर्ने, नसिहत दिने, स्पष्टीकरण सोध्नेलगायत कार्य गर्न सकिन्छ भने अभिभावकलाई सचेतीकरण र अभिमुखीकरण गरेर सम्झाउन पनि सकिन्छ । विद्यार्थीलाई पनि निष्कासन र एक्सफेल्ड गरेर नसिहत दिन सकिने अध्यक्ष सिंहको सुझाव छ ।
जिल्ला शिक्षा कार्यालयका अनुसार जाजरकोटमा ६४ माध्यमिक विद्यालयका १९ वटा परीक्षा केन्द्रबाट ५ हजार ६ सय १५ विद्यार्थीले परीक्षा दिँदै छन् । कुनै पनि विद्यालयले आफू अध्ययनरत विद्यालयबाट परीक्षा दिन पाउने छैनन् । परीक्षालाई मर्यादित र व्यवस्थित बनाउने भन्दै शिक्षा विभागको परिपत्रअनुसार नै यो निर्णय ४ वर्षदेखि लागू गरिँदै आएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए ।
जाजरकोटलगायत कतिपय दुर्गम पहाडी तथा हिमाली जिल्लामा होम सेन्टर हटाउने निर्णय व्यावहारिक छैन जिल्ला शिक्षा अधिकारी सिंहले भने, ‘गत वर्ष झाडापखाला फैलिएका परीक्षा केन्द्रको अनुगमन गर्दा खानेपानी र शौचालयको अभाव, दूषित पानीको प्रयोग, सरसफाइको कमी, गाँस-बासको समस्या, छात्रा यौन हिंसामा पर्ने गरेको, दाउराको समस्या, पढाइको चापले कतिपय विद्यार्थीले बासी खाना खान बाध्य भएको पाइयो ।'
यसकारण होम सेन्टर परिवर्तन हटाउन आफूले सम्बन्धित निकायमा पहल गरे पनि सुनुवाइ नभएको बताए । होम सेन्टर परिवर्तनका कारण अर्को ठाउँमा एक जना विद्यार्थीको साथमा थप दुई जना जाने र एउटै कोठामा कोचिएर धेरै बस्नुपर्ने भएकाले पठनपाठनमा त विद्यार्थीलाई समस्या पर्छ नै स्वास्थ्यमा समेत समस्या पर्ने देखिन्छ । शिक्षा ऐनअनुसार विद्यालय तहसम्म घरबाट आधा घन्टाको दूरीमा अध्यापन गराउने व्यवस्था मिलाइने उल्लेख छ तर विद्यार्थीलाई थप सास्ती दिने गरी परीक्षा केन्द्र परिवर्तन गरिनु बाल अधिकारको समेत हनन हुने अधिकारकर्मीको धारणा छ ।
राजेन्द्र कार्कीले अन्नपूर्ण पोष्टमा लेखेको खबर ।
प्रतिक्रिया