Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

तेजगंगा क्याम्पसले गल्ती स्वीकारेपछि मृतकका परिवारले चार दिनपछि शव बुझे

बुधबार, ०२ चैत्र २०७३

काठमाडौं २ चैत/ भालेश्वर मावि पनौतिमा कक्षा ९ मा अध्ययनरत छात्र सन्तोष थापाको मृत्युको विषयलाई लिएर तेजगंगा क्याम्पसले गल्ती स्वीकारेको छ । क्याम्पस प्रशासनसँग  १५ लाख क्षतिपूर्ति दिने सहमति भएपछि मंगलवार मृतकका परिवारले शिक्षण अस्पतालमा रहेकाे शव बुझेका छन् । आफ्नो गल्ती भएको स्वीकार्दै क्याम्पस प्रमुख डा. आम्बुभवनी कार्कीले मृतकका परिवारलाई १५ लाख नगद क्षतिपूर्ति दिन मञ्जुर भएकी थिइन् । क्षतिपूर्तिसहित केही मागहरु पूरा गर्ने भएपछि मृतकका परिवारले शव जिम्मा लिन सहमति जनाएको भालेश्वर माध्यमिक विद्यालयका विद्यालय विद्यालय व्यस्थापन समितिका अध्यक्ष राजेन्द्र केसीले जानकारी दिए ।

मंगलबार जिल्ला प्रशासन कार्यालय धुलिखेलका प्रमुख शिवप्रसाद सिम्खडा, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सहकुल थापा, क्याम्पस प्रमुख डा. आम्बुभवानी कार्की, नेपाल विद्युत प्राधिकरण प्रमुख, पनौति नगरपालिकाका कार्यकारी अधिकृत श्यामकुमार खड्का, भालेश्वर माविका अध्यक्ष राजेन्द्र केसी र पीडित परिवारको सहभागितामा छलफल भएको थियो । छलफलमा तेजगंगा क्याम्पसले १५ लाख रुपैयाँ रकम क्षतिपूर्ति दिने, मृतकका सनतानलाई उच्च शिक्षा निःशुल्क प्रदान गर्ने, उनका परिवारलाई तेजगंगा क्याम्पस र नेपाल विद्युत प्राधिकरणले रोजगारी प्रदान गर्ने, विद्युतलाई व्यवस्थापन गर्ने लगायतका विषयमा सहमति भएको थियो ।

गत शनिबार पनौति–८, निवासी छात्र थापा कपलकोट पिक्निक स्पोटमा साथीहरुसँग फुटवल खेल्दा बल तेजगंगा कलेजको नवनिर्मित भवनको छतमा खसेको थियो । छतमा अड्किएको बल लिन जाँदा थापाको करेन्ट लागेर मृत्यु भएको थियो । क्याम्पसको छतमा रहेको रडमा विजुलीको तारले छोएको र उक्त रड समात्न पुग्दा थापाको मृत्यु भएको थियो । सोही विषयलाई लिएर मृतकका आफन्त शव जिम्मा लिन मानेका थिएनन् ।

अन्ततः झुके आम्बु

डा. आम्बुभावनी कार्कीले थापाको मृत्युको विषयलाई लिएर खासै चासो लिएकी थिएनन् । ‘छतमा वल लिन किन गएकाे ? विना अनुमति क्याम्पसको छतमा किन पसेको ?’ जस्ता प्रतिप्रश्न गर्दै आलटाल गर्न खोजेकी थिइन् । ‘मेरो गल्ती नै छैन, जे गर्न मन लाग्छ गर भनेपछि शिक्षा जस्तो सम्बेदनशील निकायको नेतृत्व गर्ने व्यक्ति यति धेरै गै जिम्मेवारी बन्नु दुःखको कुरा हो ।’ भालेश्वर माविका अध्यक्ष राजेन्द्र केसीले भने,‘अन्ततः उहाँले गल्ती स्वीकार्नु भयो ।’
नयाँ पत्रिकामा राजकुमार गोलेले लेखेको खबर ।

प्रतिक्रिया