- रामप्रसाद दुलाल / गणित संसारका हरेक आधारभूत तथा माध्यमिक विद्यालयहरुमा अनिवार्य रुपमा समावेश हुँदै आएको महत्वपूर्ण विषय हो । गणना र अंकहरुको सेरोफेरोबाट तार्किक विश्लेषण गरी निष्कर्ष प्रदान गर्ने एकमात्र विषय नै गणित हो भन्नुमा कुनै अत्युक्ति नहोला । हरेक विषयक्षेत्रलाई सुन्दर प्रस्तुतीकरण र तार्किक विश्लेषण गरी उचित निष्कर्ष बोध गराउँदै आफ्नै वा अन्य विषयको सान्दर्भिकतालाई उत्खनन् गर्ने विषय नै गणित भएकाले यसलाई सौन्दर्यात्मक विषय पनि मानिन्छ । संसारका हरेक विषयका विषयक्षेत्रबाट गणितलाई झिकिदिने हो भने ती सबै अपूर्ण मात्र होइन, अर्थहीन नै भइदिन्छन् । मानव जीवन र भौतिक धरातलसँग प्रत्यक्ष सम्बन्धित कुनै विषय छ भने अग्रपञ्क्तिमा केवल गणित नै रहन्छ । नेपालको आधारभूत तथा माध्यमिक तहमा गणितको महत्वलाई बोध गर्दै अनिवार्य विषयको रुपमा समावेश गरिएको छ । विद्यार्थीहरुमा लगानी तथा अध्ययन समयको दृष्टिले सबैभन्दा ठूलो हिस्सा गणितले नै ओगटेको छ ।
मानवीय क्रियाकलापको अन्तर्निहित शक्ति गणितमा नै निहित छ । विज्ञानले वर्तमान विश्वमा जुन प्रभाव पारेको छ, त्यसको अदृश्य शक्ति गणित नै रहेको छ । यो विश्वलाई चलचित्र मान्ने हो भने विज्ञानलाई हिरो भन्न सकिन्छ भने गणितलाई त्यसैको निर्देशक मान्न सकिन्छ । गणितीय प्रमाणीकरण बिना विज्ञानले आफ्नो अस्तित्व स्थापित गर्न सक्दैन तसर्थ गणित सर्वव्यापी छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ तसर्थ गणितको भूमिका मननीय र गहन छ । यो बिना विश्वजगत् तथा स्वयं विज्ञान अपाङ्ग छ र गणित एकमात्र अनिवार्य विषय भएको छ ।
संसारमा गणितको महत्व र महिमा जति नै भए पनि यसलाई विद्यार्थीमाझ सहजै सजिलो महसुस गर्न र गराउन सकेको अवस्था छैन । गणितलाई सबैभन्दा कठिन विषयको रुपमा स्वीकारिएको दुर्भाग्यपूर्ण अवस्थाबाट संसार मुक्त छैन । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबीच सबैभन्दा कठिन विषय कुन हो ? भनेर प्रश्न गर्दा अधिकांशको उत्तर एउटै आउँछः गणित । नेपाली विद्यार्थीहरुको सानो समूहमा मात्र गणित लोकप्रिय छ तर पनि सामुदायिक विद्यालयमा यो गणना अत्यन्तै न्यून छ । सामुदायिक विद्यालयका विद्यार्थीका लागि गणित विषय भूतको घर भएको छ, जसलाई उनीहरु सम्झन समेत चाहँदैनन् । गणित विषयका शिक्षकहरु सबैभन्दा धेरै दुःख गर्छन् ।
गणितका तरिका, सूत्र, सिद्घान्तहरु निकै सिकाउने गर्छन् तर पनि परीक्षामा प्रायः विद्यार्थीहरु गणितमा नै अनुत्तीर्ण हुन्छन् । विद्यार्थीलाई एस.एल.सी. उत्तीर्ण गराउने ठेक्काको सबैभन्दा ठूलो ठेकेदार गणित शिक्षक नै हुन्छ तर पनि अनुत्तीर्ण विद्यार्थीहरुमा अनिवार्य रुपमा गणित लागेकै हुन्छ । गणितमा विद्यार्थीको त्रासले गर्दा शिक्षक पनि निराश भएको विद्यामान अवस्था छ । गणितको वास्तविक ज्ञान हासिल गर्न तमाम विद्यार्थीहरु किन असफल भइरहेका छन् ? गणितीय ज्ञानको बोधबाट विद्यार्थीहरु किन विचलित भई आफूलाई गणित विमुख महसुस गर्छन् ? गणितले किन सबैभन्दा कठिन विषयको दर्जा हासिल गरिरहेको छ त ? के विद्यार्थीले गणितीय विषयवस्तु सिक्नै सक्दैनन् ? यदि सक्छन् भने गणितको शैक्षिक उपलब्धि किन न्यून भइरहेको छ ? राज्यको शैक्षिक उद्देश्य प्राप्तिमा गणित किन बाधक बनिरहेको छ ? अधिकांश विद्यार्थीहरुमा गणितप्रति वितृष्णा जाग्नुको कारण के हो ? भन्ने जस्ता प्रश्नले गणितीय संसार आक्रान्त बनिरहेको छ ।
विद्यालय तहमा म स्वयं गणितबाट विकर्षित भएको उत्कृष्ट नमुना थिएँ । हाल म गणित मन पराउँछु र गणितकै शिक्षक भएर जीविकोपार्जन गरिरहँदा यो नै मेरो जीवन भएको र लाग्छ यो नै मेरो लागि दन्त्यकथा हो । मेरो विद्यालय जीवन र हालको जीवन गणितीय दृष्टिकोणमा एउटै सिक्काका दुई पाटाझैँ छन् जो एउटै जीवन भएर पनि एकअर्कामा विपरीत छन् र कदापि एकले अर्कालाई देख्न सक्दैनन् । त्यतिबेला गणितबाट विकर्षित हुने म यतिबेला छोड्नै नसक्ने गरी आकर्षित भएको छु । स्नातकोत्तर तहको शोधपत्र लेख्ने बेलामा आफ्नै जीवनको अध्ययन गर्ने इच्छाले गर्दा विद्यालयका मजस्ता विद्यार्थीहरुमा गणितप्रति वितृष्णा जाग्नुका कारणहरु खोजी गर्ने प्रयास गरेको थिएँ ।
मेरो शोधपत्रको शीर्षक थियोः Causes of Anxiety in Mathematics Learning । यो शोधपत्रका आधारमा विद्यालय तहका विद्यार्थीहरु किन गणित भनेपछि त्रसित छन् ? गणितप्रति उनीहरुको रुचि र इच्छा किन जागरुक हुन सकेको छैन ? गणितीय शैक्षिक उपलब्धि किन कमजोर, गुणस्तरहीन र न्यून छ ? उनीहरुमा गणितप्रति वितृष्णा जाग्नुका खास खास कारणहरु के के हुन् ? भन्ने जस्ता यथार्थ प्रश्नहरुको यथार्थ जवाफलाई शोधपत्रमा आधारित भएर प्रस्तुत गर्ने प्रयास गरेको छु तसर्थ गणितप्रति विद्यार्थीहरुमा वितृष्णा जाग्नुका कारणहरु निम्न छन् :
(१) गणितप्रति आत्मविश्वासको अभाव (Lack of Self-efficacy/Self-confidence)
आत्मविश्वास सिर्जना र कार्य सफलताको लागि अनिवार्य तŒव हो । यसले सिक्ने क्षमतालाई रुचिपूर्वक अभिवृद्घि गर्दछ । आत्मविश्वासको अभावले दिमागी सिर्जनात्मकतालाई अबरुद्घ पार्दछ । हाल सामुदायिक विद्यालयका अधिकांश विद्यार्थीहरु यही आत्मविश्वासको अभावरुपी महारोगबाट ग्रसित छन् । उनीहरुमा गणित सिक्न सकिन्छ भन्ने भावना र मनोबल उच्च नहुँदा चाहेर पनि गणितीय सिकाइले स्थायीत्व पाउन सकेको छैन । अघिल्ला पुस्ताहरुबाट स्थानान्तरण भएको गणितप्रतिको खराब अवधारणाले पछिल्ला पुस्ताहरुको आत्मविश्वासको हरण भएको छ । Misconception towards mathematics from past generation has been created the anxiety in mathematics learning. गणितप्रति विद्यार्थीहरु भयभीत छन् । गणित गाह्रो हुन्छ भन्ने खराब मनोविज्ञानरुपी संस्कृतिको विकास पुस्तौँदेखि भएकाले यो नै गणित सिकाइको सबैभन्दा संवेदनशील र अदृश्य चुनौति भएको छ । विद्यार्थीहरुमा गुमेको आत्मविश्वासलाई स्थापित नगराउँदासम्म गणितीय सिकाइमा गुणस्तरीयता प्राप्त नहुने निश्चित छ ।
(२) संरचनात्मक बोधको अभाव (Lack of Structural Understanding)
गणित साञ्केतिक संरचनाको अध्ययन हो । गणितीय सिकाइ र बोधको गुणस्तरीयता हरण गर्ने प्रमुख कारक तŒव यसको संरचनात्मक अध्ययनको अभाव देखिएको छ । गणितका आफ्नै साञ्केतिक शब्दावली, भाषा सिद्घान्त र आधारभूत मान्यताहरु छन् । यसको आफ्नै दर्शन र संरचनात्मक अस्तित्व छ । यो अमूर्त छ र मूर्त क्रियाकलापको अपेक्षा राख्दछ । गणितीय संरचनाको बोधले सिकाइमा प्रत्यक्ष र सकारात्मक प्रभाव पार्दछ । उसमा संरचनात्मक बोधको अभाव छ । शिक्षकहरुमा पनि गणितीय संरचनाको राम्रो बोध र संरचनात्मक शिक्षण कलाको विकास हुनु जरुरी छ ।
The structural understanding of mathematical subject-matter is directly proportional to the conceptual understanding, conceptual understanding is directly proportional to the student’s self-efficacy and self-efficacy is inversely proportional to the anxiety in mathematics learning.
तसर्थ विद्यार्थीहरुमा संरचनात्मक अध्ययनको अभावले गणितप्रति वितृष्णा जागेको प्रष्ट देखिएको छ ।
(३) पर्याप्त अभ्यासमा कमी(Lack of Sufficient Exercise)
पाठ्यक्रममा समाविष्ट विषयहरुमध्ये सबैभन्दा धेरै अभ्यासको माग गर्ने विषय गणित नै हो । अभ्यासविना गणितमा दख्खलता प्राप्त हुन सक्दैन । वर्तमान समयमा अधिकांश विद्यार्थीहरुमा अभ्यास गर्ने लत खस्कँदो अवस्थामा छ । अभ्यास र गणितीय सीप विकासमा समानुपातिक सम्बन्ध भएको तर विद्यार्थीहरुको अभ्यास गर्ने दर घट्दो क्रममा भएकाले यसमा अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन ।
Practice in mathematics is directly proportional to mathematics learning and is inversely proportional to its anxiety.
अभ्यासको कमीका कारण समस्या समाधानमा रुचिको जागरण हुन सकेको छैन । समस्यासँग परिचित हुने र समाधान गर्ने बानीको निर्माण हुन नसक्नुले गणितीय समस्याले त्रास उत्पन्न गराउँदै गएको छ । अभ्यास गर्ने बानीको सिर्जनात्मक जागरण नहुँदासम्म गणितप्रतिको वितृष्णाको दर बढ्दै जाने निश्चित छ । घरायसी वातावरण अनुकुल नहुँदा पनि विद्यार्थीहरु अभ्यास गर्नबाट विचलित भएका छन् ।
(४) गृहकार्यको उपेक्षा(Negligence to homework)
गणितीय अभ्यासलाई निरन्तरता दिने र यसको सीपमूलक उपलब्धिलाई गुणस्तरीय रुपबाट विकास गराउने काम गृहकार्यले गर्दछ । अभ्यासलाई पर्याप्तता दिने काम केवल गृहकार्यले मात्र गर्न सक्ने तर सामुदायिक विद्यालयका अधिकांश विद्यार्थीहरुले गृहकार्यलाई उपेक्षा गरेका कारण यही गणित उनीहरुका लागि त्रासदीपूर्ण विषयको रुपमा देखापरेको छ । शिक्षकले गृहकार्य नदिने, विद्यार्थीले गृहकार्य नगर्ने र शिक्षकले गृहकार्य परीक्षण गरी सुधारोन्मुख पृष्ठपोषण प्रदान नगरेका कारण गणितप्रति वितृष्णा बढ्दै गएको देखिन्छ ।
Doing homework is directly proportional to practice in mathematics and practice in mathematics is inversely proportional to its anxiety. So the decreasing rate of doing homework resulted the increasing rate of anxiety in mathematics learning. Teacher’s negligence to check homework is directly proportional to the negliency to do homework from students. Consequently, the self-confidence on mathematics is minimized and so the anxiety is maximized.
(५) सिकाइमा अनुशासनको अभाव (Lack of discipline on Learning)
वर्तमान समयमा शिक्षक र विद्यार्थीकोे व्यवहारमा स्थायीत्व कायम हुन सकेको छैन । एक–अर्कामा जतिसुकै सामीप्यता बढ्दै गए पनि त्यो सिकाइद्वारा निर्देशित हुन सकेको छैन । विद्यार्थीमा सिकाइ अनुशासनको खडेरी बढ्दै जाँदा सिकाइको प्राङ्गणबाट उनीहरु टाढिँदै गएका छन् । गणित सिकाइमा विद्यार्थीहरु मानसिक रुपमा उपस्थित हुन नसक्दा शिक्षकप्रति उनीहरु भावनात्मक रुपमा नजिकिए पनि सिकाइ केन्द्रित भएर नजिकिने अवस्था टाढिँदै गएको छ । अनुशासनले सिर्जनात्मक सिकाइमा सकारात्मक प्रभाव पार्ने हुनाले यसैको अभावमा सिर्जनशीलता लोप हुँदै गएको छ ।
Good discipline creates the seriousness towards learning and increases the creativity about mathematics learning. Creative thinking is directly proportional to the self-efficacy and strong self-efficacy is inversely proportional to the anxiety in mathematics learning. Most of the students loose their self-confidence and they are suffering from mathematical difficulties.
(६) सान्दर्भिक शैक्षिक सामग्री निर्माण र प्रयोग नहुनु ( Lack of relevant materials)
प्रभावकारी शैक्षिक सामग्रीविना गणितीय विषयवस्तुको धारणालाई स्थापित गराउन सकिँदैन । गणितको गुणस्तरीय सिकाइको लागि शैक्षिक सामग्री अनिवार्य छ । गणितका शिक्षकहरुमा शैक्षिक सामग्री बनाउने पर्याप्त ज्ञान र जाँगर नहुँदा गणित पढाइएको छ तर सिकाइएको छैन । जबसम्म विषयवस्तु सान्दर्भिक सामग्रीको निर्माण र प्रयोगद्वारा कलात्मक शिक्षणविधिको अनुशरण गर्न सकिन्न तबसम्म गणित शिक्षकले मैले सिकाएँ भनेर गर्व गर्नु व्यर्थ छ । शैक्षिक सामग्रीको प्रयोग किन गर्ने त ? किनकिः
Selection of appropriate teaching strategies and effective instructional materials is directly proportional to structural and conceptual understanding of mathematical subject-matter and is inversely proportional to anxiety in mathematics.
सामुदायिक विद्यालयले र सम्बन्धित शिक्षकले गणितप्रतिको वितृष्णलाई हटाउने यो अनिवार्य शर्तलाई गहन ढञ्गबाट बोध नगरेसम्म गणितप्रतिको त्रास अझ गहिरिँदै जाने निश्चित छ ।
(७) सामुहिक एकता र समर्पणको अभाव (Lack of teamwork spirit and Sacrifice )
शिक्षकहरुको सामुहिक एकता र विद्यार्थीसँगको शिक्षण सापेक्ष सामीप्यताले विद्यालयलाई गुणस्तरीय शैक्षिक उत्पादनको केन्द्र बनाउन सकिन्छ । विद्यालयको साझा उद्देश्यमाथि सबैको सामुहिक एकता र लगावले सिकाइलाई अर्थपूर्ण बनाउन सकिन्छ । पाठ्यक्रमका हरेक विषयहरु अन्तरसम्बन्धित हुन्छन् । कुनै एक विषयको सिकाइपूर्ण आत्मविश्वासले अर्को विषयको सिकाइलाई असर पार्ने हुनाले तुलनात्मक रुपमा कठिन र अमूर्त मानिने गणितलाई अन्य विषयले सहयोग गर्न सकेको छैन । अन्य व्यावहारिक विषयमा नै विद्यार्थीहरुको धारणात्मक बोध कमजोर भएर गएकाले गणितीय उपलब्धि पनि कमजोर भएको देखिन्छ । शिक्षकहरुबीचको शैक्षणिक एकता कमजोर र प्रशासनको दिशाविहीन गतिले केही गरौँभन्ने भावनाका मनहरु क्रियात्मक कार्यमा जोडिन सकेका छैनन् । गणितीय गुणस्तरीयताको बाधक यसलाई पनि मान्न सकिन्छ ।
Strong teamwork spirit implies effective teaching and learning activities and is inversely proportional to the anxiety in mathematics learning.
(८) सार्ने/चोर्ने प्रवृत्तिको विकास (Development of cheating behavior)
अहिलेको शैक्षिक परिवेश र यसको गुणस्तरीय यात्रालाई निस्तेज पार्ने गरी विकास हुन पुगेको सबैभन्दा घातक महारोग चोरेर पास गर्ने भरोसावादी संस्कृतिको विकासलाई गणितप्रतिको वितृष्णाको मूल कारणको रुपमा शतप्रतिशत ठोकुवा गर्न सकिन्छ । प्रवेशिका परीक्षामा चोराउने ठूलो मेला लाग्ने गरेको छ । दशैंमा घरमा आउन नभ्याउने आफन्तहरु पूरै शक्ति लगाएर एस.एल.सी.मा चोराउन आइपुग्ने गरेका छन् । सम्बन्धित विद्यालयको पूरै टिम विद्यार्थीलाई चोराउने च्यानल मिलाउन व्यस्त हुन्छन् । नाम शुद्घ लेख्ने बनाउन नसक्ने विद्यालयहरु परीक्षा पास गराउने उत्कट चाहना पालेर मस्त रहन्छन् । परीक्षामा चोर्न पाइन्छ भन्ने मीठो सपनाले ग्रस्त विद्यार्थीहरु सिक्ने आन्तरिक चाहनाको विकास गराउनबाट भ्रष्ट हुँदै गएकाले गणितप्रतिको झुकाव विलय हुँदै गएको छ । परीक्षा निरीक्षकहरु चिट चोराउने परीक्षक भइदिँदा गुणस्तरीय परीक्षाको मर्यादा शिलालेखमा अञ्कित हुने अवस्थामा पुगेको छ । गणितप्रति वितृष्णा जगाउने यस कारणलाई अन्त्य गरेर मर्यादित परीक्षाको कार्यान्वयनद्वारा सार्ने वा चोर्ने आशावादी प्रवृत्तिलाई निस्तेज नपारेसम्म गुणस्तरीय सिकाइ एकादेशको कथा भइरहने निश्चित छ ।
Cheating behavior is inversely proportional to creative thinking, creative thinking is directly proportional to the self-efficacy within the students, and self-efficacy is inversely proportional to the anxiety in mathematics learning. So, cheating behavior is inversely proportional to the mathematics anxiety. Cheating is the main factor to reduce mathematical thinking in order to produce anxious feelings among the students.
(९) विद्यार्थीहरुको लक्ष्यविहीन अवस्था (Aimless condition of students)
सामुदायिक विद्यालयका अधिकांश विद्यार्थीहरुमा भावी लक्ष्यको निर्धारण हुन सकेको छैन । भविष्यको गन्तव्य निश्चित नहुँदा प्रेरणादायी सिकाइमा सहभागी भएर सिकाइप्रति मानसिक वातावरण निर्माण गर्नबाट विद्यार्थीहरु पूर्णरुपमा चुकेका छन् । प्राप्ति उन्मुख लक्ष्यको अभावमा गति उन्मुख सिकाइ नहुँदा गणितको महŒव बोध गराउँदै गुणस्तरीयता स्थापित गराउने चुनौति दिनानुदिन बढ्दै गएको छ ।
Most of the students are aimless. They think that there is nothing to get in future through learning. They are unable to generate themselves internally in order to create mental learning environment. Future plan is directly proportional to motivated learning and motivated learning is directly proportional to qualitative learning and is inversely proportional to the anxiety.
(१०) गणितको व्यावहारिक प्रयोगको महसुस नहुनु (Lack of behavioral use)
गणितलाई केवल एस.एल.सी. उत्तीर्ण गर्ने एउटा विषयको रुपमा मात्र स्वीकार गर्ने प्रचलनले गर्दा र यसको प्रगोगको क्षेत्रलाई विद्यार्थीहरुले पहिल्याउन नसक्दा यसलाई आत्मबोध हुने गरी स्वीकार गर्ने अवस्था सिर्जना हुन सकेको छैन । गणितीय विषयवस्तु सिकाउँदा वर्तमान मानवीय जीवनमा आइरहेको प्रगोगको सन्दर्भबोध नहुँदा यसप्रति रुचिको जागरण हुन नसक्नु नै वितृष्णाको जड बनेको छ । आफूले भोगेको कुरामा सबैले जीवन देख्छन् । जीवन समावेश भएको कार्यमा सबैको आत्मिक सम्बन्ध रहन्छ । आत्मिक सम्बन्ध भएको कार्यमा सबैले सफलता प्राप्त गर्दछन् । हो, गणित सिकाइमा विद्यार्थीको आत्मिक जीवन समावेश नभएका कारण यसको जैविक स्वाद महसुस गर्न र गराउन नसक्नु नै यसप्रतिको वितृष्णाको प्रमुख कारणको रुपमा रहेको छ ।
Mathematical concepts and subject-matters are unable to touch the student’s life in real situation. Students do not think mathematical concepts from the perspectives of life. Such condition has been created the anxiety in mathematics learning.
(११) अभिभावकको गैह्रसिर्जनात्मक भूमिका (Non-Creative role of Parents)
सामुदायिक विद्यालयका अधिकांश अभिभावकहरु शैक्षिक दृष्टिकोणबाट पछाडि रहेको अवस्था छ । कृषि पेशामा आधारित भएकाले सधैं व्यस्त रहनु पर्ने, छोराछोरीहरु उनीहरुसँगै सहयोगी भइरहनु पर्ने, बच्चाहरुले पढे नपढेको मूल्याञ्कन गर्न नसक्ने, बिदाको समयमा घरमा अध्ययन समय उपलब्ध नगराउने, विद्यार्थीहरु स्वयं फुर्सद हुँदा पनि पढ्नुपर्छ भन्ने भावनाबाट स्वजागृत संस्कृतिको विकास गराउन असक्षम रहने, विद्यार्थीहरु अभिभावकको नियन्त्रणमा नरहने, छोराछोरीप्रति आफ्नो शैक्षिक भूमिका के रहनु पर्ने हो विश्लेषण नगर्ने, बच्चाहरु विद्यालय गएका छन् भनेर ढुक्क रहने, शिक्षकलाई भेट्दा हजुरहरुको जिम्मामा छ भनेर पन्छिने जस्ता कारणहरुले गर्दा विद्यार्थीहरुमा पठनीय संस्कृतिको विकास हुन सकेको छैन र परिणामस्वरुप सबैभन्दा ठूलो मूल्य गणित विषयले चुकाउनु परेको छ ।
Non-creative and non-educational role of parents to their children gave non-reasonable freedom and involvement of their home task. Consequently, the learning culture was unable to develop on holidays.
उद्धृृतांश कारणहरु प्रमुख भए पनि केवल प्रतिनिधि मात्र हुन् । यी र यस्तै कारणहरुले गणितप्रतिको वितृष्णालाई दिनानुदिन बढाइ रहेको छ । यी कारणहरुलाई उचित ढञ्गबाट सम्बोधन गर्न सकिएन भने गणितीय धरातल कमजोर हँुदै जाने निश्चित छ । सबै शिक्षक वर्गमा समस्याहरुको सामना गर्दै गणितीय गुणस्तरीयता अभिवृद्घिमा लाग्न प्रेरणा मिलोस् ।
(यो लेख हामीले सिन्धुपाल्चोकस्थित तेर्से उच्च माध्यमिक विद्यालयको स्मारिका 'तेर्से दर्पण-२०६९" बाट लिएका हौँ)
प्रतिक्रिया