काठमाडौं - शिक्षकले नै शिक्षक संघसंगठनदेखि शिक्षक महासंघ समेतलाई शिक्षकको दुश्मन भएको आरोप लगाएका छन् ।
मंगलबार राजधानीमा भेला भएका शिक्षकले शिक्षकका हक हितका लागि भन्दै स्थापना भएका विभिन्न दलनिकट संघसंगठनदेखि महासंघसम्म आफ्नो मात्र स्वार्थ पूरा गर्न उद्यत रहेको भन्दै सो आरोप लगाएका हुन् ।
पुनरुत्थान पार्टी नेपालले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रियामा सहभागी शिक्षकले उक्त आरोप लगाउँदै शिक्षकका मुद्धालाई शिक्षक संघसंगठन र महासंघले उठाउन नसकेको बताए ।
भेलामा सहभागी गुह्यश्वरी मावि काठमाडौंमा कार्यरत शिक्षक रश्मी चौंलागाइँले आफू पहिला निजी शिक्षकका रुपमा सो स्कुलमा प्रवेश गरेको र पछि स्कुलले राहत कोटामा आफूलाई नियुक्त गरेलगत्तै आफूलाई स्कुलले बिदा दिएको बताउँदै सो विषयमा शिक्षक संगठनहरुको ढोका ढक्ढक्याउन जाँदा संगठनले आफूलाई आश्वासन मात्र देखाएको बताइन् ।
‘शिक्षकको हक हितको विषयमा आवाज उठाउला, मलाई परेको समस्या समाधान गरिदेला भन्ने आशा गरेको थिएँ तर केही काम गरेन ।’ पत्रकार सम्मेलनमा उनले गुनासो गरिन् ।
कार्यक्रममा सहभागी हुन विभिन्न जिल्लाबाट आएका शिक्षकले राज्यको गलत नीतिको सिकारमा आफूहरु परेको गुनासो गरेका थिए । भेलामा सहभागी लियन शिक्षक, अवकास गरिएका अस्थायी शिक्षक लगायतले पीडामा रहेका शिक्षकको पूनर्बहाली गनुपर्ने, सबै तह र प्रकारका अस्थायी शिक्षकलाई कार्यरत पदमै शतप्रतिशत सेवा अवधि गणना र बढुवासहित स्थायी गराउनुपर्ने विषयमा आवाज उठाएका थिए ।
‘हामीलाई परेको अन्यायको विषयमा वास्ता नगर्ने शिक्षक संघसंगठनकै कारण हामी थप पीडामा परेका हौं ।’ कार्यक्रममा सहभागी शिक्षक शेषमणि भट्टराईले भने । उनी लियन शिक्षक हुन् ।
कार्यक्रममा अभिवक्ता कोषराज काफ्लेले देशमा विभिन्न प्रकारका शिक्षकहरु रहेजस्तै शिक्षकका समस्या पनि त्यस्तै रहको बताउँदै शिक्षकका समस्याबारेमा महासंघ र शिक्षक संघसंगठनले पनि बेवास्ता गरेको बताए । ‘शिक्षक संघसंगठन नै शिक्षकका वर्ग दुश्मन देखिएका छन्, यदि ती नभइदिएका भए शिक्षकका समस्या समस्या भइसक्ने थियो ।’
उनले शिक्षकका समस्या समाधान गर्ने नाममा सरकारले विभिन्न दल निकट संघसंगठनसँग सन्धी÷सम्झौता र सहमति गरेको तर सहमतिलाई कार्यान्वयन भने नगरेको बताए ।
प्रतिक्रिया