काठमाडौं ३० फागुन/ प्रथम दिदीबहिनी कप महिला भलिबलको उपाधि काठमाडौंको न्यु डायमण्ड एकेडेमीले जितेको छ । कुश्मामा आइतबार सम्पन्न फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी एपीएफलाई ३–१ ले हराएर न्यु डायमण्ड च्याम्पियन भएको हो ।
विभागीय टिम एपीएफले फाइनलको पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै न्यु डायमण्डमाथि दबाब सिर्जना गरेको थियो । त्यसपछिका खेलमा भने न्यु डायमण्ड हावी भयो । उसले उत्कृष्ट खेल पस्कँदै दोस्रो सेट २५–२२ ले आफ्नो पक्षमा पार्दै खेल ११ को बराबरीमा पुर्यायो । तेस्रो सेटमा २५–२० को जित निकाल्दै २–१ ले अग्रता लिएको न्यु डायमण्डले चौथो सेट पनि २५–२० ले कब्जा गर्दै ट्रफी चुमेको थियो ।
न्यु डायमण्डले १ लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता एपीएफले ६० हजार रुपैयाँ हात पार्यो । न्यु डायमण्डकी कप्तान ललिता नाथले टिम स्पिरिट’ राम्रो र बलियो भएकाले जित हात पारेको बताइन् । एपीएफकी कप्तान विनीता बुढाथोकीले भनिन्, ‘फाइनलमा रिसिभ र डिफेन्स राम्रो नहुँदा उपाधि जित्न सकिएन ।’
दिदीबहिनी कपसँगै न्यु डायमण्डले यो वर्षको उपाधि संख्या चार पुर्याएको छ । उसले यसअघि दुई फाइनलमा पनि एपीएफ र एउटामा नेपाल पुलिसलाई हराएर उपाधि जितेको थियो । तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लबले आर्मीमाथि २५–१७, २६–२४ र २५–१९ को जित हात पारेको थियो । पुलिसले ४० हजार रुपैयाँमा चित्त बुझायो । प्रतियोगितामा न्यु डायमण्डकी प्रतिभा माली उत्कृष्ट खेलाडी घोषित भइन् । उनले पाँच हजार र ट्रफी प्राप्त गरिन् । न्यु डायमण्डकै कप्तान ललिता नाथले बेस्ट क्विकर, एपीएफकी सरस्वती चौधरीले बेस्ट स्पाइकर, एपीएफकै रेस्मा भण्डारीले बेस्ट सर्भर, पुलिसकी कोपिला उप्रेतीले बेस्ट ब्लकर, पुलिसकै कमला पुनले बेस्ट डिफेन्स र आर्मीकी जानकी भण्डारीले बेस्ट लिफ्टरको अवार्ड जिते ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया