२०७३ सालको माध्यमिक शिक्षा परीक्षा (जसलाइ गत वर्षसम्म एसएलसी परीक्षा भनिन्थ्यो) यही चैत्र ३ गतेबाट शुरु हुदैँछ । २०७३ असार १५ गते शिक्षा ऐन २०२८ को आठौं संशोधन २०७३ प्रमाणिकरण भए पछि नै स्कूल लिभिङ् सर्टिफिेकट एक्जामिनेश (एसएलसी) को नाम परिवर्तन भई माध्यमिक शिक्षा परीक्षा (सेकेण्डरी एजुकेशन एक्जामिनेशन – एसइइ) हुन पुगेको हो ।
शिक्षा प्रणालीको दृष्टिकोणबाट हेर्दा हिजोका दिनमा लिइएको एसएलसी परीक्षा र आजको माध्यमिक शिक्षा परीक्षाको मूल्य र मान्यतामा तात्विक भिन्नता छैन । तर व्यवहारमा आम जनमानसले यी दुवै परीक्षा समान प्रकृतिका हुन भनेर लिन सकेका छैनन् । धेरैको बुझाइमा यस वर्षदेखि हुने माध्यमिक शिक्षा परीक्षाको महत्व हिजोको दिनमा लिने गरिएको एसएलसी परीक्षा जत्तिको छैन भन्ने छ, जुन सत्य होइन ।
विगत वर्षदेखि माध्यमिक शिक्षा परीक्षामा अक्षराङ्कन पद्धतिको प्रयोग पश्चात त नपढे पनि पास भइन्छ भन्ने अर्को भ्रम थपिन पुगेको छ । शिक्षा ऐनमा भएको परिवर्तन र अक्षराङ्कन पद्धतिको प्रयोगबाट शिक्षा प्रणालीमा केही समय केही अन्योल सृजना हुन पुगेको भए पनि यसबाट केही सकारात्मक प्रभावहरु सृजना भएका छन् । यस परीक्षालाई नेपाली समाजले अब फलामे ढोका वा सुनौलो ढोका नभनिकन सहज रुपमा लिने संस्कृतिको विकास आफूमा गरिरहेको छ । अक्षराङ्कन पद्दतिमा अझ बढि अध्ययन गर्नुपर्छ भन्ने भावनाको विकास गर्न तथा विद्यालय तहका कक्षा १० को अन्तमा हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) र कक्षा १२ को अन्तमा हुने माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीइ) दुवैको आ–आफ्नो स्थानमा महत्व छ भनेर सबैलाई बुझाउन शिक्षा प्रणालीले अझ थप काम गर्नुपर्ने देखिएको छ ।
माध्यमिक शिक्षा परीक्षा सञ्चालन हुन गइरहेको यस घडिमा सबैले आत्मसाथ गर्नुपर्ने महत्वपूर्ण विषय भनेको यो परीक्षा हिजोका दिनमा सञ्चालित एसएलसी परीक्षा जत्तिकै महत्वपूर्ण छ । परीक्षा व्यवस्थापनका दृष्टिले केही परिवर्तन भएका होलान् तर परीक्षार्थीको दृटिकोणबाट हिजो र आज हुने परीक्षामा फरक छैन । विद्यालय शिक्षा प्रणालीमा हुने तीनओटा बाह्य परीक्षाहरु (कक्षा ८ को अन्तमा हुने, कक्षा १० को अन्तमा कुने र कक्षा १२ को अन्तमा हुने) मध्ये माध्यमिक शिक्षा परीक्षा (एसइइ) एउटा महत्वपूर्ण परीक्षा हो । कक्षा ११ वा सोसरहका विद्यालय शिक्षाका कार्यक्रममा विद्यार्थीले आफूले चाहेको वा रोजेको विषय पढ्न विगतमा जस्तै यस परीक्षामा राम्रो ग्रेड ल्याएको हुनुपर्छ । राम्रो ग्रेड हासिल गर्नका लागि विद्यार्थीले अझ बढि मेहनत गर्नुपर्छ । हिजो पनि नपढिकन राम्रो अङ्क ल्याउन सकिन्थेन भने अहिले पनि नपढिकन राम्रो ग्रेड ल्याउन सकिदैँन । अबको समय भनेको परीक्षार्थीले बडो संयमित भइ परीक्षामा सहभागी भइ परीक्षा दिनु हो र अन्य सम्वद्ध पक्षले यस कार्यमा आ आफ्नो स्थानबाट सहयोग गर्नु हो ।
माध्यमिक शिक्षा परीक्षा (एसइइ) विद्यार्थीको ल्याकत परीक्षण गर्ने साधनमात्र नभएर शिक्षा प्रणालीको सक्षमता, शैक्षिक व्यवस्थापन र सुशासन अवस्थाको चित्रण, शिक्षकको दक्षताको प्रमाणिकरण तथा अभिभावकले एक दशकसम्म गरेको लगानीको औचित्य पुष्टि गर्ने माध्यम पनि हो । यसलाइ सुसंस्कृत ढंगबाट सञ्चालन गर्न सके शिक्षा प्रणाली प्रतिको विश्वास बढ्छ, समग्र शिक्षा पद्दतिमा जवाफदेहीता वृद्धि हुन पुग्छ र मुलुकको इज्जत बढ्छ । मुलुकको इज्जत, प्रतिष्ठा र सुशासनसँग प्रत्यक्ष रुपमा जोडिएको यस परीक्षाको प्रभावकारी व्यवस्थापनमा शिक्षक, अभिभावक, संघसंस्था, नागरिक समाज, पत्रकार एवम् सबै सरोकारवालाहरुको सहयोग अपरिहार्य देखिन्छ ।
माध्यमिक शिक्षा परीक्षाको सञ्चालन र व्यवस्थापन चक्रभित्र सरकार, केन्द्राध्यक्ष र परीक्षा केन्द्रमा खटिने कर्मचारी एवम् सुरक्षाकर्मी, अभिभावक एवम् अन्य सरोकारवाला (शिक्षक, विद्यालय, नागरिक समाज, पत्रकार) तथा विद्यार्थी पर्छन् । यी चक्रमा रहेकामध्ये कुनै एकको कमजोरीले समग्र परीक्षाको व्यवस्थापनमा नकारात्मक प्रभाव र असर सृजना गर्नसक्छ । एउटको कार्यले अर्कोको कार्य सकारात्मक वा नकारात्मक दुवै ढँगबाट प्रभावित हुनसक्छ । परीक्षालाई व्यवस्थित ढँगबाट सञ्चालन गर्नका लागि यस चक्रभित्र रहेका सबै पक्षले आ आफ्नो भूमिका निर्वाह गर्नु आवश्यक छ । हामीकहाँ आफ्नो जिम्मेवारी पुरा नगर्ने तर दोषजति अर्कोलाई लगाउने पद्धति हावी हुने विगतको अभ्यासलाई यस पटक सुधार गर्न आवश्यक छ । शिक्षा मन्त्रालय पद्धतिको तर्फबाट सुधार गर्नुपर्ने विषयहरु पनि समयमा नै सुधार गर्न आवश्यक छ । केन्द्र वा जिल्लाबाट गएर मात्र अनुगमन हुन्छ भन्ने मान्यतामा परिवर्तन गरी परीक्षा केन्द्रमा नै सहभागितामूलक अनुगमन गर्ने पद्धतिको विकास र कार्यान्वयन आजको आवश्यकता हो ।
माध्यमिक शिक्षा परीक्षाको व्यवस्थापन चक्रमा सरकार भन्नाले शिक्षा मन्त्रालय, राष्ट्रिय परीक्षा वोर्ड, जिल्ला परीक्षा समन्वय समिति, जिल्ला शिक्षा कार्यालय, सुरक्षाकर्मी आदि पर्छन् । जसको प्रमुख दायित्व परीक्षापूर्व देखि परीक्षा समाप्ति पछिका कार्यहरु समेत प्रभावकारी रुपमा सम्पन्न गर्नु हो । यसमा प्रश्नपत्र र उत्तरपुस्तिकाको व्यवस्था गर्ने, परीक्षा केन्द्र कायम गरी ती केन्दका लागि केन्द्राध्यक्ष, निरिक्षक, कर्मचारी, सुरक्षाकर्मी र आवश्यक सामग्रीको सुनिश्चितता गर्ने र परीक्षा समाप्ति पश्चातका कार्यहरु समयमै सम्पन्न गर्नेजस्ता कार्यहरु पर्छन् । हालसम्मको उपलब्ध विवरण अनुसार सरकारको तर्फबाट गर्नुपर्ने यी सबै कामहरु सम्पन्न भइसकेका छन् । नियमन तथा अनुगमन सम्बन्धी कार्यहरु निरन्तररुपमा भइआएका छन् ।
दोश्रो महत्वपूर्ण पक्षमा परीक्षा केन्द्र र त्यसमा संलग्न केन्द्राध्यक्ष, निरिक्षक, कर्मचारी एवम् सुरक्षाकर्मीहरुको कार्यशैली र प्रतिवद्धता जस्ता पक्षहरु पर्छन् । परीक्षा स्वच्छ र मर्यादित ढंगबाट सञ्चालन गर्न यी व्यक्ति एवम् निकायहरुको भूमिका अति महत्वपूर्ण हुन्छ । विद्यार्थीलाइ परीक्षा सञ्चालन पूर्व दिनुपर्ने जानकारीहरु समयमा नै प्रदान गर्ने, स्थानीय तहमा छलफल अन्तरकृया गरी परीक्षालाइ स्वच्छ र मर्यादित ढंगबाट सञ्चालन गर्न आवश्यक सहयोग लिने दिने वातावरण तयार गर्ने, विद्यार्थीलाइ परीक्षा कोठामा प्रवेश गर्नुपूर्व पुस्तक लगायतका प्रयोग गर्न नहुने भनि निर्देशिकामा उल्लेख गरिएका सामग्री परीक्षा केन्द्रको मूल ढोका बाहिर नै अनिवार्य रुपमा राख्न लगाउने, अनावश्यक व्यक्तिलाइ परीक्षा परिसरमा प्रवेश गर्न नदिने, परीक्षा सकिएपछि उत्तरपुस्तिका राम्रोसँग रुजु गरेरमात्र प्याकेटमा राख्ने जस्ता कार्यहरु यस अन्तर्गत पर्छन् । यसले के देखाउँछ भने परीक्षालाई मर्यादित बनाउनका लागि केन्द्राध्यक्षको भूमिका सर्बोपरी हुन्छ । केन्द्राध्यक्षलाई आवश्यक सहयोग गर्नुपर्ने कर्तव्य र दायित्व परीक्षामा संलग्न सबैमा रहेको हुन्छ । संलग्न पक्षहरुको सहयोग र समन्वयबाट परीक्षा केन्द्रमा सुशासन कायम गर्न मद्दत पुग्छ । परीक्षार्थीले शान्त र मर्यादित वातावरणमा परीक्षा दिन पाउने हकको सुनिश्चितता गर्ने दायित्वबाट कोहि पनि उम्कन नमिल्ने भएकोले यसको सुनिश्चितता गर्नका लागि परीक्षा केन्द्रमा खटिने सबैले आफ्नो कर्तव्य र उत्तरदायित्वको परिपालना गर्नु आवश्यक छ ।
परीक्षा व्यवस्थापनमा परीक्षार्थीका अभिभावक, विद्यार्थी पढ्ने विद्यालयका शिक्षक, प्रधानाध्यापक तथा अन्य सरोकारवाला समूहको भूमिकालाई नजर अन्दाज गर्न मिल्दैन । संलग्न पक्षको कर्तव्य भनेको केन्द्राध्यक्ष र परीक्षामा संलग्न सबैलाई सहयोग गर्नु हो ।
परीक्षाको वातावरण स्वच्छ र मर्यादित बनाउन परीक्षा केन्द्रलाइ भिडबाट मुक्त गर्नुपर्छ जसका लागि स्थानीय अभिभावक र संघसंस्थाको सहयोग आवश्यक हुन्छ । जहाँको परीक्षा केन्द्र अव्यवस्थित र भीडयुक्त हुन्छ त्यसले उक्त स्थानको परिचयमा नकारात्मकता थप गर्ने भएकाले आफ्नो स्थानको इज्जत र प्रतिष्ठाका लागि स्थानीय तहमै सबैले समयमै सोच्नु आवश्यक देखिन्छ । आफू जतिसुकै पढेको भएपनि स्थान विशेषबाट पाउने परिचयले इज्जत घट बढ गर्न ठूलो भूमिका खेल्छ । परीक्षामा “ए” ग्रेड ल्याए पनि पछि कसैले त्यँहाको परीक्षा व्यवस्थापन कमजोर थियो भन्दा उक्त व्यक्तिको भावनामा ठेस लाग्न पुग्छ नै । परीक्षा व्यवस्थापनले स्थान विशेषको परिचय पनि दिने भएकोले यसमा समयमै बिचार गर्नु आवश्यक छ ।
परीक्षा व्यवस्थापनमा अर्को महत्वपूर्ण पक्ष विद्यार्थी स्वयम् हुन । विद्यार्थीले निधक्कसँग आफ्ना कुराहरु उत्तरपुस्तिकामा लेख्नुपर्छ र लेख्न पाउनु पनि पर्छ । परीक्षा केन्द्र र परीक्षा कोठामा सृजना हुने नकारात्मक वातावरणले परीक्षार्थीको यस हकको सुनिश्चितामा असर गर्न सक्ने भएकोले परीक्षा केन्द्र र कोठाको वातावरण शान्त र होहल्लामुक्त हुनुपर्छ । परीक्षा वातावरण मनोवैज्ञानिकरुपमा सहज र पहुँच योग्य हुनुपर्छ । यसैगरी प्रश्नको उत्तर दिदाँ नआत्तिने, नहडबढाइ जानेको विषय उत्तरपुस्तिकामा लेख्ने, परीक्षामा अनैतिक कार्य नगर्ने जस्ता प्रतिवद्घताहरु विद्यार्थी स्वयमले पालना गर्नुपर्छ । जिन्दगीमा सबैलाइ ढाँट्न सके पनि आफूलाइ ढाँट्न सकिन्न भन्ने भनाइलाइ सबै परीक्षार्थीले बेलैमा सोचेर अनैतिक कार्यबाट अलग रहनु अति आवश्यक छ ।
नेपालको माध्यमिक तहको परीक्षा र यसको व्यवस्थापनका सम्बन्धमा समग्र अन्तराष्ट्रिय क्षेत्रले पनि नजिकबाट नियालिरहेको हुन्छ । यसबाट उनीहरुमा पर्ने प्रभाव अनुरुप नै उनीहरुले आफ्ना निकाय वा मुलुकमा जानकारीसमेत सम्प्रेषण गर्ने हुनाले मुलुकको साख अन्तराष्ट्रिय क्षेत्रमा बढाउन यस परीक्षाले अह्म भूमिका खेल्ने निश्चित छ । यसको सफल व्यवस्थापन र सञ्चालनमा मुलुकको इज्जत र प्रतिष्ठा जोडिएकोले मुलुकको साख बढाउने दायित्व सबैमा रहेको छ भन्ने भावना अनुरुप सबैले काम गर्नुपर्ने बेला आएको छ ।
परीक्षाका लागि शिक्षा मन्त्रालय र मातहतका निकायबाट आवश्यक तयारी पुरा गरिसकेको हुनाले अब विद्यार्थी, अभिभावक, शिक्षक र विद्यालय, परीक्षामा खटिने केन्द्राध्यक्ष, निरिक्षक, कर्मचारी र सुरक्षाकर्मी तथा निरीक्षण एवम् अनुगमन गर्ने व्यक्ति वा निकायबाट आफ्नो कर्तव्य र जवाफदेहिता पालना गर्ने समय आएको छ । आफ्नो जिम्मेवारी पुरा नगर्ने अनि परीक्षा मर्यादित बन्न सकेन भनेर चर्काे स्वरमा दोषारोपण गर्ने संस्कारको अन्त्य यसै पटकबाट गर्न सके मुलुकको शिक्षा विकासमा एक इटा थप भएको हुनेछ ।
परीक्षा जस्तो विषय स्वच्छ र मर्यादित ढंगबाट चलोस् भन्ने आशयका साथ यसको सम्पूर्ण तयारी पुरा भइसकेको छ । यसको मर्यादा र स्वच्छता उलङ्घन गरेको अवस्थामा शिक्षा ऐन, नियम र परीक्षा सम्बन्धि निर्देशिकाले कार्यवाही गर्ने प्रावधान पनि राखेको हुदाँ शिक्षा प्रणालीले उक्त प्रावधान कार्यान्वयन गर्छ नै । शिक्षा मन्त्रालयको चाहना यस किसिमको दण्ड र सजाय अबलम्वन गर्न नपरोस् भन्ने नै हो ।
मुलुकमा पटक पटक धेरै राम्रा काम भएका छन्, फेरी एकपटक सबैले असल नागरिकको परिचय दिने बेला आएको छ । सबै सचेत नागरिकले शिक्षा मन्त्रालयको यस कार्यमा अहम भूमिका खेल्न सक्ने यर्थाथता पनि हाम्रो सामु छ । यस परीक्षाको समग्र व्यवस्थापनमा सबै सफल हुन सकौँ भन्ने शुभकामना सहित सबै परीक्षार्थीलाइ सफल र असल बन्नका लागि हार्दिक शुभकामना ।
(लम्साल, शिक्षा मन्त्रालयका सहसचिव हुन् ।)
प्रतिक्रिया