काठमाडौं २९ फागुन / सन् १९१५ । प्रथम विश्वयुद्ध चलिरहेको थियो । प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइन त्यतिखेर विश्वयुद्धको चपेटामा परेको जर्मनीमा थिए । ३६ वर्षीय आइन्स्टाइन आफ्ना वैज्ञानिक खोजहरूमा व्यस्त थिए । उनीसँग छुट्टिइसकेकी श्रीमती मिलेभा आफ्ना दुई छोरा हयान्स अल्बर्ट आइन्स्टाइन र एडवार्ड ‘टेटे’ आइन्स्टाइनका साथ तुलनात्मक रूपमा सुरक्षित मानिएको अस्ट्रियाको भियनामा बस्थिन् ।
त्यसै वर्ष आइन्स्टाइनले आफ्नो विख्यात सापेक्षताको सिद्धान्तको प्रतिपादन गरेका थिए । यसको प्रतिपादनको लगत्तै उनले भियनामा रहेका आफ्ना ११ वर्षीय छोरा हयान्स अल्बर्टलाई पत्र लेखेका थिए । यो निकै छोटो पत्रमा उनले केही व्यक्तिगत र केही बृहत् कुरा छोरालाई लेखेका छन् ।
प्रिय अल्बर्ट !
तिमीले पठाएको प्यारो चिठी हिजो पाएर म ज्यादै खुसी भएको छु । तिमीले मलाई अब कहिल्यै चिठी लेख्दैनौ कि भन्ने सोचेर म डराइरहेको थिएँ । म जुरिक आएको बेला तिमीले असहज महसुस गरेको बताएका थियौ । त्यसैले अब कतै जाँदा हामी दुवै सँगै जानु राम्रो होला भन्ने मैले सोचेको छु । त्यो कुनै शान्त ठाउँ होस् जहाँ कसैले हाम्रो आनन्दमा दखल दिन नसकोस् । म त अझ के भन्छु भने हरेक वर्ष हामीले कम्तीमा पनि एक महिना सँगै बिताउनुपर्छ । यसो गर्न पाए तिमीले पनि थाहा पाउने थियौ कि तिम्रो बुवाले तिमीलाई कति माया गर्नुहुन्छ । तिमीले मसँग धेरै राम्रा र सुन्दर कुराहरू पनि सिक्न पाउने थियौ, जुन अरूले सजिलै सिकाउँदैनन् । मैले कडा मिहिनेत गरेर जे चिज प्राप्त गर्न सकेको छु त्यो अपरिचित मानिसहरूका लागि मात्रै हुनु हुँदैन, यो प्राप्ति मेरा छोराहरूका लागि झन् विशेष हुनुपर्छ । हालै मैले आफ्नो जीवनको सबभन्दा सुन्दर काम गरेको छु । तिमी अलि ठूलो भएपछि म यसबारे तिमीलाई बताउनेछु ।
तिमीलाई पियानो मन परेछ । यो थाहा पाएर मलाई निकै खुसी लागेको छ । मलाई लाग्छ, तिम्रो उमेरका केटाकेटीका लागि पियानो र सिकर्मी काम सबभन्दा उपयुक्त कुरा हुन्, स्कुलभन्दा पनि उत्तम । मलाई लाग्छ, तिमीजस्ता बालकका लागि यी उपयुक्त कुरा हुन् । तिमीलाई जे मन पर्छ पियानोमा त्यही बजाऊ । शिक्षकले अर्कै चिज बजाउन दिए पनि आफूलाई मन परेको धुन बजाउनू । सिक्नका लागि सबभन्दा राम्रो उपाय यही हो । आफूलाई आनन्द आउने काम गर्दा तिमी समय बितेको पत्तै पाउने छैनौ । कुनैकुनै बेला म आफ्नो काममा यति धेरै खुसी र आनन्दित हुन्छु कि म दिउँसोको खानै खान बिर्सिन्छु...।
तिम्रो बुबा
कान्तिपुर, कोपिलाबाट
प्रतिक्रिया