Edukhabar
शुक्रबार, ०४ असोज २०८१
विचार / विमर्श

सुरक्षित बिद्यालय अवधारणा

मंगलबार, १५ असार २०७२

 डा. रोजनाथ पाण्डे /  

१.पृष्ठभूमि

देशमा यस वर्ष भोगिएको र भविष्यमा हुनसक्ने विभिन्न प्रकारका विपद् बाट विद्यालयका विद्यार्थी र शिक्षक तथा अविभावकलाई आश्वस्त हुन सक्ने गरि बिद्यालय संचालन गर्न गाह्रो परिरहेको छ | त्यस्तै स्वच्छ खानेपानी, शौचालय, तथा पौष्टिक आहारको अभावमा बालबालिकाहरु कुपोषणको सिकार भैरहेका छन्  |

राजनैतिक, सामाजिक तथा वातावरणीय सुरक्षाको प्रत्याभूति दिई शान्त वातावरणमा  पठन पाठन गर्न सकिएको छैन | सुरक्षित बिद्यालयको अवाधरणा लागु गरि विपदको सामना गर्ने क्षमताको बिकासका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालिन कार्यक्रम तयार गर्ने र त्यसका लागि नीतिगत व्यवस्था गर्नु आजको आवश्यकता देखिएको छ | लाखौं वालवालिका, शिक्षक र अविभावकहरु अझै पनि मानसिक त्रासको वातावरणबाट गुज्रिरहेका छन् | स्थानीय समुदाय, विद्यालय ब्यबस्थापन समिति, बालक्लब, शिक्षक अविभावक संघ तथा स्थानीय संघ संगठनहरुको क्षमता बृद्दि गरि सक्षम जनशक्तिको रुपमा स्थापित गर्दै उनीहरु मार्फत भौतिक संरचनाको पुनर्निर्माण, विद्यालय सुशाशन व्यवस्था, गुणस्तरीय शिक्षाको प्रत्याभूतिका स्थानीय तह देखि राष्ट्रिय स्तर सम्म दिर्घकालिन योजना बनाइ लागु गर्नु पर्ने अवस्था आएको छ | आज विभिन्न शैक्षिक मंचहरुमा सुरक्षित बिद्यालय नीति सम्बन्धमा सवालगत बहस, पैरवी, र वकालत गर्दै आवश्यक राय सुझाव र सहयोग जुटाई राज्यलाई सक्षम र जिम्मेवारबनाउनु आवश्यक देखिन्छ |

१.१ सुरक्षित बिद्यालय सन्दर्भमा  अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रयास 

विपद ब्यवस्थापनका लागि संयुक्त राष्ट्र संघीय निकाय UNISDR को पहलमा विश्वको विभिन्न भागमा विपद् सम्बन्धमा भएका सभा सम्मेलन तथा बहस पैरवी मार्फत  विद्यालय सुरक्षा सम्बन्धमा पहल सुरु भएको देखिन्छ |  बिगतका विपद्  सम्बन्धि विश्व सम्मेलन, तथा एसिया प्रसान्त क्षेत्रका सम्मेलनहरुले विद्यालय सुरक्षा सम्बन्धमा प्राथमिकता साथ विभिन्न मुद्दाहरु उठाएको र असल अभ्यासहरुको पहिचान गरेको देखिन्छ | जापानको ह्योगोमा १८-२२ January, २००५ मा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा बनाइएको खाका (Hyogo Framework), बैंककमा २२-२६ June, २०१४ मा भएको विपद ब्यबस्थापन सम्बन्धि छैठौं एसियाप्रशान्त क्षेत्रीय मन्त्रिस्तरीय सम्मेलन, हालै १४-१८ March, २०१५ मा जापानको Sendai मा सम्पन्न विपद न्यूनीकरण सम्बन्धि तेश्रो विश्व सम्मेलनले पनि सुरक्षित विद्यालय अवधारणा अघि सरेको छ |  

यस सन्दर्भमा विश्वभरका safe school leader हरुको ३०-३१ October, २०१४ को भेलाले Istanbul घोषणा पत्र जारी गर्न प्रयत्न गरेको थियो जसमा नेपालले दक्षिण एसिया क्षेत्रको नेतृत्व गरेको थियो  | यसलाई अन्तिम रुप दिन इरानमा October ४-५, २०१५ मा दोश्रो बैठक बोलाइएको छ जसमा दक्षिण एसिया क्षेत्रबाट Pioneer को रुपमा नेपाललाई मात्र आमन्त्रण गरिएकोले  पूर्ण तयारीसाथ भागलिन सके यसलाई अवसरको रुपमा उपयोग गर्न सकिन्छ | 

विभिन्न बिकसित मुलुकहरुले सुरक्षित विद्यालय भन्नाले सामाजिक सुरक्षालाई बढी जोड दिइएको पाइन्छ | त्यस्तै गरि १९८९ मा संयुक्त राष्ट्र संघले पारित गरेको बाल अधिकार महासन्धि,  UNCRPD सम्बधि अभिसन्धिमा नेपालले हस्ताक्षर गरिसकेकोले ति प्रावधानहरु कानुनको रुपमा लागु गर्नु पर्ने देखिन्छ |  UNICEF, UNESCO लगाएत अन्तर्राष्ट्रिय संघ संस्थाहरुको सहयोगमा नेपाल सरकारले दिगो विकासका लागि शिक्षा, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम, बहुक्षेत्रीय पोषण कार्यक्रम लगायत बालमैत्री विद्यालय अवधारणा संचालनमा ल्याएको छ | नेपाल सरकारले जारी गरेको विद्यालय शान्ति क्षेत्रको अवधारणा तथा बाल क्लब परिचालन उल्लेखनीय रहेको छ |

 

१.२ दक्षिण यशियाली क्षेत्रमा सुरक्षित विद्यालयका प्रयास 

प्राकृतिक प्रकोप, राजनीतिक तथा सामाजिक द्वन्द तथा कुपोषण र अशिक्षाका कारण उत्पन्न स्वास्थ्य समस्याले ग्रसित मुलुकरुको रुपमा दक्षिण एसिअली क्षेत्र रहेकोले नेपाल पनि यी समस्याले ग्रसित रहेको छ | त्यसमा पनि विद्यालय र बालबालिकाहरु यी समस्यहरुबाट बढी प्रभावित भएका छन् | यी समस्याहरु अन्तर देशीय समस्याको रुपमा रहेकाले मिलेर सामना गर्नु पर्ने अवस्था  देखिन्छ | अझै पनि विद्यालय सुरक्षा अवधारणा प्राथमिकताको बिषय बन्न नसकेको कुरा काठमाडौँमा भएको  २६-२७ November, २०१४ मा सम्पन्न १८औं SAARC Summitको काठमाडौँ घोषणामा देखिन्छ | उक्त घोषणा पत्रले प्राकृतिक प्रकोपको द्रुत सम्बोधन गर्ने र जलबायु परिवर्तन तथा प्रकोप ब्यबस्थापन केन्द्र स्थापना गर्ने भनेता पनि सुरक्षित विद्यालय बारे प्राथमिकतामा राखी उल्लेख गरेको  देखिंदैन |

नेपाल सरकारले प्राकृतिक प्रकोप न्यूनीकरणका लागि Flagship १ कार्यक्रम अन्तर्गत शिक्षा र स्वास्थ्य सुरक्षा सम्बन्धमा प्राथमिकता दिएको देखिन्छ |  शिक्षा मन्त्रालयले भने विद्यालय सुरक्षा सम्बन्धि structural र non structural सुधार,  retrofiting तथा building code प्रयोग, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम, विद्यालय शान्ति क्षेत्र तथा बालमैत्री शिक्षण अभ्यास गर्ने प्रयास गरेको छ  |

१.३ सुरक्षित विद्यालयको आवश्यकता र महत्व 

नेपाल जस्तो प्राकृतिक प्रकोपबाट पिडित आर्थिक रुपमा बिपन्न अति कम बिकशित मुलुकले प्राथमिकता दिनुपर्ने प्रमुख क्षेत्र नै शिक्षा भएकोले शैक्षिक बातावरण तयार गर्नु पहिलो प्राथमिकताको क्षेत्र हो | बिकाशका सबै क्षेत्रमा दक्ष मानवीय श्रोत आबश्यक पर्ने भएकाले पनि शिक्षालाई बिकाशको मेरुदण्ड मान्न सकिन्छ | अझै पनि ३४.१ % निरक्षर  रहेको हाम्रो मुलुकमा सामाजिक अन्धबिश्वास, चेतनाको अभाव र सिपयुक्त जनशक्तिको कमि देखिन्छ | हालै गएको भूकम्पले झन् विद्यालयको भौतिक बाताबरण तहसनहस पारेको र  विद्यार्थी, शिक्षक तथा अविभावकहरुमा मनो सामाजिक असर परेकोले सुरक्षित विद्यालय  अवधारणा अपरिहार्य देखिन्छ |

१.४ राजनैतिक, वातावरणीय, सामाजिक,  प्राविधिक, कानुनी र शैक्षिक विश्लेषण (PESTLE Analysis)

नेपालको तरल राजनैतिक वातावरणले गर्दा राज्यको सम्पूर्ण शक्तिलाई देशमा उत्पन्न बिपत्तिको सामना, द्वन्द समाधान र गरिबी निवारणमा आशातित सफलता मिल्न सकेको छैन | स्थानीय निर्बाचित सरकारको अभाबले बिकाशमा जनसहभागिता जुटाउन सकिएको छैन | तर विगतको अनुभवले साझा सवालमा राजनैतिक सहमति गर्ने नेपाली असल अभ्यासलाई उपयोग गर्न सके विपत्ति सामना गर्न मदत पुग्ने देखिन्छ |

नेपालले अन्तर्राष्ट्रिय निकायहरुको ध्यानाकर्षण गर्न December २-१८ २०१४ मा कोपन्हेगनमा सम्पन्न संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन सम्मेलनको एक दिन अगाडी क्याबिनेट बैठक सगरमाथाको कालापथ्थरमा बसेको थियो | त्यस्तै काठमाडौँमा भएको  २६-२७ November, २०१४ मा सम्पन्न १८औं SAARC Summitले जलवायु परिवर्तन सम्बन्धि  थिम्पु घोषणाको कार्यान्वयन र अन्तर्राष्ट्रिय कानुनको आवस्यकता महसुस गरिएको छ | वातावरणीय परिवर्तनको उच्च जोखिममा नेपाल रहेकोले अति ब्रिष्टि, अना ब्रिष्टि, लु , चट्याङ, बाढी, पहिरो, हिउँ पहिरो आदिको संख्या र प्रभाब बढ्दै गएको देखिन्छ | त्यस्तै हाम्रा बिद्यालयहरु यी प्रकोपहरुको उच्च जोखिममा रहेकाले वातावरणीय पक्षलाई पनि जोड दिनु पर्ने देख्न्छ |

२. सुरक्षित विद्यालयका विविध पक्षहरु 

विभिन्न विकसित वा अल्प विकसित मुलुकहरुले विगतमा गरेका अभ्यासहरुले सुरक्षित विद्यालयको अवधारणा सम्बन्धमा आफ्नो आवस्यकता अनुरुप  मुख्य रुपमा तिन पक्षहरुलाई समेटेको पाइन्छ | एकातिर प्राकृतिक प्रकोपको  न्यूनीकरण गर्ने पक्षलाई प्रमुख आधार बनाइएको छ भने अर्कोतिर बिकसित देशहरुले सामाजिक सुरक्षालाई प्राथमिकता दिएका छन् | अधिकांश देशहरुले विद्यालय स्वास्थ्य, पोषण तथा मनोसामाजिक परामर्शलाइ पनि समेटेको पाइन्छ | राजनैतिक द्वन्द, शारिरिक तथा मानसिक संजाय जस्ता पक्षहरुबाट विद्यालयको सुरक्षालाई पनि समेटेको देखिन्छ |

२.१ प्राकृतिक बिपत्तिबाट सुरक्षित विद्यालय 

बदलिँदो हावापानीका कारण बढ्दो प्राकृतिक बिपत्तिले विद्यालय तथा बालबालिकाहरुलाई अत्यधिक जोखिममा पुर्याएको छ | बिगतको विभिन्न समयमा भएको प्राकृतिक विपत्तिको आंकडाले पनि दिन पर दिन  विपत्तिको संख्या अनि त्यसको असर र प्रभाब बढ्दै गएको देखिन्छ | भूकम्प, बाढी, पहिरो, चट्याङ आदिबाट हुनसक्ने सम्भावित जनधनको क्षतिबाट जोगाउन सक्षम बिद्यालय निर्माण तथा प्रकोप उत्थानशिल विद्यालय समुदायको स्थापनाको लागि सुरक्षित विद्यालय नीति तथा कार्यक्रम कोसेढुंगा सावित हुन सक्छ |

२.२ स्वास्थ्य भौतिक  र मानसिक बातावरण 

मानिसको अधिकांश शारिरिक र मानसिक बृद्दि विकाश बाल्य अवस्थामा नै हुने कुरा अध्ययन र अनुसन्धानले देखाएको छ | बालबालिकाहरु कुपोषणबाट सिकार भए भने पुड्को पन बढ्ने र यसले जीबन भर बौद्दिक तथा  शारिरिक विकाश अवरुद्द भै रोग प्रतिरोध तथा कार्य क्षमता कम हुने, मृत्यु दर बढ्ने भएकोले बालबालिकालाई सुरक्षित राख्न स्वस्थ विद्यालय वातावरण र पोषण सुविधामा ध्यान दिनु अपरिहार्य देखिन्छ | सरसफाई, स्वच्छ खानेपानी , पानी सहितको शौचालयको व्यवस्था, उचित प्रकाश, हावा र आवाज नियन्त्रण, नियमित स्वास्थ्य परिक्षण आदिलाई सुरक्षित विद्यालय अवधारणाले समेट्नु पर्ने देखिन्छ | सन्तुलित दिवा खाजा, खेलकुद, मनो परामर्श आदिको व्यवस्था स्वास्थ्य  सुरक्षाको अभिन्न पक्ष हुन् |

२.३ हिंशा मुक्त शैक्षिक बातावरण 

राजनैतिक तथा सामाजिक द्वन्दका कारण बिस्थापितहरुको आश्रय स्थलको लागि विद्यालयको उपयोग, विद्यार्थीलाई द्वन्दमा प्रयोग, बन्द हड्ताल, आदिले विद्यार्थीहरु शारिरिक तथा मानसिक रुपमा पिडित बन्नु परेको अवस्था बिगतको घटनाहरुले पुस्टि गरेका छन् | बालबालिकाहरुमा यसको असर लामो समय सम्म रहने र उनीहरुमा सहन गर्ने क्षमता कम हुने हुँदा हिंशा मुक्त विद्यालय वातावरण, सुरक्षित विद्यालयको अर्को अभिन्न अंग हुनुपर्ने देखिन्छ |  विद्यालय, सारीरिक मानशिक लगाएत कुनै पनि शोषण र हिंशा बाट मुक्त हुनु आवश्यक छ |

२.४ सुरक्षित विद्यालयका सबल र कमजोर पक्ष्यहरु 

सुरक्षित विद्यालय स्थापनाले शैक्षिक उन्नयनका लागि मुख्य आधारको रुपमा काम गरेको हुन्छ | यसका सबल पक्षहरुलाई निम्न अनुसार लिन सकिन्छ:

1.प्राकृतिक प्रकोपको न्यूनीकरण तथा स्वच्छ वातावरणको उपलब्धता 

2.गुणस्तरीय शिक्षाको सुनिस्चितता 

3.भौतिक र मानशिक रुपमा बिपत्ति सामना  गर्ने क्षमताको बिकाश  

4.कुपोषणबाट मुक्ति र समाबेशी शैक्षिक वातावरण 

5.द्वन्द मुक्त हिंशा रहित वातावरण 

सुरक्षित विद्यालयको अवधारणाका कम्जोर पक्षहरुलाई निम्न बुंदाहरुमा समेट्न सकिन्छ:

1.यो धारणा नयाँ  भएकोले सफलताका लागि असल अभ्यासको खोजि गर्नु पर्ने  देखिन्छ,

2.समाजका सबै वर्ग र समुदायको सहभागिता बिना कार्यन्वयन गर्न गाह्रो हुन्छ,

3.सबल स्थानीय सरकार र समुदायको चेतनशिलता आवश्यक हुन्छ,

4.आवश्यक नीति निर्माण, कार्यन्वयन तथा यसको अनुगमन र मुल्यांकन प्रभाबकारी हुनु पर्दछ , र 

5.भौगोलिक र सामाजिक विविधता सम्बोधन गर्न सुरक्षित विद्यालय नीति तथा कार्यक्रममा लचकता आवश्यक पर्दछ |

२.५ सुरक्षित विद्यालयका बढ्दो चुनौति र अवसरहरु 

देशमा विद्यमान अशिक्षा, अन्धविश्वास, र राजनैतिक तथा सामाजिक द्वन्द सुरक्षित विद्यालयको लागि चुनौतीका रुपमा देखापरेका छन् | त्यसैगरी जलवायु तथा वातावरणमा आएको द्रुत परिवर्तनले बढ्दै गएको प्राकृतिक प्रकोप र त्यसको समन गर्ने क्षमतामा भएको कमिले पनि हामीलाई थप चुनौती दिएको छ | असुरक्षित मानव निर्मित संरचना, अव्यवस्थित रुपमा संचालित संस्थागत विद्यालय, असुरक्षित भौगोलिक स्थानका सामुदायिक विद्यालय, र  सिमित बजेटको उपलब्धता थप चुनौतीका रुपमा रहेका छन् |

यसैगरी हालै गएको ठुलो भूकम्प र त्यसले गरेको क्षतिले हामीलाई नव निर्माण गर्ने अवसर दिएको र सहयोगी हातहरुको संख्या बढेको छ | सरकारको प्रतिबद्दताका साथै  हाल बहसमा रहेको सुरक्षित विद्यालय बारेको अन्तर्राष्ट्रिय अभियानमा नेपालले दक्षिण एसियाबाट नेतृत्व गर्न पाएकोमा यसलाई अवसरको रुपमा लिई सुधारका कार्य प्रभावकारी बनाउन सकिन्छ | 

२.६ बाल अधिकार संरक्षण 

अन्तरिम संविधान २०६३ को धारा १७ ले बालबालिकाको शिक्षा प्राप्तिलाई  मौलिक हकको रुपमा अंगिकार गरिएको छ | संयुक्त राष्ट्र संघको बाल अधिकार सम्बन्धि महासन्धि तथा UNCRPD सम्बन्धि अभिसन्धिले नेपाल सदस्य राष्ट्र भएकोले बाल अधिकार संरक्षण तथा अपांगता भएका बालबालिकाको शिक्षा प्राप्त गर्ने हक लाइ प्रत्याभूति दिनु राज्यको कर्तब्य र दायित्व भएको छ | शिक्षा,  स्वास्थ्य  र  समाज कल्याण सम्बन्धि व्यवस्थाका लागि बहुक्षेत्रीय कार्यक्रम जरुरि देखिन्छ |

२.७ अपांगता भएका बालबालिकाहरुको सुरक्षा 

प्राकृतिक प्रकोप, द्वन्द र स्वास्थ्य सम्बन्धि असरले सबै भन्दा बढी अपांगता भएका बालबालिकाहरुलाई असर पार्ने भएकाले त्यसको प्रत्याभूति दिन सरकारले बिशेष व्यवस्था गर्नु पर्ने देखिन्छ | बिशेष विद्यालयहरुको व्यवस्था, समाहित बिद्यालयहरुमा उनीहरुका लागि अपाङ्ग मैत्री संरचना आवश्यक रुपमा व्यवस्था गर्न जरुरि हुन्छ |

३. विपद ब्यबस्थापन 

विपदका घटना हुन सक्ने अवस्थामा समुदायलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न, यसको प्रभावलाई यथा सम्भब नियन्त्रण गरि प्रकोपलाई न्यूनीकरण गरि धनजनको क्षति घटाउन, आपतकालीन राहत, उद्दार र प्रकोप् पछी गरिने पुनर्निर्माण तथा पुन: स्थापना जस्ता कार्यहरुको योजनावद्द तथा व्यवस्थित क्रियाकलपमा सिंगो राज्य लाग्नु पर्ने हुन्छ |

३.१ पूर्व तयारी

प्रकोपजन्य जोखिम घटाएर विपद्बाबाट जनधनको क्षति कम हुने व्यवस्था मिलाउँदै प्रकोपबाट सुरक्षित रहन तथा तत्कालीन उद्धार र राहतका लागि आवश्यक कार्य गर्न प्रकोपका घटना हुनु पहिले गरिने सम्पूर्ण तयारीलाई प्रकोप पूर्वतयारी को रुपमा  लिइन्छ |

३.२ विपदको समयमा र  पश्चात गरिने तयारी  

विपद् पहिले नै पूर्वतयारीका कार्यहरू गरिए प्रकोपको घटनाबाट हामी र हाम्रा छिमेकी प्रभावित हुने सम्भावना रहिरहेको हुन्छ । यस्तो अवस्थामा आपत्कालीन रूपमा विभिन्न काम गर्नु पर्ने हुन्छ । यस्ता कार्यलाई विपद् व्यवस्थापनको प्राथामिकतामा राखिन्छ । यस अन्र्तगत निम्न कार्यहरू पर्दछन् : खोज, उद्धार, राहत र मानवअधिकारको प्रत्याभूति; क्षति आँकलन र सहयोगको निरन्तरता |

प्रकोपको घटना भएर विपद् उत्पन्न भएपछि तत्काल र दीर्घकालीन रूपमा गर्नुपर्ने कार्यहरू पर्दछन् । तत्काल गर्नुपर्ने कार्यमा राहत वितरण, पुनःस्थापना, पुनर्निर्माणजस्ता कार्यहरू पर्दछन् भने दीर्घकालीन कार्यमा आर्थिक तथा सामाजिक अवस्थामा सुधार र भाविष्यमा उत्पन्न हुन सक्ने त्यस्तै वा कुनै पनि प्रकोपको सामना गर्न सक्ने संरचनाको विकास पर्दछन् । 

प्रकोपपछि गरिने कार्यले आसन्न प्रकोपको जोखिम न्यून गर्न र समुदायको आर्थिक, सामाजिक, शैक्षिक र साँकृतिक पक्षमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्दछ । यस अन्र्तगत निम्न कार्यहरू गर्न सकिन्छ : पुनःस्थापना तथा संरचनामा सुधार, पुनर्निर्माण, आर्थिक तथा सामाजिक पुनःस्थापना, दिगो विकासका क्रियाकलाप |

४. सुरक्षित विद्यालयका लागि क्षमता बिकाश 

सुरक्षित विद्यालयका लागि स्थानीय तह देखि हरेक तहमा केन्द्र सम्म प्रणालीगत, संगठनात्मक तथा व्यक्तिगत क्षमता बिकाश गर्नु पर्ने देखिन्छ | समुदायको चेतना बिकाश गर्न अन्तरक्रिया, बहस पैरवी, तथा सूचना प्रभाह गरि समुदायको क्षमता बिकाश गर्नुपर्ने हुन्छ | यसैगरी शिक्षक, विद्यालय ब्यबस्थापन समितिका पदाधिकारी, बिद्यालय निरीक्षक, श्रोत व्यक्ति, तथा शैक्षिक ब्यबस्थापनका विभिन्न तहका पदाधिकारीहरुको क्षमता बिकासका लागि तालिम , सभा, गोष्ठी, समिक्षा, आदि गर्नु पर्ने देखिन्छ | सेवा प्रवाहमा सूचना, संचार र प्रविधिको उपयोग अपरिहार्य देखिन्छ | 

४.१ संस्थागत व्यवस्था 

बहुक्षेत्रीय अवाधराणा अनुरुप राज्यले आवश्यक नीति, योजना तथा कार्यक्रम मार्फत कानुनी व्यवस्था गरि सेवा प्रभाह प्रणालीको संस्थागत व्यवस्था गर्नु पर्ने, त्यसका लागि आबस्यक भौतिक, आर्थिक र मानवीय संसाधनको व्यवस्था गर्नु पर्ने देखिन्छ | सुरक्षित विद्यालय सुनिश्चितताका लागि विद्यमान श्रोतधन र जनशक्ति अपर्याप्त देखिन्छ |

४.२ सुरक्षित विद्यालय सम्बन्धमा संगठनिक संरचना 

विद्यालयको स्थापना संगै विभिन्न गैर सरकारी संस्थाहरुको स्थापनाले स्थानीय स्तरमा सहकार्य गर्न जरुरि देखिन्छ | स्थानीय स्वशासन ऐन तथा नियमावलीको व्यवस्था गरि प्रभाबकारी कार्यन्वयन गर्न स्थानीय सरकारका  लागि सशक्तिकारण आवस्यक छ | शिक्षण संस्थामा विद्यालय व्यवस्थापन समितिको सशक्तिकरण अपरिहार्य शर्त हो |

४.३ सुरक्षित विद्यालयका लागि तालिम 

देशका बिश्वविद्यालयहरु, शैक्षिक जनशक्ति बिकाश केन्द्र र मातहतका तालिम केन्द्रहरु, श्रोतकेन्द्र तथा विद्यालयहरु मार्फत पूर्व सेवाकालीन, सेवाकालीन , पुनर्ताजगी तालिम तथा शिक्षकको पेशागत तालिमका मोडुल बिकाश गर्ने, तदनुरूपका शैक्षिक सामाग्रीहरु बिकाश गर्ने, श्रब्य दृश्य सामग्री निर्माण तथा प्रसारण गर्ने कार्यमा प्राथमिकता दिनुपर्ने देखिन्छ |

५. शैक्षिक योजनामा विपद्  व्यवस्थापन 

बिक्रम सम्बत् २०१३ साल देखि सुरु भएको आवधिक योजनाको अवाधरणाले सुरक्षित विद्यालयको पक्षलाई १३ औं योजनामा मात्र आत्मसात गरेको देखिन्छ | १३ औं योजनाको रणनीतिमा  शैक्षिक प्रणालीमा सबै प्रकारको विपदको जोखिम बिस्लेषण र अल्पिकरणको लागि कार्यक्रम संचालन गर्ने उल्लेख छ | यसका लागि विद्यालय लगायत शैक्षिक संस्थाहरुको सबै प्रकारको विपदको जोखिम विश्लेषण गरिने र भबन निर्माण आचारसंहितालाई पूर्ण रुपमा कार्यन्वयन गरिने योजना रहेको छ | त्यस्तै गरि विद्यालय तहका पाठ्यक्रममा जलवायु परिवर्तन र विपद जोखिम ब्यबस्थापन सम्बन्धि सामग्री समाबेश गरिने र सबै तहका सरोकारवालाहरुको जलवायु परिवर्तन सम्बन्धि आधारभूत ज्ञान, पूर्व तयारी र प्रतिकार्य क्षमता अभिब्रिद्दी गरिने उल्लेख छ | बहुक्षेत्रीय पोषण योजना, समाहित शिक्षाको व्यवस्था तथा समुदाय लक्षित कार्यक्रम थप प्राथमिकताका क्षेत्र रहेका छन् |

५.१ प्राथमिकताका क्षेत्रहरु 

बिशेष गरि प्रकोप ब्यबस्थापन सम्बन्धमा पूर्व तयारी, क्षमता अभिब्रिद्दी, प्रतिकार्य क्षमता बिकाश र सुरक्षित संरचना प्राथमिकताको क्षेत्रमा रहेका छन् | विद्यालय स्वास्थ्य र पोषण, बहुक्षेत्रीय पोषण योजना तथा समाबेशी शिक्षा थप प्राथमिकतामा परेका छन् |  

५.२ अनुगमन तथा मुल्यांकन

नेपाल सरकारले कार्यक्रमहरुको प्रभाबरिता सुनिस्चित गर्न, सुशासनलाई प्रत्याभूति दिन र लगानीलाई उपलब्धिमुलक बनाउन नतिजा मुलक अनुगमन तथा मुल्यांकन प्रणाली उपयोग गर्ने नीति लिएको छ | समसामयिक मुद्दामा अध्ययन अनुसन्धान गर्ने, सेवा प्रभाहमा गुणस्तर सुनिस्चित गर्ने तथा कार्यक्रमको लेखापरीक्षण गर्ने नीति रहेको छ | आधुनिक प्रबिधिको उपयोग गरि कार्य दक्षता बढ्ने अपेक्षा गरिएको छ |

५.३ वर्तमानमा भएका प्रयासहरु 

नेपाल सरकारले सुरक्षित विद्यालयको अवधारणा अनुरुप संरचनागत र गैर संरचनागत सुधार प्रक्रिया थालेको छ | यसका लागि flagship १ कार्यक्रम अन्तर्गत विद्यालय सुरक्षाका लागि भवन आचारसंहिता लागु गर्ने , भवनका मोडेलहरुको सिफारिस, तथा पुराना विद्यालय भवनहरुको retrofitting गर्ने कार्य गरिएको छ भने गैर संरचनागत सुधार अन्तर्गत पाठ्यक्रम र सहक्रियाकलपमा जोड दिइएको छ |

५.४ सुरक्षित विद्यालय नीति 

शिक्षा मन्त्रालयले सुरक्षित विद्यालय नीति सम्बन्धमा विभिन्न तहमा बहस चलाइरहेको र यस सम्बन्धमा गत वर्षा नीतिगत अध्यायन पनि गरेको थियो | हाल छलफलमा ल्याइएका मुद्दाहरुमा सुरक्षित विद्यालय अवधारणाले विपद ब्यबस्थापन, स्वास्थ्य तथा पोषण र राजनतिक तथा सामाजिक सुरक्षाका क्षेत्रहरु समेट्नुपर्ने देखिएको छ |

५.५ बालमैत्री बियालय सम्बन्धि राष्ट्रिय खाका 

बिद्यालायालाई सरिरिक र मानशिक शोषणबाट मुक्ति दिलाई बालमैत्री सिकाइ अभ्यासलाई अपनाउन विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत नौ ओटा क्षेत्रहरु पहिचान गरि १५४ ओटा सूचकहरु बिकाश गरि त्यसका न्युनतम र अपेक्षित गुणस्तर बारे आधार तय गरिएको छ | बालमैत्री बियालय सम्बन्धि राष्ट्रिय खाकाका निम्न क्षेत्रहरु रहेका छन् :  

1.प्रभावकारिता 

2.समावेशीकरण

3.शिक्षामा लैंगिक पक्ष 

4.बालबालिका, परिवार र समुदायको सहभागिता 

5.स्वास्थ्य, सुरक्षा र बचावट

6.विद्यालयको भौतिक अवस्था 

7.शिक्षण सिकाई प्रक्रिया 

8.मातृभाषामा शिक्षण सिकाई र 

9.विद्यालय व्यवस्थापन |

५.६ Post Disaster Needs Assessment (PDNA) मा सुरक्षित बिद्यालय 

ध्वस्त भएका संरचनाको पुननिर्माण तथा अझ राम्रो नव निर्माण (Reconstruction and Build Back Better) सिद्दान्त अनुसार विद्यालय संरचनाको पनि पुनरुथ्थान योजना समाबेश भएको छ | यस अन्तर्गत तत्कालिन, मध्यकालीन र दिर्घकालिन योजनाहरु समाबेश गरिएका छन् |

५.७ असल / सफल अभ्यासका नमुना 

 शिक्षा मन्त्रालय र मातहतका निकायहरुले सरकारी तथा गैर सरकारी प्रयासमा विभिन्न असल अभ्यासहरु बिगतमा परिक्षणका रुपमा सम्पन्न गरेका र हाल कतिपय सफल राम्रा अभ्यासहरुलाई देशभर क्षमता बृद्दि (upscale) गरिएको छ | यसै सन्दर्भमा विद्यालय स्वास्थ्य अन्तर्गत रुजु शुची, दिवा खाजा कार्यक्रम (Body feeding) र  बिद्यार्थीहरुको मानसिक बिकासका लागी सूचना प्रविधिको उपयोग (Brain feeding) जस्ता सफल अभ्यासलाई स्तर बृद्दि गरिंदै छ | विभिन्न गैर सरकारी संस्थाहरुले बालमैत्री, भय रहित शिक्षण, प्रकोप ब्यबस्थापन सम्बन्धि अभ्यास गरेका छन् जसलाई नीतिगत व्यवस्था गर्न जरुरि देखिन्छ |

६. भाबी कार्यदिशा 

नेपालमा सुरक्षित विद्यालय अवाधरणा लाइ मुर्त रुप दिन निम्न कार्यदिशा अपनाइएको छ :

1.अति कम बिकसित राष्ट्रबाट विकाशील राष्ट्रमा पुग्न गरिने प्रयासका चार शर्तहरु पुरा गर्ने, जसमा प्रति व्यक्ति आए बृद्दि गर्ने, गरिबीको दर २३.८% बाट १०% मा ल्याउने, मात्री तथा शिशु मृत्यु दर सुन्यमा ल्याउने र माध्यमिक तहको खुद भर्ना दर शतप्रतिशत पुर्याउने |

2.२०१५ पछिको बिद्यालय क्षेत्र विकास कार्यक्रममा सुरक्षित विद्यालय निर्माण तथा गैर संरचनागत सुधारलाइ प्राथमिकता दिने 

3.आपद्कलिन अवस्थामा शिक्षा (Education in Emergency) सम्बन्धमा पूर्व तयारी र क्षमता बिकाश गर्ने 

4.सुरक्षित विद्यालय सम्बन्धमा प्रबर्द्धनात्मक अभ्यासलाइ प्राथमिकता दिने 

5.सुरक्षित विद्यालय नीति अन्तर्गत विपद न्यूनीकरण , विद्यालय स्वास्थ्य तथा पोषण र राजनैतिक तथा सामाजिक द्वन्दबाट मुक्त हुनुपर्ने र 

6.सुरक्षित बिद्यालय रहर वा इच्छा नभई बाध्यकारी/ अनिवार्य शर्त  बनाउनु पर्ने |

७. निस्कर्ष

अन्तमा, सुरक्षित विद्यालय अवाधराणा अन्तर्गत बिगतमा भएका राम्रा अभ्यास तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय अध्ययन तथा अनुसन्धानलाई नेपाली भूगोल तथा संस्कृति अनुकुल उपयोग गर्ने नीति ल्याउनु अपरिहार्य भएको छ | दक्षिण एसियामा नेपालले यस सम्बन्धमा नेतृत्वकारी भूमिका खेल्न सक्ने देखिन्छ | हाल देखापरेका चुनौतीहरुलाई सामना गर्दै प्राप्त अवसरको उपयोग गर्ने हो भने नव नेपालको निर्माणको सपना पुरा गर्न त्यति धेरै प्रतिक्षा गर्नु पर्दैन | यसकालागी स्थानीय सरकार बलियो बनाउने तथा बिद्यालय ब्यबस्थापन समिति र सरोकारवालाहरुको क्षमता विकास अपरिहार्य देखिन्छ | नमुना मोडेल विकास गर्न तथा सरकारको ध्यान नपुगेको क्षेत्रमा पुरक कार्यक्रम उपलब्ध गराउन गैर सरकारी संथाहरुको योगदानलाई आहारको रुपमा ग्रहण नगरी  अमुल्य औषधिको लिनुपर्ने भएको छ  |

संदर्भसूची  

MOE (2014). Safe School Policy Study Report. Kathmandu: Ministry of Education, the Author.

The Education Consortium (2014). Education Sector Planning Assessment in NEPAL to explore opportunities for the Integration of Disaster Risk Reduction into the Education System, Kathmandu: The Author.

NPC (2013). 13th National Development Plan Base Paper, National Planning Commission, Kathmandu: The Author.

Plan International (2014). Making the Economic Case for Safe School, A Report by Plan UK, United Kingdom. The Author.

शैक्षिक जनशक्ति विकास केन्द्र (२०१४) | भूकम्प पछिको आपतकालीन अवस्थामा शिक्षलायाहरुको ब्यबस्थापन, शिक्षकहरुका लागि स्वाध्यायन सामग्री | लेखक |  

Department of Education (2014). Strategy and Plan for increasing Disaster Resilience for Schools of Nepal. Bhaktapur. The Author.

National Planning Commission (2015). Post Disaster Needs Assessment,  National Planning Commission, Singhadurbar, Kathmandu. The Author.

(लेखक पाण्डे शैक्षिक जनशक्ति विकाश केन्द्रका उपनिर्देशक हुन् । प्लानको सहयोगमा शिक्षा विभाग, ईको नेपाल र सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघले गरेको सुरक्षित विद्यालय हाम्रो आवश्यकता विषयक कार्यशालामा पाण्डेद्वारा प्रस्तुत सुरक्षित बिद्यालय अवधारणा र यसको आवश्यकता तथा सरकारको प्रयास शिर्षकको कार्यपत्र )

प्रतिक्रिया