Edukhabar
मंगलबार, ११ मंसिर २०८१
विचार / विमर्श

शनिबार विशेष : कक्षा कोठा

शनिबार, १९ असार २०७२

- सुस्मिता नेपाल नेपाली कवितामा चिनिएको नाम हो । शिक्षण पेशामा आवद्ध उनी विश्वभाषा क्याम्पसमा कार्यरत छिन् । उनका दर्जनौं कविता प्रकाशित छन् । यसपटक हामीले उनको 'कक्षा कोठा' कविता प्रस्तुत गरेका छौं - 

मभित्रका

टेबुल, कुर्ची, भित्ता र ह्वाइट बोर्ड 

चुपचाप छन् मजस्तै

अनेक रङका मनहरू लिएर 

ममा खेल्न आउँछन् उनीहरू

मभित्र पस्दा उनीहरूको 

परिचयको ढोका खुल्छ 

म पनि उनीहरू भित्र पस्छु

मेरो एउटा अनुहारमा 

उनीहरूका धेरै अनुहारहरू 

अटाएका छन्

काला, गोरा, गहुँ गोरा अनुहारले

मेरो अनुहारको रङ खै कस्तो बनाउने हुन् ? 

विभिन्न संस्कृतिले भिजेका उनीहरूको सोच

मेरो सोचसँग कसरी मिल्ने हुन् ?

अनुहारको रङ जस्तो भए पनि 

उनीहरूको सोच जुन किसिमले भिजे पनि 

उनीहरूको मनको रङ अनि सोच 

मभित्रबाट देखिने 

नीलो सफा आकाशजस्तै छ

उनीहरूको भाव 

उनीहरूले सिक्ने भाषा अनि संस्कृति 

एउटै छ क,ख, ग....को आकार 

एउटै छ क,ख, ग....को आवाज 

मभित्र बसुन्जेल 

प्रतिक्रिया