Edukhabar
आइतबार, ०७ पुस २०८१
खबर/फिचर

प्याब्सन पदाधिकारीलाई गोरू र हलीको बिम्ब

बुधबार, २५ फागुन २०७३

भक्तपुर - निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याब्सनका नव निर्वाचित पदाधिकारीलाई विद्यालयका प्रिन्सिपल तथा जिल्ला सदस्यले गोरू र हलीको संज्ञा दिएका छन् ।

निर्वाचित पदाधिकारीहरुको सम्मानमा भक्तपुर प्याब्सनले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सहभागी पदाधिकारीहरुलाई जिल्ला उपाध्यक्ष सेमन्तराज सुवेदीले सो संज्ञा दिँदै प्याब्सनका पदाधिकारीहरुलाई तालमेल मिलाएर अघि लैजान अनुरोध गरे ।

खेत जोत्नका लागि गोरु र हलीको तालमेल मिल्नुपर्छ, अहिले प्याब्सनमा चुनिएर आउनुभएका पदाधिकारीहरुबीच पनि तालमेलको आवश्यकता छ, यदि त्यो तालमेलअनुसार काम भएन भने हामी पनि चुप लागेर बस्ने छैनौं, हामी कि त पछाडिबाट पुच्छर निमाठ्छौं, कि त हरियो घाँस देखाउँछौं ।’ पदाधिकारी चयनको लागि भएको निर्वाचनमा भोट दिएर जिताएको स्मरण गर्दै उनले भोटको कदर गर्न आग्रह गरे ।

सोही कार्यक्रममा उपस्थित केन्द्रीय अध्यक्ष बिजय सम्बाहाम्फे, वरिष्ठ उपाध्यक्ष डिके ढुंगाना, उपाध्यक्ष दीपिका थापा रिमाल, महासचिव राजेन्द्र बानियाँ, सचिव राजकुमार महर्जन तथा अन्य पदाधिकारीहरुको टोलीलाई अबिर, माला र भादगाउँले टोपीले सम्मान गर्दै आयोजक समितिले उपस्थित तिनीहरुलाई पटकपटक भोटको कदर गर्न आग्रह गरे ।

‘हामीले क्रान्तिसित जोडिएको रातो अबिर, सबैलाई समेट्ने माला र सगरमाथास्तो शिरको प्रतिक टोपी लगाइदिएर सम्मान गरेका छौं, आशा छ, प्याब्सनले हाम्रो अबिर, माला र टोपीको सम्मान गर्नेछ ।’ उद्घोषक समेत रहेका सुवदीले भने ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष सम्बाहाम्फेले पनि निजी विद्यालय सञ्चालकहरुले अपेक्षा गरे अनुसारको नेतृत्व आएको बताए । उनले भने, प्याब्सन अहिले दोस्रो पुस्तामा आएको छ, हामी बल, बुद्धि र विवेकले भ्याएसम्म कहिँ कतै ठेस नलाग्ने गरी भोटको कदर गर्नेछौं ।’

उनले प्याब्सनलाई चुस्त बनाउनका लागि आफूले कार्ययोजना बनाएको बताए पनि कार्ययोजना भने सुनाएनन् । तैपति पूर्व अध्यक्ष लक्ष्यबहादुर केसीको नेतृत्वको प्याब्सन भने लिकबाट तल गएको रेलजस्तै भएकोले आफू लिकमा ल्याउने कामममा अघि बढेको बताए ।

वरिष्ठ उपाध्यक्ष ढुंगानाले प्याब्सनलाई अझ अघि बढाउनका लागि शैक्षिक क्षेत्रमा नयाँ बहसको आवश्यकता रहेको औंल्याए भने महासचिव बानियाँले प्याब्सनको नयाँ नेतृत्वबाट धेरैले सकारात्मक कुराको अपेक्षा गरेको बताउँदै सम्बाहाम्फे नेतृत्वको प्याब्सनले नीतिगत गद्दारी नगर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा भक्तपुरका वरिष्ठ सल्लाहकार भुवनलाल श्रेष्ठ, भक्तपुर अध्यक्ष श्रीकृष्ण केसी, वरिष्ठ उपाध्यक्ष चन्द्र अधिकारीलगायतले शुभकामना दिँदै निजी विद्यालयहरुले गरेको लगानीको सुरक्षा प्रत्याभूति हुने वातावरण तयार गर्न माग गरेका थिए ।

गत फागुन ८ र ९ गते काठमाडौंमा सम्पन्न प्याब्सनको १३ औं राष्ट्रिय महाधिवेनले सम्बाहाम्फेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

प्रतिक्रिया