Edukhabar
आइतबार, ०७ पुस २०८१
खबर/फिचर

शिक्षकको कासमु : अनविज्ञतादेखि मनोमानीसम्म

सोमबार, २३ फागुन २०७३

काठमाडौं– माध्यमिक तह द्धितीय श्रेणीका शिक्षक हुन् रामप्रसाद तिवारी । अंग्रेजी विषयमा स्नातकोत्तरसम्मको अध्ययन गरेका उनले अध्यापन गर्न थालेको ५ वर्ष नाघिसकेको छ । तर, पाँच वर्षसम्म पनि उनको बढुवा भएको छैन । आफूसँगै विद्यालयमा प्रवेश गरेका अर्का शिक्षक रमिला श्रेष्ठ प्राथमिक तहको द्धितीय श्रेणीबाट प्रथममा बढुवा भइसकिन् तर तिवारी भने अझै पनि द्धितीयमै चित्त बुझाउन बाध्य छन् ।

यसको कारण के हो त ? आफ्नो मात्र कारण नभएर विद्यालयका प्रअलाई पनि दोषी ठान्छन् । ‘यसमा अलिकति मेरो पनि गल्ती छ, अलिकति प्रअको पनि छ’ उनले गुनासो गरे, ‘मैले पनि कासमु भर्ने बेला बेवास्ता गरेँ, प्रअले पनि त्यो बारेमा मलाई राम्ररी जानकारी दिनुभएन ।’

तिवारीले पढाउने विद्यालयका प्रअ निमावि प्रथम श्रेणीका शिक्षक हुन् । उनको शैक्षिक योग्यता स्नातक हो । उनी विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई ‘प्रभावमा पारेर’ विगत १० वर्षदेखि सो विद्यालयमा प्रअको जिम्मेवारी निभाइरहेका छन् । ‘स्टाफ बैठकमा पनि प्रायः मेरो र प्रअबीच भनाभन हुन्छ, सायद् त्यही कारण कासमु फारम भर्ने सन्र्दभमा मलाई थाहा नदिएको जस्तो लाग्छ ।’ उनको अड्कल छ ।

कार्य सम्पादन मूल्याँकन फारम कासमु भर्न सम्बन्धित प्रधानाध्यापकले शिक्षकलाई थाहा नदिने तथा जानकारी नदिएको कारण धेरै शिक्षकहरु तिवारीको जस्तै अवस्थामा रहेको शिक्षक सेवा आयोगनै स्विकार्छ ।
‘शिक्षक एवं प्रधानाध्यापक दुबै एक अर्कोको प्रतिस्पर्धी हुने अवस्थामा कासमु फारम भर्नेबारेमा सूचना नदिने गरिएको हामीकहाँ पनि गुनासो आउने गरेको छ ।’ शिक्षक सेवा आयोगका प्रशासकीय अधिकृत लक्ष्मीराम पौडेलले भने ।

उनले पूर्वाग्रही र हचुवाको आधारमा प्रअ, स्रोतव्यक्ति, विद्यालय निरीक्षकबाट मूल्यांकन गर्ने गरिएको गुनासो आएको जानकारी पनि दिए । कतिपय शिक्षकले कासमुका बारेमा राम्रो जानकारी नभएको र मूल्यांकनका आधारहरुमा ध्यान नदिई सेवा अवधिलाई मात्र प्राथमिकता दिने गरेको र कासमु फारम पूर्ण रुपमा नभर्ने, स्पष्ट र एउटै मसीले नभर्ने, केरमेट गरेर भर्ने गरेको उनको भनाइ छ ।

शिक्षक सेवा आयोग नियमावली २०५७ (संसोधन सहित) अनुसार कुल रिक्त पदको ७५ प्रतिशत पद कासमु प्रक्रियाबाट बढुवा गर्ने प्रावधान छ । कासमु आधारमा बढुवा गर्दा नोकरीको ज्येष्ठताबापत ३५, शैक्षिक योग्यताबापत २०, तालिमबापत १० र कासमुबापत ३५ अंकका साथ कूल १०० पूर्णांकमा मूल्यांकन गर्ने व्यवस्था छ ।

(गोपनीयता अपनाउनु पर्ने भएकोले खबरमा प्रकाशित शिक्षकद्वयको नाम फेरिएको तथा विद्यालयको नाम गोप्य राखिएको छ) – सं.

प्रतिक्रिया