Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

अझै सकिएन स्ववियु निर्वाचन मतगणना

आइतबार, २२ फागुन २०७३

काठमाडौं २२ फागुन/त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन समितिले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको चार दिनमा पनि मतगणना सम्पन्न गर्न सकेको छैन । विद्यार्थी संगठनको आपसी विवादले मतगणना रोकिँदा गत बुधबार भएको स्ववियु निर्वाचनको अन्तिम तथ्यांक अहिलेसम्म सार्वजनिक गर्न नसकेको त्रिवि निर्वाचन समितिले जनाएको छ । गत बुधबार निर्वाचन सुरु भए पनि कतिपय क्याम्पसमा निर्वाचन केही दिनपछि सकिएको र कतिपय क्याम्पसमा विद्यार्थी संगठनको आपसी विवादले मतगणनामा ढिलाइ भएको त्रिवि निर्वाचन समितिले जनाएको हो । उता विद्यार्थी संगठनहरूले विभिन्न क्याम्पसमा आफूले जितेको दाबी गर्दै विजयी उम्मेदवारको नामावलीसहित तथ्यांक सार्वजनिक गरे पनि सो तथ्यांक गलत साबित भएको पाइएको छ । त्रिवि निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार सबैभन्दा अगाडि अनेरास्ववियु, दोस्रोमा नेविसंघ र तेस्रोमा अखिल क्रान्तिकारी देखिएको छ ।

उता अनेरास्वियुले भने आफूलाई धेरै स्थानमा विजयी भएको देखाउनकै लागि जबर्जस्ती रूपमा भ्रम फैलाउने खालका फर्जी क्याम्पसको नाम र निर्वाचन नभएका क्याम्पसका नाममा आफ्नो उम्मेदवार विजयी भएको घोषणा गरेको भन्दै आपत्ति जनाएको छ ।

‘अनेरास्ववियुले आफ्ना मातहतका जिल्ला कमिटी, क्रियाशील विद्यार्थी संगठनहरू र त्रिभुवन विश्वविद्यालयसँगको समन्वयमा प्रारम्भिक रूपमा अनुसन्धान गर्दा नेविसंघले सार्वजनिक गरेको सूची नक्कली रहेको पाइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

अनेरास्वियु सचिव आरसी लामिछनेले अनेरास्ववियु हालसम्म १ सय ६ क्याम्पसमा विजयी भएको जनाए । उनले नेविसंघले फर्जी दाबी गरेर गलत प्रचार गरेको बताउँदै नेपाल विद्यार्थी संघ उनीहरूकै दावाअनुसार १ सय ५ बाट २० फर्जी घटाउँदा ८५ मा मात्रै देखिएकाले फर्जी तथ्यांकको पछि नलाग्न आग्रह गरे । अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीले अहिलेसम्म दाबी गरेका क्याम्पसलाई गणना गर्ने हो भने करिब २ सयभन्दा बढी क्याम्पसमा स्ववियु निर्वाचन भएको अनुमान लगाउन सकिन्छ । यथापि, त्रिविले भने २ सय ३१ वटा क्याम्पसमा नजिता आएको जानकारीमा आए पनि आधाकारिक पुष्टि भने भइनसकेको समेत जनाएको छ । त्रिवि निर्वाचन समितिले अझै निर्वाचनको अन्तिम नतिजा आउन केही दिन लाग्ने जनाएको छ । त्रिविले सार्वजनिक गरेको नतिजाअनुसार अनेरास्ववियु १ सय ५, नेविसंघ ८५ र अखिल क्रान्तिकारी ७३ क्याम्पसमा विजयी भएका छन् । उता नेविसंघले भने निर्वाचन प्रक्रिया नभएको ठाउँमा अखिलले नै आफूखुसी विजयी भन्दै गलत प्रचार गरेको आरोप लगाएको छ । उसले अखिलले निर्वाचन प्रक्रिया नै नभएको क्याम्पसको तथ्यांक प्रचार गरेर आफूलाई पहिलो देखाउन खोजे पनि अन्ततः अन्तिम नतिजाअनुसार नेविसंघ पहिलो हुने दाबी गरेको छ । नेविसंघ महामन्त्री कुन्दन काप्mलेले आफू चुनाव नजित्ने क्याम्पसमा मतगणनामा अवरोध गरेर अखिल र अखिल क्रान्तकारीले निर्वाचन समितिलाई आफ्नो बसमा पारेको आरोप लगाए । महामन्त्री काप्mलेले अखिलले गलत भनेर सार्वजनिक गरेका तथ्यांकको अन्तिम पुष्टि त्रिविले नगरेको आरोपसमेत लगाए । करिब २ सय ८० भन्दा बढी क्याम्पसमा निर्वाचन भएको दाबी गर्दै आफूले हार्ने क्याम्पसमा मतगणना गर्न नदिएको बताउँदै झापामा शनिबारबाट मतगणना सुरु भएको दाबी गरे । नेविसंघको दाबीअनुसार सम्बन्धनप्राप्त क्याम्पसमध्ये ५० प्रतिशत क्याम्पसमा निर्वाचन भएको छ ।

अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले भने लगभग अन्तिम निर्वाचन परिणाम आइसकेको बताए । त्रिविको आधिकारिक तथ्यांकअनुसार आफूहरूले दाबी गरेअनुसारै ७३ वटा क्याम्पसमा विजयी भएको अध्यक्ष न्यौपानेले बताए । उनको दाबीअनुसार अखिल, नेविसंघ, क्रान्तिकारी र अन्य संगठनको नतिजाअनुसार २ सय १५ को हाराहारीमा निर्वाचन भएको छ ।

त्रिवि निर्वाचन समितिले सार्वजनिक गरेको नतिजाअनुसार २३ आंगिक क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियु पहिलो देखिएको छ । ६० वटा आंगिक क्याम्पसमध्ये उपत्यकाका सात र बाहिरका १६ आंगिक क्याम्पस स्ववियु निर्वाचन भएको थियो । त्यसमध्ये अनेरास्ववियुले नौ, नेविसंघले आठ, अखिल क्रान्तकारीले तीन, एक÷एकवटामा नेक्राविसंघ र संयुक्त विद्यार्थी संगठ विजयी भएका छन् । उता मेची क्याम्पसमा मतगणना रोकिएको निर्वाचन समिति संयोजक डा. सुधा त्रिपाठीले जानकारी दिइन् ।

निर्वाचन समितिका अनुसार अनेरास्ववियुले महाराजगन्ज मेडिसिन क्याम्पस, महाराजगन्ज नर्सिङ क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस धरान, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, भोजपुर बहुमुखी क्याम्पस, वन क्याम्पस पोखरा, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, नर्सिङ क्याम्पस नेपालगन्ज, सुर्खेत शिक्षा क्याम्पसमा विजय प्राप्त गरेको छ । नेविसंघ जनप्रशासन क्याम्पस, वन विज्ञान क्याम्पस हेटौंडा, पोखरा नर्सिङ क्याम्पस, वीरगन्ज नर्सिङ क्याम्पस, धवलागिरि बहुमुखी क्याम्पस, लमजुङ कृषि क्याम्पस, डडेल्धुरा क्याम्पस, डोटी क्याम्पसमा विजयी भएको छ । अखिल क्रान्तिकारी पुल्चोक इन्जिनियरिङ क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस र सानोठिमी शिक्षा क्याम्पसमा विजयी भएको छ । भक्तपुर क्याम्पसमा नेक्राविसंघ र धरानस्थित महेन्द्र बहुमुखीमा संयुक्त विजयी भएको निर्वाचन समितिले पुष्टि गरेको छ ।
राजधानी किरण बुढाथोकीले लेखेको खबर ।

प्रतिक्रिया