काठमाडौं २१ फागुन/ ‘१५ वर्ष जेल । पाँच लाख जरिबाना', २३ बर्से ठिटोले यो सजाय सुनेपछि के सोच्ला ? ‘सक भएँ । तर मेरा लागि यो सामना गर्नुको विकल्प थिएन। माथिल्लो अदालतले न्याय दिन्छ भन्ने आशा बाँकी नै थियो', टोलाइरहेका लक्ष्मण थापाले भने ।
२०६७ सालमा काठमाडौं जिल्ला अदालतले लागूपदार्थ बेचबिखनको अभियोगमा फैसला गर्दा थापाले पुर्पक्षमै लगभग साढे चार वर्ष कारागार जीवन बिताइसकेका थिए । लागूपदार्थ बेचबिखनको आरोपमा बानेश्वरबाट पक्राउ परेका लक्ष्मणको उमेर त्यतिबेला १९ वर्ष मात्रै थियो । त्यसयता उनले जेलबाहिरको संसार देखेका छैनन् ।
बानेश्वरका लक्ष्मण हुनेखाने परिवारका एक्ला छोरा हुन् । ‘मेरो तनाव एकातिर थियो, बाबुआमाको अर्कातिर । एक्लो छोरो जेल पर्दा उहाँहरूलाई कस्तो लाग्यो होला, म अनुमान गर्न सक्थें । गाउँसमाजले के भन्छ होला, म सोच्न सक्थें', नक्खु कारागारमा रहेका उनले भने, ‘बुबाआमा निकै चिन्तित हुनुहुन्थ्यो । जे भयोभयो भनेर सम्झाउनुहुन्थ्यो । यस्तो स्थितिमा पढ्नुपर्छ भनेर घरबाट दबाब आयो ।' बाबुआमाले किन त्यसो गरे, उनले निकै पछि मात्र बुझे ।
उनी अहिले पढाइका ‘एडिक्ट' बनेका छन् । जेलभित्र पढन्ते भनेर चिनिन्छन् उनी । जेलबाटै स्नातकदेखिको पढाइ अगाडि बढाएका लक्ष्मणले राजनीतिशास्त्र, इतिहास, ग्रामीण विकास र समाजशास्त्रमा स्नातकोत्तर गरिसकेका छन् । समाजशास्त्रमा शोधपत्र लेख्न बाँकी छ । यी सबै विषय उनले प्रथम श्रेणीमा नियमित पास गरेका हुन् ।
समाजशास्त्रमा शोधपत्रको अंकबाहेक उनले ५९ प्रतिशतभन्दा बढी अंक ल्याएका छन् । अहिले कल्चरमा स्नातकोत्तर दोस्रो वर्षको परीक्षा दिने तयारी गर्दैछन् । पहिलो वर्षमा ५९ प्रतिशत अंक ल्याए । मेजर इङ्लिस र पपुलेसनमा पनि स्नातकोत्तर भर्ना भइसकेका छन् उनी । ‘जेल आउनेबित्तिकै राजनीतिशास्त्र र इतिहासमा स्नातकमा भर्ना भएँ । त्यसपछि क्रमशः दुवै विषयमा स्नातकोत्तर गरें । त्यसपछि ग्रामीण विकास र समाजशास्त्रमा', उनले भने । समाजशास्त्रमा थेसिस लेख्नैपर्ने भएकाले बाँकीमा भने उनले थेसिसको ‘अपसनल' खोजे । पेपर नै दिए । उनलाई लाग्छ, जेल आएपछि पढ्न सिकें, पढाइभन्दा माथि धेरै कुरा बुझें ।
बानेश्वरमा जन्मेका लक्ष्मणले एसएलसीसम्म ६ वर्ष छात्रावास बसे । सुरुमा एलएलसीमा फेल भए । पछि दोस्रो श्रेणीमा पास भए । प्लस टुका लागि भीएस निकेतनमा भर्ना भए । यसबीचमा उनी कुलतमा फसे । चुरोट, गाँजासहितका लागूपदार्थसमेत सेवन गर्न थाले । यही कारण उनलाई परिवारले रिह्याबमा समेत राख्यो । उनी बीबीएका लागि भीएस निकेतनमै भर्ना भए ।
एक दिन कलेजकै साथीसाथीबीच कुटाकुट भयो । हतियारको पनि प्रयोग भयो । घटनालाई लिएर तीनकुने चौकीमा मुद्दा पर्यो । आफू पक्राउ पर्ने देखेपछि उनले अध्ययनका लागि लन्डन जाने तयारी गरे । अन्तर्वार्ताका लागि १० दिन बाँकी रहँदा प्रहरीले उनलाई पक्राउ गर्यो । लक्ष्मणलाई मीनभवनस्थित नापी विभागबाट एक सय तीन ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको दाबी प्रहरीको थियो ।
‘लामो समय बोडर््स बसेकाले एसएसलीपछि म पिँजडाबाट फुत्किएको पक्षीजस्तै भएँ । उमेर र संगत पनि त्यस्तै थियो । लागूपदार्थका ग्राहक बढी कलेजकै विद्यार्थी थिए । कलेजमा झगडा परेको थियो । लन्डनमा अध्ययनका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको थिएँ । तर अचानक लागूपदार्थ बिक्री गरिरहेको अवस्थामा पक्राउ गरिएको भन्दै ममाथि मुद्दा चलाइयो । म लागूपदार्थ सेवन गर्थें । तर लागूपदार्थ बिक्री गर्दै हिँड्नुपर्ने मेरो पारिवारिक अवस्था थिएन । मलाई कसले फसायो, अझै बुझ्नसकेको छैन । बाहिर जान लागेको व्यक्ति कसरी लागूपदार्थ बिक्री गर्दै हिँड्छ ? ' उनले केहीबेरको मौनतापछि भने ।
उनले लामो समय आस मारेनन् जबसम्म मुद्दा जिल्ला अदालतमै थियो । उनलाई लागेको थियो फिल्ममा जसरी उनले पनि अदालतमा न्यायाधीशसामु बयान दिन पाउनेछन् र फैसला हुनेछ । ‘तर मैले त पेसीबारे जानकारी नै नपाईकन फैसला भयो', उनको गुनासो छ । ९९ ग्राम वा त्यसभन्दा कम ब्राउनसुगर बरामद भएको अवस्थामा उनलाई अधिकतम १० वर्ष जेल र ७५ हजार जरिबाना फैसला हुने थियो । उनले पुनरावेदनमा पनि मुद्दा हारे । सर्वोच्चमा ६ वर्षअघि गएको मुद्दामा भने फैसला हुन बाँकी छ ।
‘तर म जेल परिसकेको थिएँ । दिमागमा अनेक कुरा खेल्थे । उत्तिकै रिस पनि उठ्थ्यो । मैले आफूलाई शान्त बनाउनुको विकल्प थिएन', उनले भने । अधिकतम समय पढ्न थाले । उनको ध्यान पढाइमा मात्र केन्द्रित हुन थाल्यो । उनकै शब्दमा ‘पढाइले ध्यान डाइभर्ट गर्यो । यसरी पढाइको एडिक्ट भएँ ।' अचेल दैनिक औसत पाँच घन्टा पढ्ने गरेका छन् उनले । ‘त्यत्तिकै बस्दा दिमागमा अनेक कुरा खेल्नु स्वाभाविक थियो । त्यसैले पढ्न थालें । पढाइ थेरापीजस्तै भयो । वास्तवमा सुरुमा किन पढ्दै छु भन्ने पनि थाहा थिएन । तर पछि अरू काम पनि नहुँदा पढाइमै ध्यान केन्द्रित हुन थाल्यो', लक्ष्मणले भने ।
लक्ष्मणलाई जेलभित्रै बसेर एउटै विषयमा स्नातकोत्तर गर्नु पनि सजिलो थिएन । तर उनलाई परिवारले निकै ठूलो सहयोग गर्यो । साथीभाइले पनि साथ दिए । त्रिभुवन विश्वविद्यालयका ‘लेक्चरर' ले पनि साथ दिए । ‘कुन विषय पढ्ने भन्नेमा म सरहरूसँग कुरा गर्छु । केहीले जेलबाट फोन गरेको भनेर फरक व्यवहार पनि गर्छन्, त्यो थाहा भइहाल्छ ।
लक्ष्मणले राजनीतिशास्त्र, इतिहास, ग्रामीण विकास र समाजशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर गरिसकेका छन् ।
घरबाट किताब खोजिदिने, सन्दर्भ सामग्री खोजिदिने गर्नुहुन्छ । म आफैं पनि पुस्तक पसलको नम्बर पत्ता लगाएर आफूलाई चाहिने किताबबारे बुझ्छु । केही किताब भारतबाट पनि मगाएर पढेको छु । स्वअध्ययन गर्नुपर्ने भएकाले मैले जसरी पनि बुझ्नैपर्छ', उनले थपे । धेरै विषयमा स्नातकोत्तर गर्नुको महत्वव उनले त्यति धेरै बुझेका छैनन् । तर पढेका विषयमा आफूलाई राम्रो ज्ञान भएको उनको दाबी छ । जेलभित्र बसेर एमफिल तथा विद्यावारिधि गर्न नमिल्ने भएकाले आफूले अगाडिको अध्ययन गर्न नसकेको बताउँछन् उनी ।
‘ऐननियममा त्यस्तै व्यवस्था होला । तर मैले जेलमा बस्नेमध्ये उदाहरण बन्न खोजेको हुँ । मैले आममानिसलाई सन्देश दिन खोजेको हुँ । जेलभित्रको पढाइले मानिसलाई सम्भावित नकारात्मक सोचाइ र तनावबाट मुक्त गराउँछ', उनले थपे । उनले एमफिल तथा विद्यावारिधि गर्न पाऊँ भनेर अदालतमा पनि निवेदन दिएको तर कुनै निर्णय नआएको सुनाए । लागूपदार्थलगायत अन्य केही अपराधमा कैदीले तोकिएको कैद अवधि पूरा समय बस्नैपर्ने हुन्छ ।
पछिल्लो १२ वर्षमा धेरै कुरा परिवर्तन भयो । उनकै घर रहेको बानेश्वर एरियाले रूप फेरिसकेको छ । प्रविधिले पनि अप्रत्यासित छलाङ मार्यो ।
‘बाहिरको दुनियाँ कहाँ छ, थाहा छैन । मोबाइल, कम्प्युटर दियो भने चलाउन आउँदैन होला । २०६२ साल र अहिले धेरै फरक आइसकेको छ', ३१ बर्से लक्ष्मणले भने ।
उनी रामेछाप, इलाम, सप्तरी र सेन्ट्रल जेलमा पनि बसेका छन् । इलाम र सप्तरीको जेल आफ्नै इच्छामा गएको उनले बताए । उनले भने, ‘बाहिर निस्कन नपाए पनि यी जेलको बसाइमा मैले धेरै कुरा सिक्न पाएँ । यसले रिफ्रेस बनायो ।'
करिब तीन वर्षपछि उनी जेलबाट छुट्नेछन् । जेलबाट छुटेपछिका चुनौती पनि उनले बुझेका छन् । ‘जेलमा हुँदासम्म त मैले समाजको कुरा सुन्नु र हेर्नुपरेको छैन । मान्छेहरूले मेरैसामु कुरा काट्लान्, कलंक हो भन्लान् । परिवारले पनि आश मारिसक्नुभएको थियो होला । पढेकाले छोराले काटेको नाक जोड्छ भन्ने आशा उहाँहरूको होला । मलाई विश्वास छ, समाजमा म रिकभर हुनेछु', उनको विश्वास छ ।
उनले अचेल अभिभावकलाई भन्दा रहेछन्, ‘१४ वर्ष जेल बसेका केपी ओली त यो देशको प्रधानमन्त्री भएर वाहवाही कमाए भने मैले केही गर्न सक्दिनँ भन्ने कारण के छ ? ' अहिले उनलाई पढाइकै चिन्ता छ । फागुन २७ देखि सुरु हुने कल्चर विषयको स्नातकोत्तर दोस्रो वर्षको परीक्षा तयारीमा जुटिरहेका छन् उनी । उनले भने, ‘मेरो उद्देश्य पढेका सबै विषय प्रथम श्रेणीमा पास गर्ने हो । मलाई थाहा छैन म कहाँ पुग्छु तर म निकै सकारात्मक छु ।'
अन्नपूर्ण पोष्टमा प्रकशित खबर ।
प्रतिक्रिया