काठमाडौं– शैक्षिक सत्रको शुरुमै विद्यार्थीको हात हातमा पुग्नु पर्ने पाठ्पपुस्तक कतिपय स्थानमा शैक्षिक सत्र सकिने बेलामा पनि पुग्दैन । आगामी शैक्षिक सत्रमा पनि अवस्था त्यस्तै हुने पक्का भईसकेको छ ।
आउँदो बर्ष विद्यालय तहका लागि ३ करोड ७२ लाख ५१ हजार ९ सय ५५ थान पाठ्यपुस्तक आवश्यक छ । किताब छाप्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले बिहीबार सम्म १ करोड १० लाख पाठ्यपुस्तक मात्रै छापेको जनाएको छ । जनकले हाल दैनिक १ लाख १० हजार थानको दरले पाठ्यपुुस्तक छापिरहेको जनकका निर्देशक कपिलदेव लामिछाने बताउँछन् । तर, नयाँ शैक्षिक सत्र शुरु हुन ४२ दिन बाँकी छ । शैक्षिक सत्र शुरु हुने दिन सम्मै यही रफ्तारमा छाप्ने हो भने पनि अब जम्मा ४६ लाख २० हजार थान पुस्तक छापिन्छ । अर्थात् २ करोड १६ लाख ३१ हजार ९ सय थान पुस्तक अझै बाँकी रहन्छ ।
अवस्था यस्तो विकराल छ तर शिक्षा मन्त्रालयका उच्च कर्मचारी पानी माथिको ओभानो बन्ने दाउमा ब्यस्त छन् । शिक्षाका समग्र मुद्धाको सम्पादन र ब्यवस्थापन गर्ने तालुकदार निकाय शिक्षा मन्त्रालय र विभाग कहाँ नेर आफ्नो कार्य सम्पादन चुक्दा हरेक बर्ष यो थिती भयो ? भन्ने विश्लेषण गर्दैन, बरु उल्टै अर्कालाई दोष दिएर पन्छिन खोज्छ !
पाठ्यपुस्तकको अवस्था र अभावका बारेमा बिहीबार आयोजित कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव देखि विभागका महानिर्देशकसम्मले पाठ्यपुस्तकको अभावको सबै दोष जनक शिक्षाको टाउकोमा थुपारेर चोखिने प्रपञ्च रचे ।
शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले कार्यक्रममा जनक शिक्षा सामग्री केन्द्रकै कारण वर्षेनी पाठ्यपुस्तक अभाव हुने गरेको निर्धक्क बताए । ‘जनक शिक्षा सामग्री केन्द्रले राम्ररी काम गरेको भए पाठ्यपुस्तक अभाव हुने थिएन ।’ उनले भने । पाठ्यपुस्तक छपाइ र वितरण प्रणालीलाई सुधार नगरी पाठ्यपुस्तक समयमै पु¥याउन नसक्ने उनले बताए । जनकको जनशक्ति र पूर्वाधारमा सुधारको आवश्यकता औंल्याउँदै उनले जनकलाई पनि शिक्षा मन्त्रालय अन्तर्गतको संरचनाभित्र ल्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा अधिकांश समय जनकको सुधारबारे बोलेका सचिव श्रेष्ठले जनकलाई जस्ताको त्यस्तै राखेर पाठ्यपुस्तक नपुग्ने दाबी गर्दै त्यसको लागि निजी छापाखानाको पनि सहयोग लिन जरुरी भएको बताए ।
उनले भने ‘छाप्न र समयमा पु¥याउन निजी छापाखानालाई जिम्मा दिएर पनि पाठ्यपुस्तक पु¥याउनुपर्छ ।’
सोही कार्यक्रममा शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले मन्त्रालयदेखि जनक शिक्षासम्मलाई समेट्ने खालको नीतिको अभाव हुँदा यो अवस्था आएको भन्दै आफू सरक्कै पन्छिए । शिक्षा मन्त्रालयका अर्का सहसचिव पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्ण काप्रीले समयमै पाठ्यपुस्तक पु¥याउनका लागि जनकको आर्थिक, छपाइ, मूल्य र वितरण प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याए ।
पाठ्यपुस्तकको अभावका पछिल्तिरको लहरो जनक र शिक्षा मन्त्रालयको निकै भित्र सम्म पुगेको भन्दै आलोचना समेत हुँदै आएको छ । मन्त्रालय र जनक भित्रका केही स्वार्थ समूहको प्रभावले सँधै यस्ता हविगती हुने चर्चा चलेको लामो समय भयो । खास गरी छपाईका सवालमा शिक्षा मन्त्रालय भित्र हुने कमिसनको चलखेल र यसमा सघाउने जनकको एउटा तप्काको मारमा हरेक बर्ष विद्यार्थी पिल्सिदैं आएका छन् ।
पढ्नुहोस् : शिक्षा मन्त्रालयको निकम्मापनको हद
माघ ४ गते बसेको संसदीय समितिको बैठकमा सांसदहरुले कमिसनको चक्कर र निजीलाई पक्ष पोषण गर्न शिक्षा मन्त्रालय नै लागि परेको भन्दै आलोचना समेत गरेका थिए ।
पढ्नुहोस् : शिक्षा मन्त्रीलाई सांसदले भने - न रहे बाँस न बजे बाँसुरी !
प्रतिक्रिया