Edukhabar
आइतबार, ०७ पुस २०८१
खबर/फिचर

ताला नलागोस्, आइन्दा क्याम्पसमा आगो नलागोस्

विहीबार, १९ फागुन २०७३

काठमाडौं– आठ वर्षपछि भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावमा आफूले मनले खाएको व्यक्ति र दलनिकट संगठनलाई भोट दिएका काभ्रे बहुमुखी क्याम्पसमा स्नातक अध्ययनरत नवराज ढकाल आफूले दिएको मतको कदर होस् भन्ने चाहन्छन् ।

‘भोट दिएर हामीले साथीहरुलाई जितायौं अब, हाम्रो मतको कदर भए हुन्थ्यो ।’ उनले भने ।

क्याम्पसमा दर्ता भएका संगठनहरुका घोषणापत्रमा उल्लेख भएका बुंदाहरुले मन छोएपछि भोट दिएको बताउँदै उनले घोषणापत्रमा उल्लेख भएअनुसार विद्यर्थी नेताले काम गरे क्याम्पस पूर्ण रुपमा शैक्षिक थलो बन्ने देखेका छन् ।

‘विश्वविद्यालय र क्याम्पसको शैक्षिक क्यालेण्डर पूर्ण रुपमा लागू गर्न लगाइने, परीक्षाको परीक्षाफल समयमै प्रकाशन गर्न लगाइने, क्याम्पसको भौतिक वातावरणमा सुधार गर्ने, शुल्क बढाउन नदिने कुराहरु गरेका छन्, हेर्दै जाऔं हुन्छ कि हुन्न’ उनले भने, ‘उनीहरुका पार्टीका नेताहरुजस्तै आश्वासन मात्र दिने खालका त हुँदैनन् होला ।’ उनको मनमा शंका चैं छ, तर क्याम्पसमा ताला र आगो नलागोस् शैक्षिक वातावरण होस् भन्ने उनको चाहना छ ।

निर्वाचन सँगै आफ्ना संगठनले यति संख्यामा जिते र उति सँख्यामा जिते भन्दै जोडघटाउ जारी छ  । तर भोट हालेका विद्यार्थीलाई त्यो संख्याको खासै महत्व छैन । उनीहरु केवल आफू अध्ययनरत क्याम्पसमा पठनपाठनको वातावरण नभत्काईदिए हुन्थ्यो भन्ने मात्रै चाहि रहेका छन् ।

त्यसैले त भक्तपुर बहुमुखी क्याम्पसका विद्यार्थी रमिला प्रजापति पनि भोट पाउनुअघि गरेका प्रतिवद्धता पूरा गरेको खण्डमा भोटको कदर मात्र नभएर स्ववियुकै औचित्य अझ बलियो हुने बताउँछिन् । विद्यार्थी संगठनहरुले गरेको गतिविधिलाई हेरेर भोट दिएका कारण आफ्ना भोट पाएका नेताहरुले क्याम्पसका कहिले के, कहिले केको नाममा हुने तालाबन्दी, आन्दोलन नगर्ने र पढ्ने वातावरण नखल्बल्याउनेमा आशावादी छिन् ।

‘हाम्रा नेताहरुले कम्तीमा पनि तालाबन्दी नगरिदिए, हाम्रो नियमित पढाइ हुने वातावरण बनाइदिए हाम्रो मतको सम्मान हुने देखेको छु ।’ उनले भनिन् ।

प्रजापति त प्रतिनिधि पात्र हुन् आफ्नो क्याम्पसमा दलीय राजनीतिको कारण हुने पढाइ अवरुद्ध रोकियोस्, पढ्न पाईयोस् विद्यार्थी संगठनहरु राजनीतिक भन्दा पनि रचनात्मक र शैक्षिक गतिविधिमा संलग्न होउन् भन्ने अधकाँश विद्यार्थीको चाहना र मत छ ।

‘हामी दुर्गम ठाउँबाट राम्रो पढाइ हुन्छ भन्ने विश्वासका साथ घर छोडेर यहाँसम्म पढ्न आएका छौं, कहिले तालाबन्दी, कहिले तोडफोड जस्ता क्रियाकलापमा विद्यार्थी नेताहरुले अगुवाई नगरे हुन्थ्यो’ सानोठिमी क्याम्पसका विद्यार्थी सविता भन्छिन्, ‘क्याम्पसको पढाइ, भौतिक वातावरण सुधारमा ध्यान दिए स्ववियुमा विद्यार्थीका अझ विश्वास हुने देखेको छु ।’

त्रिभुवन विश्वविद्यालय अन्र्तगतका अधिकाँश क्याम्पसहरुमा शैक्षिक गतिविधि र कक्षाहरुको स्थिति भद्रगोल छ । स्वच्छ खानेपानी, बत्ती, डेस्क, बेञ्चको राम्रो सुविधा छैन । हरेक विद्यार्थीले राम्रो अध्ययनको वातावरणमा पढ्न पाउनुपर्छ । यो कुरामा स्ववियुका नेताहरुले ध्यान दिनुपर्ने अधिकांश विद्यार्थीको मत छ । क्याम्पसमा हुने भ्रष्टाचार, कमिशनखोरी र गुण्डागर्दीका विरुद्धमा विद्यार्थी छन् । त्यसको लागि नेतृत्वले ध्यान दिएर क्याम्पसलाई  प्राज्ञिक विकास र रचनात्मक सक्रियताको केन्द्र बनाउनु पर्ने चुनावमा सहभागि विद्यार्थीको धारणा छ ।

प्रतिक्रिया