- प्रकाश सिलवाल पेशाले पत्रकार हुन् । साहित्यिक क्षेत्रमा पछिल्लो दुई दशकदेखि उनले कविता र निबन्ध लेख्दै आएका छन् । नुवाकोटको थानापतिमा २०३६ मा जन्मेका उनका ‘क्षितिजको आशय’ (कविता संग्रह २०६०) र ‘पूर्णिमाको रात’ (निबन्ध संग्रह २०६३) प्रकाशित छन् । हाल राष्ट्रिय समाचार समितिमा कार्यरत उनी शिक्षा पत्रकार समूहको पूर्व अध्यक्ष पनि हुन् । यसपटक कवि सिलवालका दुई कविता बधाइ, तपाईँको विद्यालय ध्वस्त भएछ ! र विद्यालय कि पाइखाना ? प्रस्तुत गरेका छौंँ ।
बधाइ, तपाईँको विद्यालय ध्वस्त भएछ !
किन मुस्कान पस्किरहेका छन् ती प्रिन्सिपल
विद्यालयको भग्नावशेषमा उभिएर ?
हुन त,
यहाँ भत्किन योग्य सबै भवन
माटोमा मिलेका छन्
नयाँ घर बनाउन नसक्नेहरू
पुर्पुरोमा हात राखिरहेका छन् ।
नजिकैको त्यो बोर्डिङ भत्केको हो
साँच्चै, हेर्नाेस् त
किन मुस्कान पस्किरहेका छन् ती प्रिन्सिपल
विद्यालयको भग्नावशेषमा उभिएर ?
पत्रकारले सोध्यो,
पढाइ कसरी चलाउनु भएको छ ?
प्रिन्सिपलले देखाउँदै भने–
नजिकैको टहरामा
जहाँ पहिला कुखुरा राखिएको थियो...।
‘यो भत्किएको घर कहिले बनाउनु हुन्छ ?’
निरुत्तर प्रिन्सिपल निकैबेर चुप रहे
भाडाको यो घर बन्नु र नबुन्नुमा उनलाई
खुसी र विस्मात केही थिएन
भूकम्पको बहानामा आधा भाडा छुटमा पाएर प्रफुल्ल थिए
र, शिक्षकले पनि पाएका थिए नियमित तलब
भूकम्पले उराठ शहरको मध्य भागमा बसेर
बधाइ खाइरहेछन् प्रिन्सिपल
शुभकामना पाइरहेछन् सञ्चालक
‘तपाईँहरूको स्कुल राखेको घर त भत्केछ
अर्थात्,
पहिलााको जति भाडा तिर्नु नपर्दा
सेवाको व्यापार पनि बढेको छ’
मलाई विश्वास छ,
भूकम्पले जतिनै लथालिंग पारे पनि
प्रिन्सिपल र सञ्चालकले शुल्कमा कुनै तल माथि गर्नु हुने छैन
बरू, जोड्नु हुनेछ,
नयाँ भवन निर्माण शुल्क ।
र त उहाँ मुस्काइ रहनु भएको छ कुटिल मुस्कान
अब फेरि भनिरहनु जरुरी छैन कि
किन मुस्कान पस्किरहेका छन् ती प्रिन्सिपल
विद्यालयको भग्नावशेषमा उभिएर ?
विद्यालय कि पाइखाना ?
के तिनीहरूले अपराध बोध गर्लान् ?
जसले विद्यालयलाई हाकाहाकी पाइखाना बनाए ?
त्यसै पनि पछाडि परेको
गाउँको त्यो शिक्षालय
भूकम्पको विनाशकारी दृष्य देख्न नपाउँदै
आफै ढलिसकेको थियो, क्षणभरमै ।
स्वाभाविक थियो
गाउँलेहरू आफ्नै घरका भग्नावशेष
उत्खनन्मा लागे
शिक्षकहरू सरकारको राहत बाँड्ने टोलिमा खटिए
केही समय विद्यालय कुरिदिने कोही भएन
कहिलेकाँही रात्रीमा आउँथे
स्याल, बँदेल र ढाडे बिरालाहरू ।
जब दोस्रो भूकम्पले तर्सायो
मानिसहरू विद्यालयमा आश्रय लिन थाले ।
कुनैबेला भनिन्थ्यो कि विद्यालय दोस्रो पाठशाला
यतिबेला पहिलो पाठशाला जस्तो भयो विद्यालय
परकम्पनहरूले क्रमशः छाडेपछि मानिसहरूले
विद्यालय छाड्न थाले मान्छेहरु
र भन्न थाल्यो सरकार
‘अब विद्यालय खोल्नुपर्छ’
विद्यार्थी र अभिभावक कराउन थाले
खोइ कक्षा कोठा ?
खोइ हाम्रा कक्षा कोठा ?
व्यवस्थापन समिति र शिक्षक मिलेर जुटाए
केही थान त्रिपाल र स्याउलाको छानो
चित्त बुझेन सायद कोही अभिभावकलाइ
त्यही रात विष्टाइदिए उनीहरूले
अस्थायी कक्षा कोठामा ।
तपाईँलाई पत्यार नलाग्न सक्छ
पढाइ सुरू हुने दिन
एक शिक्षिका विद्यार्थी सम्हाल्नु अघि
सोहोरिरहेकी थिइन्
मान्छेको भकारो ।
नयाँ नेपालका यी अभिभावक
के सिकाउँदैछन्
छोराछोरीलाई ? किन हुँदैछ शिक्षाकुञ्जको अपमान ?
कस्ता थिए होलान् शिक्षक
जसले पढाए विद्यालयलाइ शौचालय बनाउने अभिभाकलाई
वा ती पढ्दै नपढेका थिए ?
विद्यालय खुलेपछि के भने होलान् तिनले
त्रासबाट भरखै व्युँतिदै गरेका आफ्ना केटाकेटीलाइ ?
के तिनले भन्ने आँट गरे होलान्,
हिजोको साँझ विद्यलायमा विष्ट्याउने मै हूँ ?
के तिनीहरूले अपराध बोध गर्लान् ?
जसले विद्यालयलाई हाकाहाकी पाइखाना बनाए ?
प्रतिक्रिया