Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
खबर/फिचर

प्रश्नपत्रको चलखेलमा शिक्षा मन्त्रालयको 'ब्रेक', ११ को परीक्षा असारमा हुने सम्भावना

मंगलबार, १७ फागुन २०७३

काठमाडौं - निर्वाचनको बहाना बनाएर भारतमा प्रश्नपत्र छाप्ने राष्ट्रिय परीक्षा बोर्डका केही कर्मचारीको चलखेल विपरित शिक्षा मन्त्रालयले कक्षा ११ र १२ को प्रश्नपत्र नेपालमै छाप्ने ब्यवस्था मिलाउन बोर्डलाई निर्देशन दिएको छ । निर्वाचनका लागि आवश्यक मतपत्र छाप्न जनक शिक्षा सामग्री केन्द्रलाई जिम्मा दिने निर्वाचन आयोगको तयारीलाई बहाना बनाएर बोर्डका कर्मचारीले प्रश्नपत्र छाप्न भारत लैजानु पर्ने प्रस्तावको तयारी गरेका थिए । भारतमा प्रश्नपत्र छाप्न पाए आर्थिक लाभ हुने लोभमा उनीहरुको यस्तो तयारी थियो ।  

निर्वाचनकै बेला परेको कक्षा ११ को परीक्षा सार्नु पर्ने भए पनि यही मेसोमा कक्षा १२ को समेत परीक्षा सार्ने र जनकले प्रश्नपत्र छाप्न नभ्याएको निउँमा भारत लैजाने प्रस्तावको तयारी थियो ।

कक्षा ११ र १२ को प्रश्नपत्र जनकले छाप्दै आएको छ । पछिल्लो ५ बर्ष देखि प्रश्नपत्र नेपालमै छाप्न थाले पछि भारत जाने क्रम रोकिदाँ देशको करोडौं रकम विदेशिनबाट बच्दै आएको छ । तर, यस पटक निर्वाचनको बहाना बनाएर भारतमै प्रश्नपत्र छाप्ने गरी परीक्षा मिति सार्न चलखेल भएको श्रोत बताउँछ ।

पढ्नुहोस् : कक्षा १२ को परीक्षा समेत सार्ने तयारी, भारतमा प्रश्नपत्र छाप्न चलखेल

बोर्डका कर्मचारीको उक्त चलखेल एडुखबरले सार्वजनिक गरेको केहीबेरमा मंगलबार बेलुका शिक्षा मन्त्रालयमा परीक्षा समितिको बैठक बसेको थियो ।

बैठकमा उक्त प्रस्तावका बारेमा आलोचना भएको श्रोतले जनाएको छ । लामो कसरत पछि बल्ल तल्ल भारतमा लैजाने चलनको अन्त्य गर्न सकिएको अवस्थामा कुनै पनि बहानामा पुरानै कार्य गर्न नहुने भन्दै शिक्षा मन्त्रालयका कर्मचारीले अडान लिएपछि उक्त प्रस्तावमा छलफलनै नभएको उक्त श्रोतले जनायो ।

कक्षा ११ को परीक्षा कहिले गर्ने भन्ने निर्णय गर्न बैठक बोलाईएको भएपनि यसबारेमा त्रिभुवन विश्वविद्यालयका अन्य परीक्षाका बारेमा यकिन नगरीकन निर्णय गर्न गाह्रो भएको बोर्डका कार्यबहाक अध्यक्ष समेत रहेका शिक्षा सचिव शान्त बहादुर श्रेष्ठले बताए । त्रिभुवन विश्वविद्यालयका परीक्षाहरु कहिले सकिने हुन् त्यसका आधारमा मात्रै यताको निर्णय गर्ने भन्दै बुधबार आन्तरिक तयारी गरेर बिहीबार बस्ने बैठकले कक्षा ११ को नयाँ तालिका सार्वजनिक गर्ने उनले बताए ।   

'प्रश्नपत्र कहाँ छाप्ने भन्ने त ईस्यु नै हैन, हामीले नेपालमै छाप्न शुरु गरिसकेको कुरा फेरी अन्त लैजाने भन्ने त हुँदै हुँदैन, हामी त्यो गर्न दिदैंनौं' उनले भने, 'निर्वाचन अघिनै सकिने कक्षा १२ को परीक्षा पनि सार्दैैनौ, निर्वाचनकै विचमा परेको कक्षा ११ को परीक्षा कहिले गर्ने भन्ने बारेमा त्रिभुवन विश्वविद्यालयका परीक्षा हेरेर मात्रै टुङ्गोमा पुग्छौं ।'

त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायका परीक्षा जेठ २६ गते सम्म हो वा २८ गते सम्म हो भन्ने यकिन नहुँदा निर्णय हुन नसकेको बैठकमा सहभागि एक सदस्यले बताए । बैठकमा उपस्थित त्रिविका परीक्षा नियन्त्रक केशव बास्तोलाले सबै परीक्षाको तालिका मुखाग्र नभएकोले एक दिन समय मागेको बताए ।

'कक्षा ११ को परीक्षा कहिले गर्ने भन्ने कुरा निर्णय हुन नसक्नु मेरै कारणले हो' उनले भने, 'भोली दिनभरी सबै तयारी गरेर पर्सि विहान फेरी बैठक बसेर टुङ्याउने कुरा भएको छ ।'

त्रिविको परीक्षा जेठ २८ गतेसम्म भएको अनौपचारिक तालिकाका आधारमा बैठकमा छलफल भएको थियो । त्यसका आधारमा असारको २ वा ३ गते मात्रै कक्षा ११ को परीक्षा शुरु गर्न सकिने बारेमा पनि बैठकमा चर्चा भएको बैठकमा सहभागि एक सदस्यले बताए ।

गत फाुगुन ९ गते बसेको मन्त्रीपरिषद् बैठकले २०७४ बैशाख ३१ गते स्थानीय निर्वाचनको मिति घोषणा गरेको थियो । त्यस लगत्तै निर्वाचन आयोगले बैशाख २५ गते देखि शैक्षिक संस्था बन्द गर्न आग्रह गरेको छ । निर्वाचन घोषणा भएको एक हप्ता वितिसक्दा पनि निर्णय नगरेर बोर्डले कक्षा ११ र १२ का विद्यार्थी तथा अभिभावकलाई अलमलमा पारेको छ ।

यो पनि पढ्नुहोस् : अन्यौलमा कक्षा ११ को परीक्षा : यसो गर्न सकिँदैन र !

प्रतिक्रिया