काठमाडौं - निर्वाचनको बहाना बनाएर राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा मिति परिवर्तन गर्ने गृहकार्य गरेको छ । बैशाख ३१ गतेका लागि तय भएको निर्वाचन अघिनै सकिने कक्षा १२ को परीक्षालाई समेत पछि सार्ने गरी बोर्डका केही कर्मचारी सकृय भएको श्रोत बताउँछ ।
बैशाख २४ गते देखि जेठ ३ गते सम्मका लागि तय भएको कक्षा ११ को परीक्षा निर्वाचनका कारण सार्नु पर्ने भए पनि निर्वाचन अघि अर्थात् बैशाख २२ गते नै सकिने कक्षा १२ को परीक्षा समेत सार्ने गरी बोर्डका केही पदाधिकारी सकृय भएको उक्त श्रोतको दावि छ ।
निर्वाचन आयोगले मतपत्र छाप्नका लागि जनक शिक्षा सामग्री केन्द्रलाई जिम्मेवारी दिने तयारी गरेको कुरालाई बहाना बनाएर बोर्डका केही पदाधिकारीले तोकिएको समयमा परीक्षा गर्न नसकिने तर्क दिदैं आएका छन् ।
निर्वाचनसँगै अन्यौलमा परेको परीक्षाका बारेमा निर्णय गर्न मंगलबार वेलुका बोर्डको बैठक बस्दै छ । उक्त बैठकमा बोर्डका तर्फबाट दुवै परीक्षा सार्ने प्रस्ताव पेश गर्ने तयारी गरिएको श्रोतको दावि छ । खास गरी प्रश्नपत्र छाप्न नभ्याईने बहाना बनाईएको उक्त श्रोत दावि गर्छ ।
कक्षा ११ र १२ को प्रश्नपत्र जनकले छाप्दै आएको छ । पछिल्लो ५ बर्ष देखि प्रश्नपत्र नेपालमै छाप्न थाले पछि भारत जाने क्रम रोकिदाँ देशको करोडौं रकम विदेशिनबाट बच्दै आएको छ । तर, यस पटक निर्वाचनको बहाना बनाएर भारतमै प्रश्नपत्र छाप्ने गरी परीक्षा मिति सार्न चलखेल भएको श्रोत बताउँछ ।
'यतिञ्जेल सम्म प्रश्न पत्र छाप्न सकिन्थ्यो, त्यो पनि गरिएन, तर अझै भारत नै लैजानु पर्ने गरी ढिलो भएको छैन, तर बोर्ड बैठकमा त्यही प्रस्ताव लैजाने तयारी भएको छ' उक्त श्रोतले भन्यो, 'यसमा ठूलो आर्थिक चलखेल हुन्छ, सरकारकै स्वामित्वको मुद्रण विभाग देखि अन्य प्रेस मार्फत काम गर्न सकिने हुँदा हुँदै फरक निर्णय गर्ने कसरत भईरहेको छ ।'
भारतमा प्रश्न पत्र छाप्न जाँदा दैनिक भत्ता बापत ठूलो रकम खर्च हुन्छ, तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद्ले यसरी प्रश्न छाप्न लैजाँदा निजी उच्च माविका साहुहरुलाई पहिल्यै प्रश्नपत्र लिक गरेर पनि ठूलो चलखेल गर्ने गरेको चर्चा सुनिन्थ्यो । बोर्डका कर्मचारी विदेश जाँदा दैनिक २ सय डलर सम्म भत्ता उपलब्ध गराईदैं आएको छ ।
'निवारण भईसकेको त्यही समस्या यस पटक निर्वाचनको वहानामा फेरी जगाईदै छ' बोर्डका एक कर्मचारी भन्छन्, 'भारतमा प्रश्नपत्र छाप्न जाँदा डलरमा भत्ता उपलब्ध हुने भएपछि कमाई गर्ने मौका मिल्ने भयो भन्दै परीक्षाका केही कर्मचारी दंग परेका छन् ।'
गत फाुगुन ९ गते बसेको मन्त्रीपरिषद् बैठकले २०७४ बैशाख ३१ गते स्थानीय निर्वाचनको मिति घोषणा गरेको थियो । त्यस लगत्तै निर्वाचन आयोगले बैशाख २५ गते देखि शैक्षिक संस्था बन्द गर्न आग्रह गरेको छ । निर्वाचन घोषणा भएको एक हप्ता सम्म पनि निर्णय नगरेर बोर्डले त्यही चलखेललाई पुष्टि गरेको श्रोतको दावि छ ।
यो पनि पढ्नुहोस् : अन्यौलमा कक्षा ११ को परीक्षा : यसो गर्न सकिँदैन र !
प्रतिक्रिया