Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
खबर/फिचर

शिक्षकको फेरी अर्को संगठन, राजनीतिमा लागेर विद्यालय नबिगार्ने प्रण

मंगलबार, १७ फागुन २०७३

काठमाडौं – सामुदायिक विद्यालयका शिक्षकहरु राजनीतिक दलमा लागेर गतिलो पठन पाठन गरेनन् भन्दै आलोचना भईरहेको बेला राजनीतिमा नलाग्ने प्रण सहित केही शिक्षक मिलेर छुट्टै समूह खोलेका छन् । शिक्षकको भेलाले कञ्चनपुरका शिक्षक दीपकचन्द्र ओझाको संयोजकत्वमा तदर्थ समिति गठन गरेको छ ।

राजनीतिक दलको भ्रातृ संगठनजस्तै भएका विभिन्न पार्टी निकटका शिक्षक संघ–संगठन तथा नेपाल शिक्षक महासंघले पनि शिक्षकको हक हितको लागि केही गर्न नसक्ने निष्कर्ष निकालेर आफूहरू कहिल्यै पनि राजनीतिमा लागेर विद्यालय नबिगार्ने प्रणसहित भेला भएका शिक्षकमध्ये ओझाको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति गठन गरिएके छ ।

‘नेपाली शिक्षा क्षेत्रमा हाल देखिएको अराजनीति, विकृति र विसंगतिहरूविरूद्ध एकता भई, आजाव उठाउन र शैक्षिक गुणस्तर अभिवृद्धि एवं शिक्षकका पेशागत हकहितका लागि, बौद्धिक स्वतन्त्रतासहित, वैचारिक लडाइँ लड्न, शिक्षक राजनीतिक दलको भ्रातृ संघसंगठनभन्दा बाहिर रहेका स्वतन्त्र, इमानदार र कर्तव्यनिष्ठ नेपाली शिक्षकहरूको साझा संस्थाको आवश्यकता देखिएकाले स्वतन्त्र शिक्षक मञ्च नेपाल गठन गर्ने निर्णय गरियो ।’ मञ्च गठनका लागि भेला भएका शिक्षकले गरेको निर्णयमा भनिएको छ ।  

ओझाको नेतृत्वमा मञ्चको विधान निर्माण, संस्था दर्ता, आर्थिक संकलन तथा अन्य कार्य गर्न तदर्थ समिति गठन गरिएको छ । समितिमा म्याग्दीका देवीप्रसाद शर्मा, चितवनका जगतराज पाठक, स्याङ्जाका कृष्ण पौडेल, बैतडीका नरेन्द्र महता, सिन्धुलीका सानीमाया पुलामी, गोरखाका नारायणप्रसाद अधिकारी, नवलपरासीका रामहरि आचार्य, बाग्लुङका भूमिश्वर कँडेल, झापाका शुकदेव पोखरेल, रामेछापका सुभाव थापा, बाजुराका बामदेव ढकाल र तनहुँका सूर्यप्रसाद गौतम सदस्य रहेका छन् ।

भेलाले २०७४ सालको बैशाख मसान्तभित्रमा मञ्चलाई आधिकारिकता प्रदान गर्ने तथा मञ्चका विभिन्न क्रियाकलाप गर्न आवश्यक आर्थिक व्यवस्थापन गर्न सहयोग रसिद बनाउने निर्णय पनि गरेको छ ।
भेलाले कुनै राजनीतिक दल विशेषको सिद्धान्त, धारणा, मार्गदर्शनमा बाँधिएको शिक्षकले समाज र राष्ट्रलाई मार्गदर्शन गर्ने कर्तव्य र सिद्धान्तबाट विचलित हुने भएकोले शिक्षकको बौद्धिक स्वतन्त्रताको रक्षा गर्नु गराउनका लागि मञ्चले भूमिका खेल्ने, शिक्षकलाई राजनीतिबाट मुक्त गर्नका लागि अभिभावक, समुदाय तथा समाज, शिक्षा सम्बन्धि निकायहरू, शिक्षाविद्, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा नेपाली शिक्षकहरू अध्ययन अध्यापन, शिक्षण सिकाइ तथा कक्षाकोढ़ा क्रियाकलापमा जिम्मेवार नभै राजनितीक क्रियाकलापमा मात्र सीमित भएकै कारण नेपालको शिक्षाको स्तर खस्किदै गइरहेको छ भन्ने छाप बसेको कारण नेपाली शिक्षकलाई लज्जित हुनु पर्ने अवस्था छ त्यसलाई गलत सावित गर्नको लागि स्वतन्त्र शिक्षक मञ्चको आवश्यकता परेको जनाएको छ ।

प्रतिक्रिया