काठमाडौं - स्थानीय निर्वाचनका बेला शैक्षिक संस्था बन्द गर्ने तयारी प्रति आपत्ति जनाउँदै शिक्षाका लागि राष्ट्रिय अभियान एनसिई नेपालले विद्यार्थीको पठनपाठन गर्ने कार्यमा बाधा नपुग्ने गरी विकल्प खोज्न आग्रह गरेको छ ।
सरकारको नीति अनुसार वार्षिक कम्तीमा २ सय २० दिन विद्यालय खोल्ने प्रावधान स्मरण गराउँदै एनसिईले शैक्षिक संस्था बन्द गर्ने लगायत निर्वाचनमा बालबालिकाहरुलाई प्रयोग गर्न सक्ने जोखिमलाई ध्यान दिदैं त्यसो नगर्न समेत आग्रह गरेको छ ।
सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले एक साता विद्यालय बन्द गर्न सरकारलाई आग्रह गरेको थियो ।
पढ्नुहोस् : चुनावका बेला एक साता पठनपाठन स्थगन, शिक्षकको बिवरण माग
निर्वाचन तयारीका क्रममा शैक्षिक संस्था बन्द गर्नुको साटो सार्वजनिक विदा वा अन्य विकल्पहरु प्रयोग गरी विद्यार्थीको पढ्न पाउने अधिकार सुनिश्चित गर्न÷गराउन अभियानले ध्यानाकर्षण गराएको छ । संस्थाका अध्यक्ष कुमार भट्टराईले विज्ञप्ति जारी गर्दै निर्वाचनमा विभिन्न कृयाकलापमा बालबालिकाहरुलाई प्रयोग नगर्न सरकार, राजनीतिक दल लगायतका सबै सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।
अभियानले निर्वाचन घोषणाको भने स्वागत गरेको छ । मुलुक संविधान कार्यान्वयन गर्ने दिशातर्फ अघि बढिरहेको सन्दर्भमा सरकारले हालै घोषणा गरेको स्थानीय तहको निर्वाचनले समग्र देशको आर्थिक तथा सामाजिक रुपान्तरण गर्दै सार्वजनिक शिक्षाको सुदृढीकरणमा टेवा पुर्याउने आशा राखिएको अभियानले जनाएको छ ।
प्रतिक्रिया