Edukhabar
आइतबार, ०७ पुस २०८१
खबर/फिचर

दुई हजार टोल पढाइ समूह

सोमबार, १६ फागुन २०७३

काठमाडौं - यसै शैक्षिक सत्रदेखि ६ जिल्लामा सुरु प्रारम्भिक पठन सिप सिकाइ कार्यक्रम (अर्ली ग्रेड रिडिङ प्रोग्राम) अन्तर्गत हालसम्म २ हजारको संख्यामा टोल पढाइ समूह गठन गरिएको छ । घर र समुदायमा पढ्ने वातावरण सिर्जना गर्न यस्ता समूह गठन गरिएको जनाईएको छ ।

प्राथमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको पठन सिपमा उल्लेख्य सुधार गर्ने उद्देश्यका साथ शैक्षिक सत्र २०७३ देखि सरकारी विद्यालयहरुमा सुरु गरिएको ‘अर्ली ग्रेड रिडिङ’ कार्यक्रमअन्तर्गत भक्तपुर, कास्की, कञ्चनपुर, बाँके, मनाङ र सप्तरीमा सो समूह गठन गरिएको शिक्षा विभागले जनाएको छ ।

विभागका अनुसार बाँकेका सामुदायिक विद्यालय र मदरसाका बालबालिकाको पढाइ सुधार्नका लागि ६ सय ७८ वटा टोल पढाइ समूह गठन गरिएका छन् । ‘समूहमार्फत् अभिभावकहरुलाई बालबालिकाको पढाइ सीप सुधारमा सक्रिय भूमिका निर्वाह गराउन जिल्ला जिल्लामा त्यस्ता समूह गठन गरिएका हुन् ।’ विभागका उपनिर्देशक विष्णु अधिकारीले भने । उनले बाँकेका ३ सय ५९ वटा बिद्यालय र मदरसामा बाँके युनेस्को क्लबमार्फत् प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तरगत टोल पढाइ समूह बनाएपछि स्थानीयस्तरमा पढाइ सामग्री निर्माणको कार्य अघि बढेको जनाए । जिल्ला शिक्षा कार्यालयका अनुसार प्रारम्भिक कक्षा पढाइ सीप कार्यक्रमले बाँकेका ६२ हजार बालबालिकाको शैक्षिक सिप विकास हुनेछ । टोल पढाइ समूहमा ९ देखि २५ जनासम्म अभिभावक संलग्न हुने गरेका छन् ।

यस्तै सो कार्यक्रम लागू भएको मनाङको १३ गाविसमा ३६ वटा टोल पठन समूह गठन भएको विभागले जनाएको छ । कास्कीका ३ सय ९७ सामुदायिक विद्यालयमा ६ सय ८६ टोल पढाइ समूह गठन भएका छन् । समूहले विद्यार्थीलाई स्कुल बाहेकको समयमा पढाउनका लागि समन्वय गरिरहेको विभागको भनाइ छ । सो कार्यक्रमका राष्ट्रिय फोकल पर्सन समेत रहेका विभागका उपनिर्देशक अधिकारीले आफ्नो छोराछोरीको पढाइप्रति अभिभावकको अपनत्व होस् भन्ने उद्देश्यले समुदाय परिचालन रणनीति बनाएको बताए । ‘सामाजिक तथा समुदाय परिचालनले अभिभावकलाई विद्यालयसम्म पुगेर विद्यार्थीको बारेमा सोध्ने बानीको विकास गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको छ ।’ उनले बताए ।

सामाजिक तथा सामुदायिक परिचालन रणनीतिअन्तर्गत टोल पढाइ समूहको गठन, दौंतरी शिक्षा, पढाइ शिविर, पढाइ दिवस मनाउने, स्रोत केन्द्र तहमा सर्वोत्कृष्ट विद्यालय पुरस्कार, पढाइ प्रतियोगिता, विद्यालयस्तरमा अभिभावक सम्मानलगायत कार्य रहेको विभागले जनाएको छ ।

त्यस्तै कञ्चनपुरका २ सय ६१ सामुदायिक विद्यालयमा प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सञ्चालन गरिएको छ । जिल्ला शिक्षा कार्यालय कञ्चनपुरका अनुसार त्यहाँ ५ सय २२ वटा टोल पढाइ समूह गठन भएका छन् । बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच अभिवृद्धि गर्नका लागि घरमा पढ्ने वातावरण सिर्जना गर्ने र अभिभावकलाई यसका लागि उत्तरदायी बनाउने उद्देश्यका समूह गठन गरी स्रोत केन्द्र, विद्यालय र गाउँघरस्तरमा पढ्ने वातावरणका लागि टोल पढाइ समूह गठन र परिचालन गरिएको छ ।

त्यस्तै भक्तपुरका १ सय २९ विद्यालयमा २ सय ५० वटा टोल पठन समूह गठन गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

फोटो : गुगल

प्रतिक्रिया